दशौँ चरणसम्म चर्च ब्वाइज अपराजित

शुक्रबार, ८ बैशाख, २०८०
डिजिटल संस्करण

नवप्रवेशी चर्च ब्वाइज क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको दशौँ चरणसम्म आफ्नो अपराजित यात्रा कायमै राखेको छ । दशरथ रंगशालामा बिहीबार चर्च ब्वाइजले सातदोबाटो युथ क्लबलाई २–१ ले हरायो । जितसँगै चर्च ब्वाइज दोस्रो स्थानमा उक्लेको छ । हारसँगै सातदोबाटो चौथो स्थानमा झरेको छ । लिगमा २० अंकसहित जावलाखेल युथ शीर्ष स्थानमा छ । चर्च ब्वाइजले १० खेलबाट १८ अंक जोडेको छ । लिगमा चर्च ब्वाइजले चौथो जित निकाल्दा ६ खेलमा बराबरी नतिजा हात पारेको छ ।

चर्च ब्वाइजले ११ गोल विपक्षी पोस्टमा गर्दा आफ्नो पक्षमा ६ गोल बेहोरेको छ । लिगमा तेस्रो हार सामना गरेको सातदोबाटोको १७ अंक छ । सातदोबाटोले जावलाखेलसँग अंक बराबर गर्ने अवसर चुकायो । चर्च ब्वाइजको जितमा रक्षक मिलन राईले निर्णायक गोल गरेका थिए । उनले खेलको ४६औँ मिनेटमा आफ्नो टोलीलाई २–१ को अग्रता दिलाए । खेलको सातौँ मिनेटमा आशिष चौधरीले चर्च ब्वाइजलाई १–० को अग्रता दिलाए । खेलको ३४औँ मिनेटमा सातदोबाटोले १–१ को बराबरी गोल फर्काएको थियो ।

सातदोबाटोका लागि नीरज चौधरीले एक गोल फर्काएका हुन् । दुवै टोलीले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । प्रशिक्षकमा बालगोपाल महर्जन आएको तेस्रो खेलपछि चर्च ब्वाइजले जित निकालेको हो । अघिल्ला दुवै खेलमा चर्च ब्वाइजले अंक बाँडेको थियो । बालगोपालअघि प्रदीप हुमागाईंले टोलीलाई प्रशिक्षण गराएका थिए । श्रमस्वीकृति नपाएपछि हुमागाईंले पदत्याग गरेका थिए ।

 लाकेनको निर्णायक गोल 
लाकेन लिम्बूको निर्णायक गोलमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई १–० ले हराएको छ । खेलको पहिलो हाफमा लाकेनले एक मात्र गोल गरेका थिए । जितसँगै थ्री स्टार तेस्रो स्थानमा उक्लेको छ । थ्री स्टारले १० खेलमा पाँच जित, तीन बराबरी र दुई हारसहित १८ अंक जोडेको छ । हिमालयन ९ अंकका साथ १३औँ स्थानमा छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा १४औँ मिनेटमा लाकेनले गोल गरेका हुन् । थ्री स्टारका आदित्य शाक्यको पासमा बक्सभित्रबाट लाकेनले गरेको प्रहार सन्जितको खुट्टामा लाग्दै गोल भएको थियो । फिफा रेफ्री प्रकाशनाथ श्रेष्ठले यस गोल लाकेनको नाममा लेखाएका छन् । हिमालयनको तुलनामा थ्री स्टारले बल पकड बनाएको थियो । खेलको ४८औँ मिनेटमा हिमालयनका कप्तान विश्वास श्रेष्ठ पेनाल्टीमा बराबरी गोल फर्काउन चुके । 

सुझावित समाचार