विश्व क्रिकेटकै ‘पावरहाउस’ भारत र पाकिस्तानसँग खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको सपना अब एक खेल मात्रै टाढा छ । एसिसी प्रिमियर कप– २०२३ को फाइनलमा स्थान बनाएसँगै नेपाल ऐतिहासिक उपलब्धिनजिक पुगेको हो ।
त्रिवि क्रिकेट मैदानमा सोमबार हुने फाइलनमा युएईलाई पराजित गरे नेपालले एसिया कप खेल्नेछ । एसिसी प्रिमियर कप विजेताले एसिया कपको समूह ‘ए’का भारत र पाकिस्तानविरुद्ध खेल्नेछ । नेपालले हालसम्म एसिया कपमा स्थान बनाएको छैन ।
युएई बलियो प्रतिद्वन्द्वी हो, तर दबाब नलिई खेल्ने नेपाली टोलीको रणनीति हुनेछ । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले फाइनल जित्ने अवसर आएको बताए । उनले युएईविरुद्धको खेलमा दबाब नलिने रणनीति अपनाइने बताए । ‘फाइनल जित्ने अवसर आएको छ । अब, भारत र पाकिस्तानसँग खेल्नु छ । त्यसैले फाइनललाई महत्व दिनुपर्छ,’ उनले भने, ‘दुवै टोलीलाई फाइनल उत्तिकै महत्वपूर्ण छ । दबाबलाई सहज रूपमा लिने टोलीले जित निकाल्न सक्छ । हाम्रो ध्यान दबाब नलिनेमै हुनेछ ।’
फाइनल दबाब नलिई खेल्छौँ : रोहितकुमार पौडेल, कप्तान, नेपाली क्रिकेट टिम
फाइनल जित्ने अवसर आएको छ । अब, भारत र पाकिस्तानसँग खेल्नु छ । त्यसैले फाइनललाई महत्व दिनुपर्छ । दुवै टोलीलाई फाइनल उत्तिकै महत्वपूर्ण छ । दबाबलाई सहज रूपमा लिने टोलीले जित निकाल्न सक्छ । हाम्रो ध्यान दबाब नलिनेमै हुनेछ ।
कुशल भुर्तेलले कुवेतविरुद्धको खेलमा रणनीतिअनुसार सफल भएको र फाइनल दबाब नलिई खेलिने बताए । ‘नेपाली टोली सकारात्मक भावनाअनुसार अगाडि बढिरहेको छ । ओपनिङमा कुवेतविरुद्ध राम्रो गर्न सकेँ । आजको खेलमा रणनीति सफल भयो,’ उनले भने, ‘युएई बलियो प्रतिद्वन्द्वी हो । हामीले फाइनलमा दबाब लिनुहुन्न ।’
‘नो रिजल्ट’सँगै नेपाल फाइनलमा
त्रिवि मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाले प्रभावित पारेको थियो । कुवेतले लक्ष्य पछ्याएको इनिङ्सको ८.३ ओभरपछि भारी वर्षाका कारण खेल असम्भव भएपछि अम्पायरद्वय सिजु साम र विनोद बाबुले ‘नो रिजल्ट’को निर्णय सुनाउँदै नेपाललाई विजयी गराए । यसका लागि समूह चरणको अंकको मूल्यांकन भएको थियो । नेपालले समूह ‘ए’को विजेता र कुवेतले समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएका थिए । समूह विजेता र सर्वाधिक अंक जोडेका आधारमा नेपाल फाइनलमा पुगेको हो ।
यसअघि अम्पायर एसियन क्रिकेट परिषद् (एसिसी)को नियमका आधारमा डिएसएल पद्धति लागू गर्ने तयारीमा थिए । कुवेतले ८.३ ओभर मात्र ब्याटिङ ग¥यो । दोस्रो इनिङ्सको खेल २० ओभर पूरा नहुँदा डिएसएल निमय लागू नभएको हो । साढे ४ बजेसम्म वर्षा रोकिएको भए खेल सुपर ओभरमा जान सक्थ्यो । वर्षा नरोकिएपछि अम्पायरद्वयले ‘नो रिजल्ट’का आधारमा नेपाललाई विजयी घोषणा गरे । समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्ने टोली फाइनल पुगेको हो । समूह ‘ए’मा नेपालले ४ खेलबाट ७ अंक जोड्यो । नेपालले तीन जित र एक खेलमा अनिर्णीत नतिजा निकालेको थियो । कुवेतले समूह बीमा ६ अंक जोडेको थियो । यसअघि खेल ४२ ओभरमा झारिएको थियो ।
करणको उत्कृष्ट बलिङ
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को मान्यता नपाएको खेलमा नेपालका फास्ट बलर करण केसीले उत्कृष्ट प्रदर्शन गरे । कुवेतले दुई सय ८१ रनको लक्ष्य पछ्याएको थियो । करणले ४.३ ओभर बलिङ गर्दै पाँच विकेट लिए । करणले एक मेडन राख्दै १० रन खर्चिए । दुई ओभर बलिङ गरेका सोमपाल कामीले १५ रन खर्चिएर एक विकेट लिए । करणले इनिङ्सको छैटौँ बलमा कुवेतका ओपनर अदनान इद्रिसलाई आउट गरे । वर्षाले खेल रोकिनुअघि कुवेत ८.३ ओभरमा ३७–६ को स्थितिमा थियो ।
कप्तान शतक बनाउन चुके
पहिलो ब्याटिङ गरेको नेपालले ४२ ओभरमा नौ विकेट गुमाएर दुई सय ८१ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ९४ रनको योगदान दिए । रोहितले बायाँहाते ब्याट्सम्यान कुशल मल्लसँग चौथो विकेटका लागि एक सय नौ रनको शतकीय साझेदारी गरे । यी दुईबीचको साझेदारीअघि नेपाल ८०–३ को अवस्थामा थियो ।
इनिङ्सको २३.२ ओभरमा वर्षा भएपछि खेल ४२ ओभरमा झारिएको थियो । रोहितले ९५ बलमा सात चौका र तीन छक्का प्रहार गरे । कुशलले ४४ बलमा चार चौका र चार छक्कासहित ५७ रनको योगदान गरे । उनले इनिङ्सको २७.६ ओभरमा छक्का प्रहार गर्दै अर्धशतक बनाए । ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरे । कुशलले सात चौका र एक छक्कासहित ४३ रन बनाए । आसिफले तीन छक्का र एक चौकासहित ३१ रन बनाए ।
फाइनलमा युएईसँगको प्रतिस्पर्धामा नेपालका सबल पक्ष के छन् ?

