पछिल्लो समय देखिएको आर्थिक संकटका कारण बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा अनुपात बढ्ने क्रमले निरन्तरता पाएको छ । ऋण असुल नहुने तथा कर्जा प्रवाहसमेत नबढ्दा चालू आर्थिक वर्ष ०७९/८० को चैत मसान्तसम्म वाणिज्य बैंकको खराव कर्जा ३ प्रतिशतभन्दा माथि पुगेको छ ।
गत असोज मसान्तसम्म १.७७ प्रतिशत र पुस मसान्तसम्म २.४९ प्रतिशत रहेको वाणिज्य बैंकको खराब कर्जा अनुपात चैत मसान्तसम्म आइपुग्दा ३.०३ प्रतिशत पुगेको हो । जुन गत आवको सोही अवधिको तुलनामा १४८.४१ प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्म वाणिज्य बैंकहरूको खराब कर्जा अनुपात १.२१ प्रतिशत थियो । २१ वाणिज्यहरूले बिहीबार सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
यस्तै, गत पुस मसान्तसम्म २.८२ प्रतिशत रहेको विकास बैंकहरूको खराब कर्जा अनुपात चैत मसान्तसम्म ४.४२ प्रतिशत पुगेको छ, जुन गत आवको सोही अवधिको तुलनामा १०२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूको खराब कर्जा २.१९ प्रतिशत थियो । हाल नेपालमा १७ विकास बैंक छन् । तर, सालपा विकास बैंकले बिहीबारसम्म तेस्रो त्रैमासिक विवरण सार्वजनिक गरेको छैन ।
यस्तै, बिहीबारसम्म वित्तीय विवरण सार्वजनिक गरेका १२ वित्त कम्पनीको खराब कर्जा अनुपात औसतमा ५.४१ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा उनीहरूको खराब कर्जा ३.८८ प्रतिशत थियो । अहिले त्यो ४० प्रतिशतले बढेको देखिन्छ । अन्य पाँच वित्त कम्पनीले भने यस्तो विवरण सार्वजनिक गरेका छैनन् ।
विशेष गरी पछिल्लो समय देखिएको आर्थिक संकटका कारण बैंकहरूको खराब कर्जा अनुपात बढ्न गएको हो । महँगी, व्यवसायमा आएको संकुचनका कारण ऋणीहरूको ऋण तिर्ने क्षमता घटेको छ । यस्तै, सरकारले निर्माण क्षेत्रलगायतको अर्बाैँ रुपैयाँ भुक्तानी गर्न सकेको छैन । त्यसले बजारमा नगद प्रवाहमा कमी ल्याएको छ । साथै, निर्माण क्षेत्रसँग जोडिएका व्यवसायीहरूको आम्दानी पनि प्रभावित भएको छ । यीसहित अन्य विभिन्न कारण समग्र ऋणीहरूको ऋण तिर्ने क्षमतामा कमी आएको छ ।
यस्तै, नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले पछिल्लो समय देखिएको आर्थिक संकटका कारण खराब कर्जा अनुपात बढेको बताए । साथै, बैंकहरूविरुद्ध भएका आन्दोलन, ऋण नतिर्ने अभियानले खराब कर्जा बढ्न मद्दत पुगेको उनको भनाइ छ । यद्यपि, असारसम्म आउँदा खराब कर्जा नियन्त्रमा आउन सक्ने उनले बताए । ‘पछिल्लो समय सरकारको खर्च बढ्न थालेको छ । सरकारले बिहीबार मात्रै निर्माण क्षेत्रको भुक्तानी गर्ने गरी अर्बाैँ रुपैयाँ रकमान्तर गरेको सुनिन्छ,’ माछापुच्छ्रे बैंकका सिइओसमेत रहेका कोइरलाले भने, ‘यी यस्ता कारण अब बजारमा नगद प्रवाह बढ्छ र ऋणीहरूको ऋण तिर्ने क्षमता पनि बढ्छ । त्यसअनुसार असारसम्म खराब कर्जा नियन्त्रणमा आउन सक्ने आशा छ ।’
यस्तै, यसबीचमा बैंक तथा वित्तीय संस्थाविरुद्ध विभिन्न आन्दोलनहरू पनि भएका छन् । कतिपयले ऋण नतिर्ने अभियान नै चलाएका छन् । त्यसकै पछि लागेर सक्नेले पनि ऋण तिरेका छैनन् । यी यस्ता कारण पछिल्लो समय बैंकहरूको ऋण असुल भएको छैन । फलस्वरूप बैंकहरूको खराब कर्जा अनुपात बढेको बैंकरहरू बताउँछन् । ऋणीले ६ महिनासम्म कर्जाको साँवा तथा ब्याज भुक्तानी नगरेमा त्यस्तो ऋण खराब कर्जामा जाने व्यवस्था छ ।
