व्यावसायिक डेरी तथा कृषि उत्पादनलाई प्रोेत्साहन गर्ने उद्देश्यसहित सर्लाहीको हरिवनमा डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी सुरु भएको छ । हरिवन नगरपालिका–११ को सुर्ती विकास मैदानमा ‘कृषि यान्त्रीकरणको वृद्धि, दुग्धजन्य एवं कृषि उत्पादनमा नवीनतम प्रविधि’ भन्ने मूल नाराका साथ प्रदर्शनी सुरु भएको हो ।
नगरपालिका र प्रदेश दुग्ध विकास बोर्ड मधेस प्रदेशको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनीको मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वसन्त कुशवाहाले उद्घाटन गरे । उद्घाटन समारोहमा मन्त्री कुशवाहाले किसानको जीवनस्तर उकास्न प्रदेश सरकारले यो वर्षदेखि विभिन्न योजना ल्याएको बताए ।
उनले आठवटै जिल्लाका एक हजार दुई सय ७० वटा वडामा जैविक मलको साना उद्योग स्थापना, पालिकास्तरमा बजार व्यवस्थापन, ३२ स्थानमा शीतभण्डार निर्माण, एक लाख किसानलाई गाईभैँसीमा अनुदानलगायतका कार्यक्रम ल्याउन लागेको उनको भनाइ थियो ।
मधेस प्रदेशमा उत्पादन भएका तरकारीलगायत अन्य कृषिउपज काठमाडौं, पोखरा, वीरगन्ज, विराटनगरलगायत ठूला सहरमा बिक्रीको प्रबन्ध मिलाउन आफूले पहल गरिरहेको उनको दाबी थियो । कृषि उत्पादनको भण्डार मानिने मधेस प्रदेशमा मलको सधैँ अभाव रहँदा किसानलाई खेती लगाउनै समस्या भइरहेको अवस्थालाई मध्यनजर गर्दै संघीय सरकारसँग यस प्रदेशका लागि मलको कोटा बढाइदिन पहल गरिरहेको समेत उनले बताए ।
मधेस प्रदेश सभाका सदस्य जवाहारलाल कुशवाहाले किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाउन्जेल देश समृद्ध बन्न नसक्ने बताए । कृषिजन्य र पशुजन्य उत्पादन घट्दै जानु चिन्ताको विषय भएको भन्दै उनले किसानलाई प्रोत्साहन गर्नुपर्ने जिकिर गरे । किसानका लागि प्रभावकारी सहुलियत कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ थियो । हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल)ले अनुदान किसानको पक्षमा हुनुपर्नेमा जोड दिए ।