करिब साढे दुई महिना भारतमा उपचारपछि कांग्रेस सांसद चन्द्र भण्डारी आइतबार स्वदेश फिर्ता हुने भएका छन् । भण्डारीका स्वकीय सचिव बोधराज कँडेलका अनुसार आइतबार साँझ ५ बजे नेपाल एयरलाइन्समार्फत भण्डारी नेपाल आउन लागेका हुन् ।
कँडेलले शनिबार विज्ञप्तिमार्फत बाँकी उपचार नेपालमै हुने गरी आउने तय भएको जानकारी दिए । ‘उहाँको स्वास्थ्य क्रमिक रूपमा सुधार भइरहेको छ । अबको बाँकी थप स्वास्थ्योपचार नेपालमा नै गरिने भएको छ । दिँउसो २:५५ बजे मुम्बईबाट नेपाल वायुसेवा निगमको मुम्बई–काठमाडौं नियमित उडानबाट नेपाल फर्किंदै हुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ । २ घण्टाको उडान पश्चात भण्डारी साँझ काठमाडौं आउनेछन् ।
४ फागुनमा घरमै ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएका भण्डारीलाई थप उपचारका लागि भारत लगिएको हो । घटनालगत्तै कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा भर्ना गरिएका उनलाई चिकित्सकले स्वेदशमा उपचार सम्भव नहुने बताएका थिए । घाइते आमा ८६ वर्षीया हरिकला भण्डारीको भने कीर्तिपुर अस्पतालमै निधन भएको थियो ।
कीर्तिपुर अस्पतालले भण्डारीको अनुहार, हात र गोडामा गरी ३० प्रतिशत जलन भएको जानकारी गराएको थियो । ५ फागुनमा नेपालमा उपचार सम्भव नभएकाले चिकित्सकको सिफारिसबमोजिम थप उपचारका लागि श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेसनल बन्र्स सेन्टरमा लगिएको थियो ।