उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले आयोजना हुन लागेको सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । २२ देखि २४ वैशाखसम्म चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुने उक्त प्रदर्शनीको ७० प्रतिशत बुकिङ भइसकेको आयोजकले जनाएको छ ।
चितवनका उद्योगीहरूको छाता संस्थाको रूपमा रहेको चितवन उद्योग संघको आयोजना, संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवद्र्धन सहयोग, मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्सको व्यवस्थापकीय साझेदारीमा सो प्रदर्शनी आयोजना हुन लागेको हो ।
आधुनिक सुविधासम्पन्न चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुने प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लास्टिक, पर्यटन, फुड एन्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरूको उत्पादन र सेवा प्रदर्शनी हुनेछ । यी उद्योगहरूलाई उपयोगी हुने आधुनिक मेसिन, यन्त्र उपकरण र प्रविधिको प्रदर्शनीसहित राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २ सयभन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा देशका विभिन्न जिल्लाका उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमी, विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादक, औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने व्यक्ति, व्यावसायिक उत्पादक, नेपाली उद्योगका सञ्चालक, लगानीकर्ता तथा उच्च व्यवस्थापक, उद्यमीका व्यावसायिक परामर्शदाता, वित्तीय सेवाप्रदायक, अनुसन्धानकर्ता, विद्यार्थी, संघसंस्थाका प्रतिनिधि, तीनै तहका सरकारका नीति निर्माता, उच्चपदस्थ अधिकारी, उद्योगीका छाता संस्थाका प्रतिनिधिलगायतबाट प्रदर्शनी अवलोकन हुनेछ ।
उद्यमीहरूलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने तथा नवीनतम प्रविधि हस्तान्तरणको वातावरण सिर्जना गर्ने महत्वपूर्ण अवसरको रूपमा रहने यस अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा स्वदेशी एवं विदेशी उद्योगीहरूका बीच प्रत्यक्ष भेटघाट तथा छलफलसमेत हुने बताइएको छ ।
तीनदिने औद्योगिक प्रदर्शनीमा औद्योगिक प्रवद्र्धनका लागि विषयविज्ञको उपस्थितिमा अन्तरक्रियासमेत आयोजना गरिनेछ । यसले औद्योगीकरणका लागि विश्वमा नै सफल र उत्कृष्ट ठहरिएका प्रविधिसँग साक्षात्कारको अवसरसहित अनुसरणका लागि उत्प्रेरणा मिल्नेछ ।
प्रदर्शनीमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा नेपाल सरकारको औद्योगिक नीति, नेपालमा औद्योगिक विकासको सम्भावना र अवसरहरूका विषय, नेपाल उद्योग परिसंघको तर्फबाट मेक इन नेपाल स्वदेशी अभियानका विषयमा गोष्ठी तथा सेमिनार आयोजना गरिनेछ । प्रदर्शनी सरकारका औद्योगिक नीति तथा कार्यक्रमहरू लक्षित उद्योगीहरूसम्म पुर्याउने उपयुक्त अवसरको रूपमा समेत रहने बताइएको छ ।
प्रदर्शनी अवधिमा चितवन तथा नवलपुर क्षेत्रका होटेल, पर्यटन तथा यातायात व्यवसाय पूर्ण रूपमा चलायमान हुन गई आर्थिक कारोबारसमेत बढ्न जाने हुँदा वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई गतिशील बनाउनसमेत सहयोग पुग्ने हाम्रो विश्वास रहेको छ ।
आधुनिक प्रविधिहरूको अनुसरण गर्ने र औद्योगिक अनुभव तथा ज्ञान आदानप्रदानमार्फत उद्यमशीलताको विकासमा सहयोगी हुने अवसरका रूपमा लिइएको यस प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगहरूलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना–साना औजार, मेसिनदेखि ठूला उद्योगमा प्रयोग हुने अत्याधुनिक यन्त्र उपकरणहरूबाट लाइभ प्रोडक्सनसमेत गरिने भएकाले नेपालको औद्योगिक विकासमा सहयोग पुर्याउन यस प्रदर्शनी कोसेढुंगा साबित हुने विश्वास छ ।