नयाँ वर्ष २०८० को आगमनसँगै पोखराका होटेल क्षमताको ९० प्रतिशत बढी भरिएका छन्। कोरोनाका कारण लामो समयसम्म प्रभावित यहाँको पर्यटन गत माघ १ गते भएको यती एयरलायन्सको विमान दुर्घटनापछि झनै सुस्ताएकामा नयाँ वर्षको आगमनले उत्साह थपेको होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।
पोखरा र आसपास गरी यहाँ लगभग एक हजार दुई सय ठूला–साना होटेल सञ्चालनमा छन्। उनले नयाँ वर्षको आगमनसँगै देखिएको पर्यटकको चापले आफूहरूलाई उत्साहित बनाएको बताए।
‘नयाँ वर्षका कारण यतिखेर लेकसाइडका होटेल लगभग शतप्रतिशत भरिएका छन्,’ उनले भने, ‘लेकसाइड मात्र नभई पोखरा र आसपासका होटेलसमेतको अक्युपेन्सी हेर्दा ९० प्रतिशतभन्दा बढी देखिन्छ।’
नयाँ वर्षको अघिल्लो दिन चैत ३० गते र वैशाख १ गते लेकसाइड क्षेत्रमा पर्यटकको चापका कारण कोठा पाउन मुस्किल भएको होटेल एसियाका सञ्चालक धर्मराज पन्थीले बताए। नयाँ वर्षको आगमनलाई लक्षित गरी आयोजित फेवा नव वर्ष महोत्सवका कारण पनि आन्तरिक पर्यटकको चहलपहल बर्सेनि बढ्दै गएको पर्यटन व्यवसायी बताउँछन्।