बैंकहरूमा देखिएको तरलता अभाव, कर्जा प्रवाहमा आएको कमीले पनि खराब कर्जा बढेको बताइन्छ । बैंकको कर्जा प्रवाह बढेको भए खराब कर्जाको अनुपात स्वतः कम हुने थियो । तर, कर्जा प्रवाह नबढ्दा पनि खराब कर्जा अनुपात बढेको बैंकरहरू बताउँछन् ।
समग्रमा आर्थिक संकटकै असरले खराब कर्जा बढेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) निश्चलराज पाण्डेले बताए । ‘निर्माण क्षेत्रको अर्बाैँ रुपैयाँ सरकारी भुक्तानी रोकिएको छ । त्यसको असरले निर्माण क्षेत्रसम्बन्धी ऋणीहरूको कर्जा असुल भएको छैन,’ उनले भने, ‘लामो समय घरजग्गा कारोबारमा मन्दी आएको छ । सेयर बजार घटेको छ । व्यवसायमा संकुचन आएको छ । त्यसको असरले ऋणीहरूको ऋण तिर्ने क्षमता घटेको छ । फलस्वरूप खराब कर्जा अनुपात बढेको छ ।
यस्तै, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ पनि बैंकहरूले यो अनुपातको खराब कर्जालाई नजरअन्दाज गर्न नहुने बताउँछन् । ‘पछिल्लो समय देखिएको अप्ठ्यारो परिस्थितिले यस्तो अवस्था आएको हो । त्यस्तो हो भन्दैमा बैंकहरूले यसलाई नजरअन्दाज भने गर्न मिल्दैन,’ उनले भने, ‘यसलाई व्यवस्थापन गर्नतर्फ बैंकहरू अग्रसर हुनुपर्छ । यद्यपि, आत्तिहाल्नुपर्ने अवस्था भने छैन ।’
तीन वाणिज्य बैंकको खराब कर्जा ४ प्रतिशतमाथि
समीक्षा अवधिमा हिमालयन बैंकको खराब कर्जा अनुपात सबैभन्दा धेरै देखिएको छ । चैत मसान्तसम्म हिमालयन बैंकको खराब कर्जा अनुपात ४.५६ प्रतिशत पुगेको छ । दोस्रो स्थानमा भने कृषि विकास बैंक रहेको छ, उक्त बैंकको खराब कर्जा अनुपात ४.३५ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ । यसैगरी, तेस्रो स्थानमा रहेको नेपाल बैंकको खराब कर्जा अनुपात ४.१६ प्रतिशत छ ।
चार वाणिज्य बैंकको खराब कर्जा १ प्रतिशतभन्दा कम
अधिकांश बैंकहरूको खराब कर्जा अनुपात उच्च हुँदा चार बैंकको भने यस्तो कर्जाको अनुपात १ प्रतिशतभन्दा कम छ । समीक्षा अवधिमा नेपाल एसबिआई, स्ट्यान्डर्ड चार्टर्ड, एनआइसी एसिया र एभरेष्ट बैंकको खराब कर्जा अनुपात १ प्रतिशतभन्दा पनि कम छ । एसबिआईको ०.९७ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डको ०.९० प्रतिशत, एनआइसीको ०.८५ प्रतिशत र एभरेस्टको ०.७० प्रतिशत खराब कर्जा छ । २१ बैंकमा एभरेष्ट बैंकले खराब कर्जा अनुपातलाई एकदमै कम राख्न सफल भएको देखिन्छ ।
सबैभन्दा बढी खराब कर्जा हुने तीन विकास बैंक
विकास बैंकतर्फ सप्तकोसीको खराब कर्जा अनुपात सबैभन्दा बढी देखिएको छ । समीक्षा अवधिमा उक्त बैंकको खराब कर्जा अनुपात १५.९ प्रतिशत छ । दोस्रोमा भने ग्रिन डेभलपमेन्ट बैंक रहेको छ । उक्त बैंकको खराब कर्जा अनुपात ४.९८ प्रतिशत रहेको छ । यसैगरी तेस्रो स्थानमा रहेको एक्सेल डेभलपमेन्ट बैंकको खराब कर्जा अनुपात ४.९० प्रतिशत पुगेको छ ।
सबैभन्दा बढी खराब कर्जा भएका तीन वित्त कम्पनी
वित्त कम्पनीतर्फ सबैभन्दा बढी खराब कर्जा समृद्धि फाइनान्सको देखिएको छ । उक्त कम्पनीको खराब कर्जा १३.४९ प्रतिशत पुगेको छ । यसैगरी, नेपाल फाइनान्सको १३.१६ प्रतिशत खराब कर्जा अनुपात पुगेको छ । यसैगरी, तेस्रो स्थानमा रहेको गुराँस फाइनान्सको खराब कर्जा ६.७७ प्रतिशत रहेको छ ।
