पर्यटकको आकर्षण केन्द्र बन्दै लामटाङ

मंगलबार, १२ बैशाख, २०८०
डिजिटल संस्करण

पछिल्लो समय लामटाङ पर्यटकका लागि आकर्षणको केन्द्र बन्न पुगेको छ । राजधानीबाट नजिक र तुलनात्मक रूपमा छोटो गन्तव्य रहेकाे यो पदमार्ग पर्यटकका लागि आकर्षितको केन्द्र बन्न पुगेको हो । काठमाडौंबाट करिब एक सय २५ किलाेमिटरको यात्राका लागि स्याफ्रुबेँसीसम्म सहजै बस पाइन्छ । करिब आठ घन्टा यात्रा गरेपछि रसुवाको स्याफ्रुबेँसी पुगिन्छ । राजधानी काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य लामटाङ उपत्यका पुग्नलाई समस्या छैन । 

स्याफ्रुबेँसीबाट झोलुंगे पुल तरेर लामटाङ खोलाको तीरैतीर कटुसको सुगन्ध र गुराँसका रंगीबिरंगी जंगलको दृश्यपान गर्दै अघि बढ्दा थकानको पत्तै हुँदैन। उकाली–ओराली, झरना, वन, वनस्पति, चट्टान, पहाड तथा हिमाली भेगको स्थानीय वेशभूषा रुचाउने पर्यटकका लागि लामटाङ उपयुक्त गन्तव्य हो ।

अझ विभिन्न स्थानमा खुलेका सुविधासम्पन्न लज तथा व्यवसायीको न्यानो आतिथ्य लामटाङका विशेषता हुन् । तीन दिनको यात्रामा स्याफ्रुबेँसीबाट बन्दै गरेको  लामटाङ खोला जलविद्युत् आयोजना हुँदै पहिरो, बम्बो रिम्चे, लामा होटेल, घोडातबेला, थान्स्याप, गुम्बाडाँडा, लामटाङ  मुन्डु, सिन्डुम हुँदै  क्यान्जिङ पुगिन्छ । 

समुद्री सतहबाट चार हजार मिटरको उचाइमा रहेको क्यान्जिङ उपत्यका लाङटाङ खोलाको उदगमस्थल हो । त्यहाँबाट करिब दुई घन्टाको ठाडो उकालो लागेपछि घ्यासा (गोन्जला बेस क्याम्प) पुगिन्छ । घ्यासाबाट आँखैअगाडि लामटाङ लिरुङ हिमाल देखिन्छ ।

यसरी पुगिन्छ 

सात हजार दुई सय २७ मिटर अग्लो लामटाङसँगै याला पिक (५५००), गान्छाम्पो (६३७८), नेयघाङ (५८४४), स्काउट पिक (५७१०), चेर्को पिक घाङ्जला चुली (५८६३), लाङ्सिसा रि (६४२७) हिमाल पनि यहीँबाट देखिन्छन् । दुई हिमालको बीचबाट बग्ने लिरुङ हिमनदी प्रकृतिप्रेमीका लागि अभूतपूर्व दृश्य हुन् । 

पहिलो दिन– काठमाडौंबाट गाडीमा स्याफ्रुबेँसी (१४६२ मि) दोस्रो दिन– स्याफ्रुबेँसीबाट हिँडेर लामा होटेल (२४५० मि) तेस्रो दिन– लामा होटेलबाट हिँडेर लाङटाङ (३५६० मि) चौथो दिन– लाङटाङबाट हिँडेर क्यान्जिन गोम्पा (३८७० मि) पाँचौँ दिन– क्यान्जिन गोम्पा बाट हिँडेर लामा होटेल  (९२४५०मि)

छैटौँ दिन– लामा होटेलबाट स्याफ्रुबेँसी (१४६२ मि)

सातौँ दिन– स्याफ्रुबेँसीबाट काठमाडौं ।  

See More On

सुझावित समाचार