गुल्मीमा आगलागी बढ्दो : तीन वर्षमा १ सय १७ घरगोठ जले, ११ जनाको मृत्यु

मंगलबार, १२ बैशाख, २०८०
डिजिटल संस्करण

बिहीबार स्थानीय जंगलमा लागेको आगो बस्ती पसेपछि इस्माका दुई घर र तीन गोठ जले । इस्मा गाउँपालिका– ५ इस्मा रजस्थल दमारका शिवलाल कुमाल र रुद्रबहादुर कुमालका दुई घर र तीन गोठ जलेर नष्ट भए । घरसहित अन्नपात र लत्ताकपडा जलेपछि कुमाल परिवार खुला आकाशमा आइपुगेको छ । 

गत मंगलबार दिउँसोे छत्रकोट गाउँपालिका– २ स्थित रानीवनमा लागेको डढेलो निभाउने क्रममा सोही ठाउँका ७१ वर्षीय सूर्यबहादुर रजाली घाइते भए । वनको डढेलो बस्तीमा जाँदा स्थानीय ४७ वर्षीया खिमा रजाली, ४७ वर्षीया दुर्गाबहादुर रजाली, ४० वर्षीया रूपा बराल र ४० वर्षीय कुलबहादुर रजालीको गोठ जलेर नष्ट भएको छ । यी त हालैका केही प्रतिनिधि घटना हुन् । गुल्मीमा आगलागी भयावह बन्दै गएको छ ।

पछिल्लो तीन वर्षमा ५३ घर र ६४ गोठ जलेका छन् । यो आर्थिक वर्षको चैतसम्म ११ घर र १९ गोठ जलेका छन् । गत वर्ष ३१ घर र १५ गोठ जलेका थिए । आर्थिक वर्ष ०७६/७७ मा ११ घर र १५ गोठ जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । तीन वर्षमा ९६ पशुचौपाय मरेका छन् । आगोमा २७ पशुचौपाय घाइते भएका छन् । तीन करोड ६० लाख ३८ हजार पाँच सयबराबरको भौतिक क्षति भएको छ ।

मानवीय क्षति बढ्दो
बिहीबार घरनजिकै जंगलमा लागेको डढेलो नियन्त्रण गर्न जाँदा आगोमा परेर धुर्कोट गाउँपालिका– ३ हाडहाडेका १३ वर्षीय दीपक मुखिया र ५५ वर्षीय धनबहादुर मुखियाले ज्यान गुमाए । केही दिनअघि जंगलमा लागेको आगोका कारण सत्यवती गाउँपालिका– ४ लिम्घानिवासी ७५ वर्षीय लालबहादुर शाहीको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठका अनुसार जिल्लामा तीन वर्षमा आगोमा परेर ११ जनाको ज्यान गएको छ ।

जिल्लामा यो आर्थिक वर्षमा पाँचजनाले आगोबाट ज्यान गुमाएका छन् । वैशाखमा मात्रै तीनजनाले आगोमा परेर ज्यान गुमाएका छन् । गत वर्ष चार र आर्थिक वर्ष ०७६/७७ मा मा दुईजनाको आगोमा जलेर मृत्यु भएको थियो । तीन वर्षमा २० जना घाइते भएका छन् । यस आर्थिक वर्षको चैतसम्म १० जना, गत वर्ष सात र आर्थिक वर्ष ०७६/७७ मा तीनजना घाइते भएका छन् । 

६ सय १९ हेक्टर वनमा आगलागी
गुल्मीको ६ सय १९.५ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । डिभिजन वन कार्यालय गुल्मीको सूचना अधिकारी मुना शर्माका अनुसार जिल्लाका ३९ सामुदायिक वनमा डढेलो लागेको छ । सबैभन्दा बढी इस्मा गाउँपालिकाको सामुदायिक वनमा डढेलो लागेको शर्माले बताइन् । जिल्लामा चार सय ५९ सामुदायिक वन छन् ।

सुक्खा मौसम र हावाहुरी बढ्दै गएकाले वनहरूमा डढेलो लाग्ने क्रममा वृद्धि हुँदै गएको छ । गुल्मीमा रेसुंगा नगरपालिकाको रेसुंगा क्षेत्र र अर्जुन क्षेत्र, मुसीकोट नगरपालिका तथा धुर्कोट गाउँपालिकाका विभिन्न क्षेत्र आगलागीको जोखिममा रहेका छन् ।

निमित्त डिभिजन वन कार्यालय निमित्त प्रमुख रामकुमार चौधरीका अनुसार जिल्लामा मानवीय कारण बढी डढेलोका घटना हुने गरेका छन् । प्राकृतिक र मानवीय कारण बढी डढेलो हुने गर्दछ । जसका कारण इको सिस्टमसमेत प्रभावित हुने गर्दछ ।

महत्वपूर्ण जडीबुटी र जीवजन्तु नष्ट हुनुको साथै खानेपानी संकट र भूक्षय बढी हुने निमित्त डिभिजन प्रमुख चौधरीले बताए । उनले आगो लगाउने व्यक्ति एक्लै हिँडेर लगाउने भएकाले डढेलोमा संलग्न व्यक्ति पहिचान नहुने बताए ।
 

See More On

सुझावित समाचार