राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ। आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्यसहित तीन जहाज खरिद गर्ने निर्णय गरेको हो।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुर्गम क्षेत्र ‘स्टल रुट’मा उडान भर्न सक्ने तीन साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाइएको छ। निगमले आन्तरिक स्रोतबाट जहाज निर्माता कम्पनीसँग खरिद गर्न लागेको हो । निगमसँग आन्तरिक उडानका लागि हाल दुई थान ट्विनअटर जहाज छन् । ती जहाजमार्फत विभिन्न १५ गन्तव्यमा साताको २५ उडान हुँदै आएको छ।
यसबाट दुर्गम क्षेत्रका जनताको माग सम्बोधन गर्न र हवाई कनेक्टिभिटी बढाउन सहयोग पुग्ने उनको विश्वास छ। तीन साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाउन निगम व्यवस्थापनको उपसमितिले आफ्नो प्रतिवेदन पेस गरिसकेकाले यसका लागि विशेष पहल गरी यथाशक्य छिटो जहाज खरिद गरिने निगमले जनाएको छ।
उक्त प्रयोजनका निम्ति निगम सञ्चालक समितिद्वारा सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधीर शमशेर राईको संयोजकत्वमा सातसदस्यीय उपसमिति गठन गरिएको र उक्त उपसमितिले कार्य सुरु गरिसकेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
निगमले नयाँ तीनवटा जहाज खरिद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुलाई सेवा प्रदान गर्न सकिने प्रवक्ता पौडेलले बताए। पर्यटन प्रवर्द्धन र सन्तुलित हवाई बजारका लागि पनि निगमको उपस्थिति प्रभावकारी हुने जनाइएको छ।