कोभिड महमारीले थला परेको पर्यटन क्षेत्र सन् २०२३ को वसन्तकालीन सिजनमा करिब पुरानै अवस्थामा फर्किएको छ । महामारीको तीन वर्षपछि पहिलोपटक मार्च र अप्रिलमा करिब एक लाख विदेशी पर्यटक भित्रिएका छन् । अप्रिलमा ९८ हजार सात सय ७३ विदेशी पर्यटक जहाज चढेर नेपाल भ्रमणमा आएको पर्यटन बोर्डले जनाएको छ ।
अघिल्लो महिना मार्चमा ९९ हजार चार सय २६ पर्यटक भित्रिएका थिए । अप्रिल २०१९ को तुलनामा पर्यटक आगमन ९०.२८ प्रतिशतले रिकभरी भएको पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले बताए । उक्त महिना एक लाख नौ हजार तीन सय ३९ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
पर्यटन विभागका अनुसार अघिल्लो वर्ष अप्रिलमा ६१ हजार पाँच सय ८९ पर्यटक नेपाल भ्रमणमा आएका थिए । यो वर्षको अप्रिलमा पर्यटक आगमन ६० प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । यस वर्षको वसन्तकालीन सिजनमा ट्रेकिङ तथा माउन्टेनियरिङमा आउने पर्यटक बढेका छन् । साथै, चीन सरकारले आफ्ना नागरिकका लागि नेपाल भ्रमण खुला गरेपछि पछिल्ला महिनामा चिनियाँ पर्यटकको उपस्थिति पनि क्रमशः बढ्न थालेको छ ।
सन् २०२३ को पहिलो चार महिनामै जहाज चढेर तीन लाख २६ हजार पाँच सय २८ पर्यटक नेपाल आएका छन् । जब कि, सन् २०२२ मा वर्षभरि ६ लाख १४ हजार पर्यटक जहाज चढेर नेपाल भित्रिएको तथ्यांक छ । अर्थात्, यो वर्ष पर्यटकको संख्या १० लाख पुग्ने अनुमान लगाउन सकिन्छ । नेपालमा २०१९ मा हालसम्मकै धेरै करिब १२ लाख पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
‘वर्षको सुरुवातदेखि नै पर्यटक आगमन बढ्दो ट्रेन्डमा छ, चिनियाँ पर्यटक पनि आउन थालेका छन्, करिब पुरानै अवस्थामा फर्किएका छौँ,’ बोर्डका निर्देशक लामिछानेले भने, ‘कोभिडपछि मार्चमा रिकभरी रेट ७८ प्रतिशत रहेकोमा अप्रिलमा ९० प्रतिशत नाघेको छ ।’
धेरै पर्यटक आएका प्रमुख १० देश
अप्रिलमा पनि सबैभन्दा धेरै पर्यटक भारतबाट नै आएका छन् । एक महिनाको अवधिमा ३१ हजार चार सय ३७ भारतीय नेपाल भ्रमणमा आएको पर्यटन बोर्डले जनाएको छ । यस सिजनमा विभिन्न हिमाल आरोहणका लागि मात्रै ९० भारतीय आरोहीले पर्यटन बोर्डबाट अनुमति लिएका छन् ।
अमेरिकाबाट आठ हजार चार सय १३ पर्यटक नेपाल भ्रमणमा आए । यो सिजनमा विभिन्न हिमाल चढ्न अमेरिकाबाट एक सय ६३ आरोही नेपालमा आएका छन् । ८७ अमेरिकीले सगरमाथा आरोहण गर्दै छन् । चीनबाट अप्रिलमा चार हजार सात सय ७० पर्यटक भित्रिएर चौथो नम्बरमा रहेको छ । ‘फेब्रुअरीमा १७–१८ चिनियाँ आएका थिए, मार्चमा २६ सय ३५ चिनियाँ आए, अप्रिलमा ८० प्रतिशतले बढेर चिनियाँको संख्या साढे चार हजार नाघेको छ,’ उनले भने, ‘मार्चमा सबैभन्दा बढी पर्यटक भित्रिनेमा नवौँ नम्बरमा रहेको चीन अप्रिलमा चौथो नम्बरमा उक्लिनु सुखद पक्ष हो ।’ यो सिजनमा हिमाल आरोहण गर्न एक सय १३ चिनियाँ आरोही नेपाल आएका छन् । सगरमाथा चढ्न ९६ चिनियाँले अनुमति लिएका छन्, जुन सबैभन्दा धेरै हो ।
अप्रिलमा अस्ट्रेलियाबाट तीन हजार आठ सय २८, जर्मनीबाट तीन हजार दुई सय ४६, फ्रान्सबाट तीन हजार दुई सय ११, रसियाबाट दुई हजार ६ सय ६७, बंगलादेशबाट दुई हजार दुई सय १७, थाइल्यान्डबाट दुई हजार एक सय दुई पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डले जनाएको छ । हिमाल आरोहण र ट्रेकिङ जाने पर्यटकले काठमाडौंदेखि हिमाली भेगसम्मका ट्रेकिङ रुट र होटेल भरिभराउ छन् । पर्यटन बोर्डले पनि विभिन्न देशमा पुगेर एग्रेसिभ मार्केटिङ गरिरहेको निर्देशक लामिछानेको भनाइ छ ।
अप्रिलमा सार्क कन्ट्रीबाट भारत, बंगलादेश, पाकिस्तान, भुटान र श्रीलंकाबाट ३५ हजार चार सय ४३ पर्यटक आएका छन्, जुन कुल पर्यटक संख्याको करिब ३६ प्रतिशत हो । अन्य एसियाली देशबाट १४ हजार ६ सय ५५, युरोपेली देशबाट २४ हजार तीन सय ९३, आसियानाबाट चार हजार दुई सय २२ र अमेरिकन देशबाट १० हजार ८५ पर्यटक आएको तथ्यांक छ ।
हिमाल आरोही उत्साहजनक
यस वर्षको वसन्तकालीन सिजनमा हिमाली पर्यटन पूरै लयमा फर्किएको छ । सगरमाथा आरोहणको ७० वर्षे इतिहासमा अहिलेसम्मकै उच्च ६ सय ६६ आरोहीले सगरमाथा चढ्न पर्यटन विभागबाट अनुमति पाएका छन् । सगरमाथासहित दुई दर्जन हिमाल आरोहणका लागि ८० देशका एक हजार ७९ आरोहीले अनुमति पाएको विभागले जनाएको छ ।