दलाई लामाको अक्षम्य दुर्व्यवहार

शुक्रबार, १ बैशाख, २०८०
डिजिटल संस्करण

केही दिनअघि तिब्बती धर्मगुरु दलाई लामाको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । भिडियोमा एक बालकले धर्मगुरुलाई अँगालो हालेर उनको गालामा चुम्बन गरेको देखिन्छ । प्रतिक्रियामा दलाई लामाले बालकको असहजताका बाबजुद आफ्नो ओठमा चुम्बन गर्न माग गर्छन् ।

बालक निकै हतास भइसकेको थियो, तैपनि धर्मगुरु उसको चिउँडो समातेर टाउकोलाई आफूले चुच्चो पारेको ओठतिर तान्छन् । यो हर्कतले पनि नपुगेर उनी बालकलाई हेरेर थुक निल्छन् र आदेशको शैलीमा ‘मेरो जिब्रो चुस’ भनेर आफ्नो लामो जिब्रो बाहिर निकाल्छन् । बालकले सुरुमा टाउको बटार्छ तर अन्ततः आध्यात्मिक गुरु बालकको अनुहारमा जिब्रोले छुन्छन् । यो सब भइरहँदा केले विचलित गराइरहेको छ भन्न सकिने अवस्था थिएन, अर्थात् लामाले सार्वजनिक स्थलमा गरेको हर्कत र यसलाई हेरेर ताली पिट्ने दर्शकदीर्घाले समान रूपमा विचलित गराउँथ्यो ।   

अर्थहीन क्षमायाचना :  दलाई लामाको हर्कतमा आलोचनात्मक प्रतिक्रिया ओइरिएपछि धर्मगुरुका तर्फबाट उनको समूहले क्षमायाचना गरेको थियो । क्षमायाचनाको अन्तिम पंक्तिमा ‘परमपावन प्रायः निर्दोष तथा चञ्चल ढंगले भेट्ने मानिससँग जिस्किनुहुन्छ र उहाँले यो जिस्काइ सार्वजनिक रूपमा क्यामेराका अगाडि पनि प्रदर्शन गर्नुहुन्छ । यस घटनाका लागि परमपावनले खेद व्यक्त गर्नुभएको छ,’ लेखिएको थियो । सीमा नाघेको अवस्थामा उनको हर्कतलाई ‘निर्दोष तथा चञ्चल’ व्यवहार भनेर सजिलै लेखिएको छ । 

पूजनीय भनिएका व्यक्तिले गरेकै कारण दुव्र्यवहारलाई कुनै पनि स्पष्टीकरण वा व्याख्यान प्रस्तुत गरेर जायज ठह¥याउन वा माफी दिन सकिँदैन
 

दलाई लामाको हेराइ र छुवाइमा सिकारी प्रवृत्ति झल्किन्छ । यदि तपाईं लामाको भिडियोलाई सूक्ष्म ढंगले केलाएर हेर्नुहुन्छ भने लामाको भावभंगी निःसन्देह दोहनकारी देखिन्छ । लामाले निरन्तर एवं अनावश्यक रूपमा बालकको अनुहार र शरीरलाई छुन्छन् । यो छुवाइलाई कुनै हालतमा हलुका मनले गरेको अन्तर्क्रियाका रूपमा प्रस्तुत गर्न सक्नुहुन्न । यहाँ बालक निःसन्देह शोषणमा परेका छन् । 

लामाको समर्थन वा बचाउमा धेरैले जिब्रो बाहिर निकाल्नु तिब्बती अभिवादन हो भन्ने दलिल पेस गरिरहेका छन् । यो दलिल सिकागो विश्वविद्यालय बर्कलेको वेबसाइटमा राखिएको पोस्टमा आधारित छ । तर, यहाँनेर जिब्रो निकाल्नु र कसैलाई जिब्रो ‘चुस्न’ लगाउनु फरक हो भनेर बुझ्न जरुरी छ । भारतको हिमाचल प्रदेशमा लामो समयदेखि बस्दै आएका लामाले देशअनुसारको भेषलाई मनन गर्नुपर्ने हो । किनभने, हिमाचल प्रदेशका जनता पहिलो भेटमा एक–अर्कालाई जिब्रो देखाएर अभिवादन गर्दैनन् । वास्तवमा लामाले जे गरे, त्यो अस्वीकार्य हर्कत हो । 

