नवौँपटक विस्तार गर्दा पनि मन्त्रिपरिषद्ले पाएन पूर्णता

बिहिबार, २१ बैशाख, २०८०
डिजिटल संस्करण

कांग्रेसको भागका थप तीन मन्त्री नियुक्त गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवौँपटक मन्त्रिपिरषद् विस्तार गरेका छन् । तर, मन्त्रिपरिषद्ले भने अझै पूर्णता पाएको छैन । जनमत पार्टी सरकारबाट बाहिरिएपछि खाली रहेको खानेपानी मन्त्रालय र जसपाको भागमा परेको वन मन्त्रालयमा पार्टीले मन्त्रीको नाम नपठाउँदा दुवै मन्त्रालय प्रधानमन्त्री प्रचण्डकै जिम्मामा छन् । 

कांग्रेस उपसभापति धनराज गुरुङ कानुन, मोहनबहादुर बस्नेत स्वास्थ्य र डिगबहादुर लिम्बू खेलकुदमन्त्री नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरूको शपथ बिहीबार अपराह्न ३ बजे हुने राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताए । 

कांग्रेस मुख्य सचेतक रमेश लेखकले छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिन गठबन्धनमा छलफल भएको बताए । ‘कांग्रेसबाट टुंगो लागिसक्यो । बाँकी मन्त्रालयमा पनि सम्बन्धित दलले छिट्टै नाम पठाउने र मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनमा छलफल भएको छ । सरकारले छिट्टै पूर्णता पाउनेछ,’ बालुवाटारमा भएको गठबन्धन बैठकपछि लेखकले भने । 

जसपाले भने आफूले पाउने मन्त्रालयको विषय टुंगो नलागेको र छलफलकै क्रममा रहेको जनाएको छ । प्रवक्ता मनीष सुमनले मन्त्रालय टुंगिएपछि मन्त्री पनि टुंगिने बताए । ‘प्रधानमन्त्रीले नाम माग्नुभएको छैन । उपनिर्वाचनमा व्यस्त हुँदा मन्त्रालयको विषय पूर्ण रूपमा टुंगो लागेको छैन, बिहीबारसम्म टुंगो लाग्ने सम्भावना छ,’ प्रवक्ता सुमनले भने । यसअघि सरकार विस्तारका क्रममा रोजेको मन्त्रालय नपाएपछि असन्तुष्टि जनाउँदै खानेपानी मन्त्रालयबाट राजीनामा दिएको जनमत पार्टीसँग पनि छलफल भइरहेको नेताहरू बताउँछन् । 

कांग्रेसले आठ मन्त्रालय पाउँदा शेखर–गगन समूहका दुई मात्रै मन्त्री 
कांग्रेसले आठ मन्त्रालय पाउँदा नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहबाट दुईजना मात्रै मन्त्री बनेका छन् । बुधबार मन्त्री बनाइएका उपसभापति गुरुङ र लिम्बू शेखर–गगन समूहका हुन् । 

यो समूहले तीन मन्त्रालयमा अडान राख्दै आएको थियो । कोइरालाले सभापति शेरबहादुर देउवासँग तीन मन्त्री र एक राज्यमन्त्री पाउने गरी नाम पठाउन सहमति गरेका थिए । यस्तो सहमतिबारे इतर समूहमा कोइराला र थापाले ब्रिफिङ नै गरेका थिए । तर, अन्त्यमा इतर समूह पछाडि हटेर दुई मन्त्रीमा सहमति बनेपछि मन्त्रिपरिषद् विस्तार भएको हो । 

उपनिर्वाचनको मुखमा कांग्रेसभित्र विवाद हुने देखेपछि सभापति देउवाले उपनिर्वाचनसम्म मन्त्रिपरिषद् विस्तार थाती राखेका थिए । स्रोतका अनुसार सहमतिअनुसार कोइरालाले केही दिनअघि नै आफ्नो समूहबाट सरकारमा सहभागी हुने चारजनाको नाम पठाएका थिए । तर, केही दिन ढिलो गरी देउवाले संस्थापन पक्षका मोहनबहादुर बस्नेतसहित इतरका दुई नाम मात्रै प्रधानमन्त्रीलाई बुझाएका थिए । 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले युवा नेता प्रदीप पौडेललाई मन्त्री बनाउन जोडबल गरेका थिए । तर, पौडेलकोे नाम मन्त्रीको लिस्टमा अटाउन सकेन । साथै, राष्ट्रपति रामचन्द्र पौडेलनिकट सुरेन्द्र आचार्यको नाम पनि चर्चामा थियो । तर, अन्त्यमा उनको नाम पनि मन्त्री बन्ने सूचीमा परेन । १० पुसमा प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले १० पुस, ३ माघ, १४ माघ, २३ माघ, १४ फागुन, १६ फागुन, १७ चैत र ३ वैशाखमा गरी आठपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । कांग्रेसले १७ चैतमा चार र ३ वैशाखमा एक मन्त्रीलाई सरकारमा सहभागी गराएको थियो । 

रास्वपा महामन्त्री ढकाल भन्छन्– सरकारमा रास्वपाको सहभागिता सम्भावना टरेको छैन
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जाने या समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने भन्नेबारे शुक्रबार निर्णय गर्दै छ । रास्वपाका महामन्त्री मुकुल ढकाल बुधबारको मन्त्रिपरिषद् विस्तारले रास्वपाको सहभागिताको सम्भावना नटर्ने बताउँछन् । ‘प्रधानमन्त्रीज्यू हामीलाई रोजेको मन्त्रालय दिन तयार हुनुहुन्छ,’ उनले भने, ‘गठबन्धनमा कुरा मिलाउने जिम्मा मेरो हो भन्नुभएको छ । शुक्रबार हामीले सरकारमा जाने निर्णय गरेको अवस्थामा भागबन्डामा समस्या हुँदैन । यसमा हामी प्रस्ट छौँ । जाने–नजाने भन्ने नै हाम्रा लागि अहिले मुख्य विषय हो ।’ 

‘पर्ख र हेर’को अवस्थामा जनमत 
प्रधानमन्त्रीले आश्वासन दिएको मन्त्रालय नदिएपछि खानेपानी मन्त्रालयबाट राजीनामा दिएर सरकारबाहिर बसेको जनमत पार्टी अहिले ‘पर्ख र हेर’को अवस्थामा छ । मधेस प्रदेश सरकारमा आफ्नो सहभागिता रहेका कारण केन्द्र सरकारलाई दिएको समर्थन उसले कायमै राखेको छ । जनमतको आगामी कदम प्रधानमन्त्रीको व्यवहारमा निर्भर हुने जनमतका नेता बिपी शाहले बताए ।

सुझावित समाचार