एसिसी प्रिमियर कपअन्तर्गतको आज भएको दोस्रो खेलमा हङकङले सिंगापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।
मूलपानी क्रिकेट मैदानमा भएको खेलमा सिंगापुरले दिएको १७५ रनको लक्ष्य हङकङले ३३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। हङकङका लागि बाबर हायातले ९४ बलमा १०८ रनको शतकीय योगदान पारी खेले। उनले १० चौका र ६ छक्का प्रहार गरे।
त्यस्तै, निजाकत खानले ८९ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय योगदान गरे। सिंगापुरका लागि आरित्रदत्त र रमेश कालिमुथुले समान एक–एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२.१ ओभरमा अलआउट हुँदै १७४ रन बनाएको थियो। सिंगापुरका लागि आरित्रदत्तले सर्वाधिक ४९ रनको योगदान दिए। उनले ५७ बलमा ९ चौका प्रहार गरे।
यसैगरी, आर्यन मोदीले २१, रमेश कालीमुथुले १८, थिलिपन अमाइदुराई र अभी दीक्षितले समान १२ तथा सुरेन्द्रन चन्द्रमोहन र प्रसिन परमले समान १० र १० रन जोडे।
हङकङका लागि एहसान खानले चार विकेट लिए भने यासिम मुर्ताजाले तीन विकेट झारे। त्यसैगरी, मोहम्मद घनजफर, अइजाज खान र आयुष शुक्लाले समान एक–एक विकेट लिए।
आजै त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ।