१३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेशले उपाधिमाथि ह्याट्रिक गरेको छ । लुम्बिनीले २० स्वर्ण, आठ रजत र पाँच कांस्य पदक जित्दै आइतबार उपाधि जितेको हो । लुम्बिनीले ११औँ मा २० स्वर्ण तथा १२औँ मा १६ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा आयोजित प्रतियोगितामा बागमती प्रदेश १० स्वर्ण, १६ रजत र १३ कांस्यका साथ उपविजेता बन्यो । तेस्रो स्थानमा रहेको कोसीले सात स्वर्ण, पाँच रजत र ११ कांस्य हात पार्यो । सुदूरपश्चिमले ६ स्वर्ण, ११ रजत र १८ कांस्य जित्यो ।
कर्णाली चार स्वर्ण, तीन रजत र १० कांस्यसहित पाँचौँ तथा गण्डकी तीन स्वर्ण, ६ रजत र पाँच कांस्यसहित छैटौँ स्थानमा रहे । प्रतियोगितामा स्वर्णविहीन मधेस सातौँ भयो । मधेसले दुई रजत र ६ कांस्य हात पार्यो । दशरथ रंगशालामा तीन दिनसम्म चलेको प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो । ६ खेलमा सातै प्रदेशका ६ सय ५८ खेलाडी सहभागी थिए ।
एथलेटिक्स : सुदूरपश्चिमले एथलेटिक्सको छात्र चार गुणा ४ सय मिटर रिलेमा आइतबार जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ । दशरथ रंगशालामा चन्द्र बोहरा, अमित आउजी, कविर कामी र सुक्विर पोखरेल सम्मिलित सुदूरपश्चिम टोलीले तीन मिनेट ३१ सेकेन्डमा दूरी तय गर्दै नयाँ जुनियर राष्ट्रिय कीर्तिमान रच्यो । लुम्बिनीका सिमन पाण्डे, लेखनाथ महरा, वेद ओली र श्रवण केवतले ०७६ सालमा राखेको तीन मिनेट ३२.३ सेकेन्डको रेकर्डलाई सुदूरपश्चिमले भंग गरेको हो ।
कराँते : कराँते विधामा कोसीले सर्वाधिक चार स्वर्ण जितेको छ । कोसीले आठमध्ये चार विधामा स्वर्ण जितेको हो । कोसीले थप एक रजत र दुई कांस्य पनि जित्यो । बागमतीले दुई स्वर्ण हात पार्यो । गण्डकी र लुम्बिनीले समान एक स्वर्ण हात पारे । सातदोबाटोस्थित कराँते हलमा खेलको अन्तिम दिन छात्र ४२ केजीमुनि लुम्बिनीका प्रकाश पुनमगरले कोसीका आदेश चहारलाई हराए ।
तेक्वान्दो : तेक्वान्दोमा लुम्बिनीले सर्वाधिक दुई स्वर्ण, दुई रजत र एक कांस्य पदक जित्यो । तेक्वान्दोमा पनि ६ स्पर्धामा खेल भएको थियो । बागमती दुई स्वर्ण, एक रजत र दुई कांस्यसाथ दोस्रो स्थानमा रह्यो । तेक्वान्दोमा तेस्रो भएको सुदूरपश्चिमले एक स्वर्ण, तीन रजत र तीन कांस्य पदक हात पार्यो । प्रतियोगिताको छात्र ४५ केजीमुनि बागमतीका कैलाश थापा पहिलो भए ।
उसु : उसुको छात्रतर्फ छाङ छ्वानमा बागमतीका रवीन्द्र आलेमगरले स्वर्ण जिते । उनले उपाधि भिडन्तमा सुदूरपश्चिमका ओमप्रकाश कोलीलाई निराश पारे । यस विधामा कर्णालीका चन्द्रबहादुर रोकायले कांस्य जिते । थाउलोका ६ मध्ये तीन स्वर्ण बागमतीले जित्यो । बागमतीले थप तीन रजत र एक कांस्य जित्यो । सुदूरपश्चिमले दुई स्वर्ण, तीन रजत र दुई कांस्य हात पार्यो । कोसीले समान एक स्वर्ण र कांस्य प्राप्त गर्यो ।