पाँच वर्षमा पनि बनेनन् आधुनिक कृषि बजार

आइतबार, १० बैशाख, २०८०
डिजिटल संस्करण

डिपिआर तयार भएको पाँच वर्षमा तीनवटा तयार, ६ वटा अझै अलपत्र

देशभर आधुनिक सुविधासम्पन्न तरकारी तथा फलफूल बजार स्थापना गर्ने सरकारको योजना पाँच वर्षमा पनि पूरा हुन सकेको छैन । सरकारले देशभरका नौ स्थानमा बनाउने तय गरेकामध्ये हालसम्म तीनवटा मात्र आधुनिक तरकारी भवनको निर्माण सम्पन्न भएको हो । हालसम्म हेटौँडाको मकवानपुर, कपिलवस्तु, पोखराको कास्कीमा मात्रै निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आर्थिक वर्ष ०७३/७४ मा देशभरका नौ स्थानमा आधुनिक कृषि बजार बनाउन डिपिआर तयार पारेको थियो । ०७४ को चुनावपछि यसको सम्पूर्ण जिम्मा प्रदेश सरकार र स्थानीय तहलाई दिएको थियो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले कुनै भवनको निर्माण अर्बभन्दा माथिको भएको हुँदा बजेटको कारणले पनि ढिला भएको बताए । उनले भने, ‘केही स्थानमा लागत संशोधन गर्नुपर्ने भएकाले अझै अध्ययनमै छ, अबको तीन वर्षमा सक्ने अनुमान छ ।’ उनका अनुसार स्थानीय तहमा आवश्यकताअनुसार तीनवटै सरकारको सहयोगमा अहिले निर्माणको तयारी भइरहेको छ ।  

आधुनिक तरकारी बजारमा कोल्डस्टोर, एटिएम काउन्टर, फोहोर प्रशोधन केन्द्र, फलफूल पकाउने प्रविधिलगायत सुविधा उपलब्ध हुनेछ । अपांगमैत्री स्टल हुने तरकारी बजार निर्माणमा दातृ संस्थाहरूले पनि लगानी गर्ने इच्छा देखाएका छन् । बुटवलको सेमलारमा अहिलेसम्मकै ठूलो तरकारी बजार निर्माणको अध्ययन भएको छ । लगानी गर्न नेदरल्यान्डको ‘डिजाइन टु बिल्ड’ र संयुक्त राष्ट्रसंघमातहतको आइफाडले इच्छा देखाइसकेका छन् । बुटबलमा नेदरल्यान्ड ‘डिजाइन टु बिल्ड’ले ५० प्रतिशत लगानी गर्ने सहमतिसमेत भइसकेको सञ्जेलले बताए ।

रुपन्देही : रुपन्देहीको बुटवल (सेमलार)मा अहिलेसम्मकै आधुनिक र सुविधासम्पन्न तरकारी बजार निर्माणको अध्ययन भई ठेक्का भएको छ । २३ बिघा तीन कट्ठा जग्गामा सहकारी कार्यालय, जिउँदो माछापसल, क्वारेन्टिन भवन, मल्टी चेम्बर कोल्ड स्टोर, पेट्रोलपम्प, नाश भएर जाने तरकारी, प्लास्टिकलगायतलाई पुनः प्रयोग गर्न मिल्ने गरी उत्पादन गर्ने प्रशोधन मेसिन जडान, माछा–मासुको स्टल, किसान अक्सन स्टल, होलसेल तथा रिटेलर स्टल, प्रशासनिक भवनलगायत निर्माण हुनेछन् । यसका लागि दुई अर्ब दुई करोड ४३ लाख ९० हजार लागत अनुमान गरिएको छ । 