हेड टु हेडमा बलियो नेपाल : पछिल्ला पाँच खेलमा नेपाल बलियो देखिन्छ । नेपालले पाँचमध्ये चार एकदिवसीय खेलमा युएईलाई हराएको छ । दुई महिनाभित्र नेपाल र युएईबीच चारवटा एकदिवसीय खेल भइसकेका छन् । १६ मार्चमा कीर्तिपुरमा नेपालले आइसिसी विश्वकप लिग २ मा डिएसएल पद्धतिमा युएईलाई ९ रनले हराएको थियो । १४ मार्चमा नेपाल एक सय ७७ रनको विशाल अन्तरले विजयी भयो । ६ मार्चमै नेपालले युएईलाई ४२ रनले हरायो । आइसिसी विश्वकप लिग २ मा युएईले नेपालमाथि २ मार्चमा ६८ रनको जित निकाल्यो । १८ नोभेम्बर २०२२ को भेटमा नेपाल ६ विकेटले विजयी रह्यो ।
खेलाडीको आत्मविश्वास : भारतीय नागरिक मोन्टी देसाई प्रशिक्षक बनेपछि नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएको छ । खेलाडीमा आत्मविश्वास छाएको छ । नेपाली खेलाडीले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । आइसिसी विश्वकप लिग २ का पछिल्ला १२ मध्ये ११ खेलमा नेपाल विजयी रह्यो । एसिसी प्रिमियर कपको एक अभ्याससहित नेपाल लगातार ६ खेलमा अपराजित छ । प्रशिक्षक देसाईको ‘ह्याप्पी डे«सिङ’ रुमले नेपाली टोली सन्तुलित देखिन्छ ।
पिच : त्रिवि क्रिकेट मैदानका कुनै पनि पिचमा नेपाली खेलाडी राम्ररी खेल्न सक्छन् । यस पिचमा नेपाली खेलाडी अभ्यस्त छन् । नेपाली खेलाडीले ब्याटिङ र बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै आएको इतिहास साक्षी छ । ओमानविरुद्ध नेपाली खेलाडीले यसै मैदानमा कीर्तिमानी तीन सय १० रन कटाएको थियो । नेपालले पहिलोपटक एकदिवसीय खेलमा तीन सयभन्दा माथिको योगफल बनाएको ओमानविरुद्ध नै थियो । ब्याट्सम्यान र बलरले त्रिविको पिचमा समयअनुसार प्रदर्शन गर्न सक्छन् । टसले समेत जितहारको ठूलो अर्थ राख्छ ।
दर्शक : कीर्तिपुर मैदानमा नेपालको खेल रहँदा दर्शकको उपस्थित उत्साहजनक रहँदै आएको छ । हजारौँ दर्शकसामु नेपाली खेलाडीले राम्रो खेल्न सक्छन् । त्यही पृष्ठभूमिमा विपक्षी टोली सधैँ दबाबमा रहने गर्छ । आइसिसी विश्वकप लिग २ वा एसिसी प्रिमियर कपमा नेपालले दर्शकको साथ पाउँदा नै सहज जित निकालेको थियो । सोमबार फाइनलमा समेत सार्वजनिक बिदा छ । सार्वजनिक बिदा हुँदा फाइनल खेलमा कम्तीमा १५ हजार दर्शकमाथि आउने अपेक्षा छ । नेपाली टोलीका प्रशिक्षक देसाईले घरेलु दर्शकको साथमा नेपालको प्रदर्शन थप उत्कृष्ट हुने बताउँदै आइरहेका छन् । युएईका खेलाडीले पछिल्ला खेलमा आफू पराजित हुँदा दर्शकको भूमिका पनि उत्तिकै रहेको जनाएका थिए ।
फाइनल जित्ने अवसर आएको छ । अब, भारत र पाकिस्तानसँग खेल्नु छ । त्यसैले फाइनललाई महत्व दिनुपर्छ । दुवै टोलीलाई फाइनल उत्तिकै महत्वपूर्ण छ । दबाबलाई सहज रूपमा लिने टोलीले जित निकाल्न सक्छ । हाम्रो ध्यान दबाब नलिनेमै हुनेछ ।