साढे १५ लाखमा आँखाको समस्या

बिहिबार, २१ बैशाख, २०८०
डिजिटल संस्करण

८० प्रतिशत प्रभावितमा समयमै उपचार गर्दा निको हुन सक्ने मोतियाविन्दु, डायबेटिक रेटिनोप्याथी, ग्लुकोमाजस्ता समस्या

नेपालमा १५ लाख ६५ हजार नौ सय सातजना मानिस कुनै न कुनै आँखाको समस्याबाट प्रभावित छन् । ‘रेपिड असिस्मेन्ट अफ अभोइडेबल ब्लाइन्डनेस (आरएएबी) २०२२’ को तथ्यांकअनुसार ४० हजार दुई सय ३० मा अन्धोपन, ६३ हजार नौ सय ८५ मा दृष्टिमा गम्भीर समस्या, दुई लाख ८५ हजार आठ सय २५ को दृष्टिमा मध्यम खालको समस्या, तीन लाख ९३ हजार एक सय पाँचजनाको दृष्टिमा माइल्ड समस्या र सात लाख ८२ हजार सात सय ६२ जनामा अन्य विभिन्न किसिमको समस्या छ । 

डा. सविना श्रेष्ठ काठमाडौं मेडिकल कलेज केही समस्या आँखा 
नियमित सफा गर्ने र तातोले सेक्नेजस्ता विधिबाट उपचार गर्न सकिन्छ । यसबाहेक सर्जरीको माध्यमबाट पनि अधिकांशमा समस्या सजिलै समाधान हुन्छ । तर, हामीकहाँ यसबारे पर्याप्त ज्ञान नहुनु, बच्चाहरूमा समयमा रोग पत्ता नलाग्नु, स्क्रिनको बढ्दो प्रयोग आदि दृष्टिदोषका कारक बनिरहेका छन् ।

अन्धोपन, जलविन्दु, मोतियाविन्दु, डायबेटिक रेटिनोप्याथीलगायत समस्याको समयमै उपचार नपाउँदा ८० प्रतिशत प्रभावित दृष्टिसम्बन्धी समस्या भोगिरहेका छन् । समयमै चस्मा नलगाउँदा र सामान्य सर्जरीको पहुँचमा नहुँदा प्रभावितको ठूलो संख्याले आँखासम्बन्धी समस्या भोगिरहेको हो । तर, सर्जरी र चस्माको माध्यमबाट अधिकांशमा दृष्टिको समस्या निको पार्न सकिने अध्ययनले देखाएको छ । 

हाल उपचारको माध्यमबाट निको पार्न सकिनेमध्ये मोतियाविन्दु, डायबेटिक रेटिनोप्याथी, ग्लुकोमालगायत समस्याबाट जनसंख्याको ठूलो समूह प्रभावित भइरहेको छ । आरएएबीको तथ्यांकअनुसार हाल सबैभन्दा बढी मोतियाविन्दुको समस्याबाट प्रभावित छन् । मोतियाविन्दुको शल्यक्रियाको दर तुलनात्मक रूपमा निकै बढी भए पनि प्रभावितको संख्याका आधारमा दृष्टिको समस्या अझैसम्म मोतियाविन्दु मुख्य कारण बन्दै गएको छ । 

प्रभावितको ६५.३ प्रतिशतमा मोतियाविन्दुको समस्या देखिएको छ । यसबाहेक कर्नियामा समस्याबाट ६.१ प्रतिशत, ग्लुकोमाबाट ५.८ प्रतिशत, आँखाको पछाडिको भागका देखिने विभिन्न रोगबाट ९.२ प्रतिशत प्रभावित भइरहेका छन् । आँखाको पछाडिको भागका देखिने समस्या अर्थात् रेटिना, कोरोइड र अप्टिक नर्भलाई असर गर्ने रेटिनोप्याथी, अप्टिक न्युरिटिस, म्याकुलर डिजेनेरेसन, इन्ट्राभिट्रेस हेमोरेज र रेटिनल डिटेचमेन्ट पनि धेरै मानिस प्रभावित बनेका छन् ।

आँखाको ग्लोबमा देखिने समस्याबाट ३.३ प्रतिशत, उमेर बढ्दै जाँदा दृष्टिमा आउने विभिन्न समस्याबाट ५.३ प्रतिशत, मधुमेहका कारण हुने डायबेटिक रेटिनोप्याथीबाट ०.८ प्रतिशत, आँखामा फुलो पर्ने समस्याबाट १.८ प्रतिशत, कर्नियामा हुने सुजनका कारण ०.३ प्रतिशत, मोतियाविन्दुको शल्यक्रियापछि हुन सक्ने जोखिमबाट १.८ प्रतिशत र रेफरेक्टिभ इरर अर्थात् आँखाले प्रकाशलाई सही तरिकाले रेफरेक्ट नसक्दा धमिलो देखिने समस्याबाट ०.६ प्रतिशत प्रभावित रहेको पाइएको छ ।

जसमध्ये ९० प्रतिशत प्रभावित ग्रामीण भेगमा बसोवास गर्नेमा रहेकाले समयमा उपचारसम्मको पहुँच न्यून पाइएको इन्टरनेसनल एजेन्सी फर प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपिबी)का दक्षिण एसिया क्षेत्रीय संयोजक युद्धध्वज सापकोटाले जानकारी दिए । उनका अनुसार आँखाको सामान्य समस्या देखिँदा उपचार गर्न सकेमा पूर्णतया निको हुने रोगहरूको समेत उपचार नहुँदा र कतिपय अवस्थामा चिकित्सकको सल्लहबमोजिम चस्मा लगाएर नियन्त्रणमा राख्न सकिने दृष्टिसम्बन्धी समस्याबाट केही मानिस दृष्टि गुमाउन बाध्य भइरहेका छन् ।

