नेपालको प्रतिव्यक्ति आय अमेरिकी डलर एक हजार तीन सय ९९ अर्थात् रु. एक लाख ८२ हजार ६ सय ८३ बराबर पुगेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धी विवरणअनुसार प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलर एक हजार तीन सय ९९ र प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन अमेरिकी डलर एक हजार चार सय १० बराबर देखिएको हो।
यस वर्ष नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर उपभोक्ता मूल्यमा १.८५ प्रतिशत र आधारभूत मूल्यमा २.१३ प्रतिशतबराबर रहने अनुमान गरिएको छ।
तथ्यांक कार्यालयका अनुसार चालू आवमा नेपालको जिडिपीको आकार आधारभूत मूल्यमा रु. ४६ खर्ब ९६ अर्ब ४९ करोड र उपभोक्ता मूल्यमा रु. ५३ खर्ब ८१ अर्ब ३४ करोडबराबर पुग्ने अनुमान गरिएको छ।
जिडिपी अनुपातमा नेपालको कुल स्थिर पुँजी निर्माण (ग्रस फिक्स्ड क्यापिटल फर्मेसन) २५.२१ प्रतिशत अर्थात् रु. १३ खर्ब ५६ अर्ब ४६ करोडबराबर पुग्ने प्रक्षेपण गरिएको छ।
त्यस्तै, अन्तिम उपभोग खर्च (फाइनल कन्जम्सन एक्सेन्डिचर) जिडिपी अनुपातको ९३.५९ प्रतिशतबराबर रहने अनुमान गरिएको छ। त्यो रु. ५० खर्ब ३६ अर्ब १५ करोडबराबर हो।
जिडिपी अनुपातमा नेपालको वस्तु तथा सेवा निर्यातको हिस्सा ७.१५ प्रतिशतबराबर छ। यस वर्ष रु. तीन खर्ब ८५ अर्ब ११ करोडबराबरको वस्तु तथा सेवा निर्यात गरिने अनुमान गरिएको छ।
जिडिपी अनुपातमा वस्तु तथा सेवाको आयात भने ३६ दशमलव पाँच प्रतिशतबराबर छ। नेपालले यस वर्ष रु. १९ खर्ब ६४ अर्ब ३३ करोडबराबर आयात गर्ने ठानिएको छ।
त्यसैगरी चालू मूल्यमा राष्ट्रिय बचत (ग्रस नेसनल सेभिङ) कूुल गार्हस्थ्य उत्पादनको ३१.६६ प्रतिशतबराबर छ। त्यस्तै, जिडिपीमा विप्रेषणको अनुपात २२.८९ प्रतिशतबराबर हुने ठानिएको छ।
चालू आवको जिडिपीमा सबैभन्दा बढी हिस्सा कृषि क्षेत्रको रहने अनुमान गरिएको छ। गत आवमा कृषि क्षेत्रले जिडिपीमा २४.६७ प्रतिशतबराबर हिस्सा ओगटेकामा यस वर्ष त्यो घटेर २४.१२ प्रतिशतबराबर हुने प्रक्षेपण गरिएको छ।
तथ्यांक कार्यालयले चालू आवको पछिल्लो नौ महिना अवधिको तथ्यांक विश्लेषण गरेर वार्षिक अनुमान सार्वजनिक गरेको हो। रासस