नयाँ स्टक एक्सचेन्जका लागि तीन र कमोडिटिज एक्सचेन्ज (वस्तु विनिमय बजार)का लागि चार कम्पनीले आवेदन दिएका छन् । नयाँ स्टक एक्सचेन्ज र कमोडिटिज एक्सचेन्जका लागि अदालतले बाटो खुला गरेसँगै नेपाल धितोपत्र बोर्डले ३० चैतमा सूचना आह्वान गरेको थियो । बोर्डले एउटा स्टक एक्सचेन्ज र दुईवटा कमोडिटिज एक्सचेन्जलाई लाइसेन्स दिने बताएको छ ।
आइतबार अन्तिम अवधिसम्म स्टक एक्सचेन्जतर्फ हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका छन् । यसैगरी, कमोडिटिजतर्फ मल्टी डेरिभेटिभ एक्सचेन्ज लिमिटेड, मल्टी एसेट्स एन्ड डेरिभेटिभ एक्सचेन्ज लिमिटेड, हिमालयन कमोडिटिज एन्ड डेरिभेटिभ एक्सचेन्ज र नेपाल मल्टी कमोडिटिज एक्सचेन्ज लिमिटेडले प्रस्ताव दिएका छन् ।
नेपालमा अहिले सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्ज (नेप्से) नामको स्टक एक्सचेन्ज २९ पुस ०५० देखि सञ्चालनमा छ । नयाँ स्टक एक्सचेन्जका लागि न्यूनतम तीन अर्ब चुक्ता पुँजी हुनुपर्ने व्यवस्था छ । कमोडिटिज एक्सचेन्ज भने नेपालमा नीतिगत रूपमा अहिलेसम्म सञ्चालनमा आएको छैन । यसअघि आठ वटासम्म कमोडिटिज कम्पनी अवैध रूपमा (बोर्डबाट अनुमति नल्याई) सञ्चालनमा थिए । हाल बन्द भइसकेका छन्, कतिपय कम्पनीलाई कारबाहीसमेत गरिएको छ ।
बोर्डका अध्यक्ष रमेशकुमार हमालले अब आवश्यक प्रक्रिया पूरा गरेर लाइसेन्स वितरण गरिने बताए । ‘अब मूल्यांकन कमिटीले प्रस्तावित आवेदनहरूमाथि आवश्यक मूल्यांकन गर्नेछ । त्यसबाट प्राप्त नम्बरका आधारमा यसलाई टुंगोमा पुर्याइनेछ,’ उनले भने, ‘यसमा ढिलाइ हँुदैन ।’ यस्ता कम्पनीको चुक्ता पुँजी कामको प्रकृतिअनुसार एक अर्ब ५० करोड र दुई अर्ब हुनुपर्ने व्यवस्था छ । त्यसमा ३० प्रतिशतसम्मको अनुपातमा आइपिओ निष्कासन गर्न पाइनेछ ।
अब बोर्डले आवश्यक मूल्यांकन गरेर एक स्टक एक्सचेन्ज र दुई कमोडिटिज एक्सचेन्जलाई सैद्धान्तिक स्वीकृति दिनेछ । त्यसपछि स्वीकृतिप्राप्त कम्पनीले ६ महिनाभित्र आवश्यक पूर्वाधार तयार गर्नेलगायतका काम गर्नुपर्ने हुन्छ । तर, सही ढंगले कार्यान्वयनमा आउनेमा भने चुनौती देखिएको बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरीले बताए । ‘पहिला पनि थप स्टक एक्सचेन्ज कम्पनी ल्याउने प्रयास भएको हो ।
कमोडिटिज एक्सचेन्जका लागि दुईपटक आवेदन नै माग गरेको हो । तर, सफल भएन । मुख्यतः नेतृत्व परिवर्तन हुदाँ यसले पूर्णता पाउन सकेन,’ उनले भने, ‘अहिले स्टक एक्सचेन्ज र कमोडिटिज एक्सचेन्जको नै लाइसेन्स दिने भनिएको छ । यसमा विभिन्न प्रकारको पावरको खेल होला, त्यसअनुसार यसको कार्यान्वयन हुनेमा चुनौती देखिन्छ ।’
कुन कम्पनीमा कसको लगानी ?
हिमालयन स्टक एक्सचेन्जमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र इन्फिनिटी होल्डिङका दीपक भट्टको मुख्य लगानी छ । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा, महासंघकै पूर्वअध्यक्षद्वय पशुपति मुरारका र भवानी राणाले पनि यसमा लगानी गरेका छन् ।
नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष तथा लक्की ग्रुपका सतिश मोरसमेत पनि यसमा छन् । नेसनल स्टक एक्सचेन्जमा गैरआवासीय नेपालीको प्रमुख लगानी छ । यसमा एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, वर्तमान अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशीलगायतको लगानी छ । यस्तै, यसमा मालिका आयलका दीपक तिमिल्सिना, सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपलगायतको पनि लगानी छ । अन्नपूर्ण स्टक एक्सचेन्जमा क्याप्टेन रामेश्वर थापा, गणेशकुमार श्रेष्ठ, अनिल सापकोटा, शेखर सुवेदीलगायत व्यवसायीको लगानी छ ।