नेपोभिट टाइल्सले स्थापनाको एक वर्ष पूरा गरेको छ । कम्पनीले स्थापनाको पहिलो वार्षिक उत्सव उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम गरी मनाएको हो । समारोहमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रिजालले नेपालमै पहिलो र एक मात्र टाइल्स कम्पनी नेपोभिट टाइल्सले गरेको काम सराहनीय भएको बताए । कम्पनीले स्थानीय तथा समग्र देशलाई गरेको योगदानको प्रशंसा गर्दै उनले सरकारको तर्फबाट हरेक चरणमा साथ तथा सहयोग मिल्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कम्पनीका अध्यक्ष शम्भुनाथ झाले नेपोभिट टाइल्सले एक वर्षमा हासिल गरेका उपलब्धिबारे बोल्दै अब आगामी वर्षहरूमा निर्यातमा जोड दिने मुख्य उद्देश्य रहेको बताए । नेपालमा सेरामिक क्षेत्रको प्रचुर सम्भावनालाई उपयोग गर्दै टाइल्स मात्र नभई विभिन्न सेरामिक वस्तु उत्पादन गरी देशमा अझै रोजगारीको सिर्जना गर्न र विदेशी मुद्रा भित्र्याउन कम्पनी प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
कार्यक्रममा कम्पनीले नयाँ २×४ फिटका टाइल्सहरू पनि सार्वजनिक गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक मनोज रौनियारले नेपोभिट टाइल्सको एक वर्षको चुनौती तथा सम्भावनाबारे जानकारी गराउँदै अझै बृहत् र विस्तृत ढंगमा प्रस्तुत हुँदै चाँडै नै नयाँ डिजाइनका फ्लोर तथा वाल टाइल्सहरू बजारमा ल्याउने बताए ।
कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता रमणप्रसाद श्रेष्ठ, कलाकार राजेश हमाल र विभिन्न संघ–संस्थाका अधिकारीहरूको उपस्थिति रहेको जनाइएको छ । बाराको जितपुरमा रहेको नेपोभिट टाइल्स नेपालको पहिलो र एक मात्र टाइल्स कम्पनी रहेको जनाइएको छ । ०७९ सालमा स्थापित यस कम्पनीले घरायसी तथा व्यावसायिक प्रयोजनका लागि नेपालमै अन्तर्राष्ट्रियस्तरको टाइल्स उत्पादन गर्दै आएको जनाएको छ ।