सुनसरी : सुनसरीको इटहरीमा आठ बिघा क्षेत्रफलमा दोस्रो ठूलो कृषि बजार निर्माणको गुरुयोजना तयार भएर काम अघि बढिरहेको छ । यहाँ एटिएम ब्लकका साथै नाश भएर जाने तरकारी, प्लास्टिकलगायतलाई पुनः प्रयोग गर्न मिल्ने गरी उत्पादन गर्ने प्रशोधन मेसिन जडान गर्ने लक्ष्य छ । त्यस्तै, कोल्डस्टोर र आवश्यकताअनुसार विभिन्न स्टल हुनेछन् । यो पूर्वाधार तयार गर्न ७९ करोड ९४ लाख ९० हजार रुपैयाँ लागत अनुमान गरिएको छ । मन्त्रालयका अनुसार यसका लागि ठेक्कासमेत भइसकेको निर्माणाधीन अवस्थामा रहेको छ ।

महोत्तरी : महोत्तरीको बर्दिवासमा सात बिघा १० कट्ठा क्षेत्रफलमा आधुनिक तरकारी बजार निर्माणका लागि अध्ययन भए पनि हालसम्म काम अघि बढ्न सकेको छैन । ठेक्का सम्झौतालाई संशोधन गरेर पुनः सुरु गर्नुपर्ने मन्त्रालयको ठहर छ । यसअघि यो संरचना तयार गर्न ५९ करोड ८३ लाख १७ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । रेल पूर्वाधारका कारणले अनिश्चित समयका लागि अहिलेलाई अध्ययन मात्र भइसकेको छ ।

बर्दिया : बर्दियाको बारबर्दियामा तीन बिघा १९ कट्ठा क्षेत्रफलमा तरकारी बजार निर्माणको अध्ययन टुंगिएको छ । यहाँ एक हजार मेट्रिकटन तरकारी तथा फलफूल राख्न सक्ने मल्टी चेम्बर कोल्डस्टोर, नाश हुने तरकारीबाट बायो कम्पोस्ट मल तयार गर्ने मेसिनरी जडान हुनेछ । त्यसैगरी, तुरुन्त बिक्री गर्न नसकिने केही परिमाणका तरकारी तथा फलफूल अलग्गै भण्डारण गरिराख्ने ‘सरप्लस कमोडिटी ब्लक’समेत बनाइनेछ । यस्तो ब्लकमा एक–दुई दिन भण्डारण गर्न मिल्छ । यसको लागत ५३ करोड ५३ लाख २२ हजार रुपैयाँ अनुमान गरिएको छ ।

पर्सा : वीरगन्जको पर्सामा तरकारी बजार निर्माणका लागि तीन बिघा २६ कट्ठा क्षेत्रफलमा अध्ययन भएको छ । यहाँ एटिएम काउन्टर, कोल्डस्टोर, किसानका लागि अलग्गै स्टल तथा होलसेल र खुद्रा स्टल रहनेछन् । यो पूर्वाधार तयार गर्न ५९ करोड ८३ लाख १७ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म यस क्षेत्रमा अध्यनबाहेक काम हुन सकेको छैन । अब नयाँ आर्थिक वर्षको बजेटबाट अघि बढाइने तयारी छ ।

मोरङ : मोरङको रंगेलीमा एक बिघा १८ कट्ठा जमिनमा आधुनिक तरकारी बजार निर्माणका लागि अध्ययन टुंगिएर अन्तिम चरणमा पुगेको मन्त्रालयको दाबी छ । यहाँ तरकारी, फलफूलको होलसेल तथा खुद्रा स्टलका साथै नाश हुने तरकारी, फलफूलका प्रशोधन युनिट, कोल्डस्टोर, केरालाई आधुनिक प्रविधिबाट पकाउने राइपेनिङ चेम्बर, किसानको अलग्गै स्टललगायका पूर्वाधार तयार हुनेछन् । यसका लागि ४७ करोड २३ लाख ९१ हजार रुपैयाँ लागत अनुमान गरिए पनि हालसम्म १९ करोड रुपैयाँ खर्च भएको छ ।

See More On

सुझावित समाचार