एसिसी प्रिमियर कप : निर्णायक खेलमा युएईसँग भिड्दै नेपाल

सोमबार, १८ बैशाख, २०८०
डिजिटल संस्करण

नेपाली राष्ट्रिय क्रिकेट टोली र संयुक्त अरब इमिरेट्स (युएई)बीच एसिसी प्रिमियर कपको उपाधि भिडन्तमा सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतिस्पर्धा हुँदै छ । त्रिवि मैदानबाट निस्कने विजेताले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा स्थान बनाउनेछ ।

नेपाल र युएईमध्ये एक विजेताले एसिया कपको समूह ‘ए’मा भारत र पाकिस्तानसँगै प्रतिस्पर्धा गर्ने अवसर मिल्नेछ । प्रतियोगिताको सेमिफाइनलमा नेपालले कुवेतसँग ‘नो रिजल्ट’का आधारमा फाइनल स्थान पक्का गरेको थियो । युएईले डिएलएस नियमअनुसार ओमानमाथि दुई रनको जित निकाली नेपालसँगको उपाधि भिडन्त पक्का पारेको थियो । 

नेपालका कप्तान रोहितकुमार पौडेलले एसिया कप खेल्ने अवसर खेर जान नदिने बताएका छन् । ‘हामी पहिलोपटक भारत र पाकिस्तानसँग खेल्ने निकै नजिक छौँ, यस अवसर कसैले पनि चुकाउनुहुन्न,’ रोहितले भने, ‘फाइनलमा दबाबरहित रूपमा प्रतिस्पर्धा गर्नुपर्छ ।’ दुई महिनाअघि विश्वकप लिग–२ को लिगकै अन्तिम खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गरेको थियो । त्यसवेला नेपालमाथि दबाब थियो । लिगको तेस्रो स्थानमा रही एकदिवसीय विश्वकपको ग्लोबल छनोट पुग्न नेपालले युएईलाई हराउनैपर्ने अवस्था थियो । 

एसिसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युएईबीच आज प्रतिस्पर्धा हुँदै छ, विजेता टोलीले एसिया कपको भारत र पाकिस्तान रहेको समूहमा खेल्ने अवसर पाउने
 

तर, सोमबार नेपाल मात्र नभएर युएईलाई पनि उत्तिकै दबाब छ । विजेता सीधै एसिया कपमा छनोट हुने भएकाले नेपाल र युएईबीच दबाब समान रहेको हो । नेपालका कप्तान पौडेलले दुवै टोली एकै किसिमका प्रतिस्पर्धी भएको बताउँछन् । ‘नेपाल र युएई उस्तै प्रतिस्र्पी हुन् । दबाबरहित भएर खेल्न सके हामी जित्नेछौँ,’ पौडेलले भने । 

वर्षाले प्रभावित पार्न सक्ने
लगातारको वर्षाका कारण फाइनल खेल पनि बिथोलिन सक्ने पूर्वानुमान छ । शनिबारदेखि परेको वर्षाले दुई सेमिफाइनल र तेस्रो स्थानका लागि भएको खेल वर्षाले प्रभावित पारेको छ । शनिबार मात्रै नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित हुँदा नो रिजल्ट भयो । यसै दिन मूलपानीमा वर्षाकै कारण युएई भाग्यमानी भयो । त्रिवि मैदानमा आइतबार पनि ‘नो रिजल्ट’ भयो । कुवेतलाई पछि पार्दै ओमानले तेस्रो स्थान प्राप्त गरेको छ । 

उपाधि भिडन्तमा ‘रिजर्भ डे’ छ । यदि फाइनल खेल चलिरहँदा खेल्ने अवस्था आएन भने भोलिपल्टको रिजर्भ डेमा प्रतिस्पर्धा हुनेछ । अघिल्लो दिनको खेल जहाँबाट रोकिएको थियो, त्यही अवस्थाबाट पुनः खेलाइनेछ । मंगलबारसमेत वर्षाका कारण नै खेल र सुपर ओभर हुन नसके नेपाल सीधै एसिया कपमा छनोट हुनेछ । 

खेल तथा सुपर ओभरको वातावरण नबन्दा आइसिसी एकदिवसीय वरीयताअनुसार नेपाल च्याम्पियन बन्नेछ । आइसिसीको एकदिवसीय वरीयतामा नेपाल १४औँ र युएई १९औँ स्थानमा छन् । डिएलएस प्रद्धति लागू गर्न कम्तीमा दोस्रो इनिङ्सको खेल २० ओभर समाप्त हुनुपर्छ । निर्धारित समयसम्म वर्षा रोकिए र खेल बराबरी भएमा सुपर ओभर खेलाइनेछ । 

सुझावित समाचार