युद्धध्वज सापकोटा, दक्षिण एसिया क्षेत्रीय संयोजक, इन्टरनेसनल एजेन्सी फर प्रिभेन्सन अफ ब्लाइन्डनेस
नेपालमा मात्रै नभई उपचार अभावमा दृष्टिको समस्यासहित बाँचिरहेकाको संख्या विश्वभरि नै उच्च देखिन्छ । तथ्यांक हेर्दा दृष्टिमा समस्या भोगिरहेका २.२ बिलियन जनसंख्यामध्ये झन्डै एक बिलियनमा उपचारको माध्यमबाट समस्या समाधान गर्न सकिन्छ ।

‘नेपालमा मात्रै नभई उपचार अभावमा दृष्टिको समस्यासहित बाँचिरहेकाको संख्या विश्वभरि नै उच्च देखिन्छ । तथ्यांक हेर्दा दृष्टिमा समस्या भोगिरहेका २.२ बिलियन जनसंख्यामध्ये झन्डै एक बिलियनमा उपचारको माध्यमबाट समस्या समाधान गर्न सकिन्छ,’ सापकोटाले भने ।

विभिन्न कारणले हुने अन्धोपन र धमिलो दृष्टि हाल मुख्य समस्याका रूपमा देखिएको चिकित्सकहरूको भनाइ छ । मोतियाविन्दुको उपचार बर्सेनि बढिरहे पनि अझै पर्याप्त नभएको उनीहरू बताउँछन् । आँखामा देखिने समस्याबारे ज्ञान नहुनु र विशेष गरी बालबालिकाका आँखामा हुने समस्या समयमा पत्ता नलाग्नुले समेत समस्या भइरहेको काठमाडौं मेडिकल कलेजकी प्राध्यापक डा. सविना श्रेष्ठले बताइन् । ‘केही समस्या आँखा नियमित सफा गर्ने र तातोले सेक्नेजस्ता विधिबाट उपचार गर्न सकिन्छ । यसबाहेक सर्जरीको माध्यमबाट पनि अधिकांशमा समस्या सजिलै समाधान हुन्छ । तर, हामीकहाँ यसबारे पर्याप्त ज्ञान नहुनु, बच्चाहरूमा समयमा रोग पत्ता नलाग्नु, स्क्रिनको बढ्दो प्रयोग आदि दृष्टिदोषका कारक बनिरहेका छन्,’ उनले भनिन् ।

तर, रेफरेक्टिभ इरर, मोतियाविन्दु, जलविन्दुलगायत समस्याको उपचारमा भने बिस्तारै वृद्धि भइरहेको चिकित्सकहरू बताउँछन् । तथ्यांकका अनुसार बढी समस्या निम्त्याइरहेको मोतियाविन्दुको उपचारको पहुँचमा ८२.७ प्रतिशत मानिस छन् । अस्पतालहरूले एनएचआरसीको सहयोगमा गरेको अध्ययनले देशभर मोतियाविन्दुबाट प्रभावितमध्ये ८०.९ प्रतिशत महिला र ८४.७ प्रतिशत पुरुषमा सर्जरीको माध्यमबाट उपचारको पहुँचमा छन् । जसमध्ये ७८.२ प्रतिशतमा आँखाको दृष्टि पूर्णतया सामान्य अवस्थामा फर्किएको पाइएको छ । 

दुर्गम क्षेत्रका अधिकांश स्थानमा आँखा उपचार सेवाको पहुँच पर्याप्त नहुनु तथा विशिष्टीकृत आँखा स्वास्थ्य उपचार केन्द्रित उपचार गर्ने अस्पतालहरूको मात्र विस्तार हुनु र आवश्यकताअनुसार उपलब्ध आँखा स्वास्थ्य जनशक्तिको समतामूलक वितरण हुन नसक्नुलगायत कारणले उपचारमा पहुँच कम भएको भन्दै स्वास्थ्य मन्त्रालयले राष्ट्रिय आँखा स्वास्थ्य रणनीति– २०६९–८६ ल्याएको छ । सेवाको गुणस्तर मापन र नियमन गर्न चुनौतीपूर्ण रहेको र आँखा स्वास्थ्य सेवामा सार्वजनिक, निजी साझेदारीको अवधारणालाई प्रभावकारी कार्यान्वयनका लागि उपयुक्त संयन्त्रको विकास गर्न नसक्दा समस्या भइरहेकाले रणनीति ल्याइएको मन्त्रालयअन्तर्गत नीति तथा अनुगमन महाशाखाका वरिष्ठ अधिकृत रवि मिश्रले जानकारी दिए । उनले न्यूनदृष्टि एवं दृष्टिविहीनहरूलाई समुदायमा आधारित दृष्टि पुनस्र्थापना सेवामा पहुँच पुर्‍याउने र संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यमार्फत आँखा स्वास्थ्य सेवालाई वडास्तरसम्म विस्तार गर्ने पहल भइरहेको बताए ।

See More On

सुझावित समाचार