नेप्सेमा जलविद्युतकाे हिस्सा तीन वर्षमा दोब्बर

शुक्रबार, १५ बैशाख, २०८०
डिजिटल संस्करण

तीन वर्षको अवधिमा पुँजी बजारमा जलविद्युत् कम्पनीको हिस्सा दोब्बरले बढेको छ । अन्य समूहको सूचक घट्दै जाँदा जलविद्युत् समूहको सेयर हिस्सा बढ्दै गएको हो । चालू आर्थिक वर्षको १० महिनासम्म पुँजी बजारमा जलविद्युत् कम्पनीको सेयर हिस्सा १३ दशमलव ९ प्रतिशत पुगेको छ । आर्थिक वर्ष ०७६/७७ मा यस समूहको सेयर हिस्सा ६ दशमलव ७ प्रतिशत थियो । आर्थिक वर्ष ०७७/७८ मा आइपुग्दा यस समूहको सेयर हिस्सा १० दशमलव ६ प्रतिशत रहेको थियो । 

पुँजी बजारमा सबैभन्दा धेरै सेयर हिस्सा बैंक तथा वित्तीय संस्थाको छ । नेपाल राष्ट्र बैंकअनुसार बैंक तथा वित्तीय संस्थाको सेयर हिस्सा घट्दा जलविद्युत् कम्पनीको सेयर हिस्सा तीन वर्षको अन्तरालमा दोब्बरले बढेको छ ।चालू आर्थिक वर्षको वैशाखसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाको सेयर हिस्सा ६४ दशमलव ७ प्रतिशत रहेको छ । तीन वर्षअघि वित्तीय संस्थाको सेयर हिस्सा ६९ दशमलव ६ प्रतिशत रहेको थियो । ०७८ को चैतसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाको सेयर घटेर ६६ प्रतिशतमा सीमित रहेको थियो ।

त्यस्तै, उत्पादनमूलक समूहको सेयर हिस्सा सामान्य घटेको छ । तीन वर्षको अन्तरालमा उत्पादनमूलक समूहको सेयर ३ दशमलव ९ प्रतिशत पुगेको छ । होटेल तथा पर्यटन समूहको सेयर हिस्सा वैशाखसम्म आइपुग्दा १ दशमलव ९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष शून्य दशमलव ८ प्रतिशत रहेको थियो । त्यस्तै, ट्रेडिङ समूहको शून्य दशमलव ४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस समूहको सेयर हिस्सा पनि शून्य दशमलव ४ प्रतिशत नै रहेको छ । ०७७ शून्य दशमलव ७ प्रतिशत रहेको छ ।

लगानी समूहको सेयर हिस्सा पनि घटेको तथ्यांकले देखाएको छ । पुँजी बजारमा यस समूहको हाल ६ दशमलव ८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ७ दशमलव १ प्रतिशत रहेको थियो । ०७७ मा लगानीगत समूहको सेयर हिस्सा शून्य रहेको थियो । 
त्यस्तै, अन्य समूहको सेयर हिस्सा ८ दशमलव ४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष १० दशमलव ३ प्रतिशत थियो । ०७७ मा १८ दशमलव ४ प्रतिशतले रहेको थियो । अझै नेपाल धितोपत्र बोर्डबाट अनुमतिको पर्खाइमा रहेका जलविद्युत् कम्पनीको १० वटा कम्पनीहरू १८ करोड ५० लाख कित्ता सेयर निष्कासनको तयारीमा रहेका छन् ।

लगानीकर्ता छोटेलाल रौनियार बैंक तथा वित्तीय संस्थाभन्दा जलविद्युत्लगायत अन्य कम्पनीको सेयर हिस्सा ओगट्नु सकारात्मक रहेको बताए । उनले भने, ‘यो निकै सकारात्मक कुरा हो, अझ रियल सेक्टरका कम्पनीले जति हिस्सा ओगट्छन्, बजार त्यति नै बलियो बन्छ ।’

बुक बिल्डिङ विधिबाट सेयर किनबेच हुन थालेपछि बैंक तथा वित्तीयको सेयर हिस्सा घट्दै जाने अन्य समूहहरूको हिस्सा बढ्दै जाने क्रम निरन्तर रहने लगानीकर्ता तुलसीराम ढकालले जानकारी दिए । बजारको हिस्सा बैंक वित्तीय संस्थाले होइन, उत्पादनमूलक कम्पनीको हिस्सा बढ्नुपर्छ ।

सुझावित समाचार