तिब्बती संस्कृतिलाई दलिल बनाएर दलाई लामालाई जोगाउन खोज्दै गर्दा अर्को दलिल सतहमा आएको छ । अर्थात् लामाको गल्ती नै देख्न नचाहनेले ल्याएको दोस्रो बहानाअनुसार ८७ वर्ष पुगेका वृद्ध होसोहवासमा थिएनन् । अमेरिकाका पहिलोपुस्ते बौद्ध धर्मावलम्बी एवं लामाका अनुयायीले एलिफेन्ट जर्नलमा यस घटनालाई लिएर एक लेख लेखेका छन् ।

लेखमा ‘केहीले भनेझैँ उनमा डिमेन्सिया (बिर्सिने रोग) का लक्षण देखिँदै छन्, अर्थात् अस्वीकार्य व्यवहार जब सामान्य हुन थाल्छ, तब यो रोग हो भन्न सकिने अवस्था हुन्छ’ भनिएको । लेखमा उनी आफू किंकर्तव्यविमूढ भएको जनाउँछन् । ‘न म उनलाई खारेज गर्न सक्छु, न म उनको प्रतिरक्षा नै गर्न सक्छु’ उनी लेख्छन् । 

यदि लामाको उमेरले उनलाई न्यूनतम मानवीय व्यवहारसमेत गर्न दिँदैन भने उनलाई ठूलो दर्शकदीर्घाअघि सम्बोधन गर्न दिनु हानिकारक हुनेछ । अर्थात् सार्वजनिक समारोहमा उनी हिंसा गर्न सक्षम छन् । तसर्थ वृद्ध भए, त्यही भएर हिंसा गरे भन्ने तर्क बेतुके छ ।

वृद्ध एवं शक्तिशाली पुरुषले सार्वजनिक रूपमै बाल यौन दुव्र्यवहार गर्न सक्छन् । हामीले दलाई लामालाई एक ८७ वर्षीय बृहत् रूपमा सम्मानित पुरुषका रूपमा मात्रै हेर्नुहुन्न । सम्मानजनक व्यक्तित्वका अलावा उनी त्यस्ता व्यक्ति पनि हुन्, जोसँग कैयौँ डराउँछन् । द न्यु इन्डियन एक्सप्रेसद्वारा प्रकाशित एउटा लेखमा उल्लेख गरिएझैँ ‘...बाल यौन दुर्व्यवहारका पीडित शक्तिशाली वयस्कको यौन दुर्व्यवहारको चपेटामा पर्नु गम्भीर आघात हो भन्ने बताउँछन् ।’ तसर्थ कुनै पनि नाबालिगका लागि सार्वजनिक रूपमा धर्मगुरुजस्तो शक्तिशाली व्यक्तिबाट शारीरिक दुव्र्यव्यहारको चपेटामा पर्नु भयावह अवस्था निम्तिनु हो । र, यी दुर्व्यवहारलाई स्विकार्दा र यसमा थपडी बजाउँदा जवाफदेही हुनुपर्ने व्यक्तिलाई थप हिंसा गर्न प्रोत्साहन मिल्छ । 

दलाई लामाले ‘घटनालाई लिएर खेद व्यक्त’ गरे पनि र माफी मागे पनि लामाको व्यवहार अत्यन्त अस्वीकार्य थियो भन्नैपर्छ । पूजनीय भनिएका व्यक्तिले गरेकै कारण दुर्व्यवहारलाई कुनै पनि स्पष्टीकरण वा व्याख्यान प्रस्तुत गरेर जायज ठहर्याउन वा माफी दिन सकिँदैन ।

(डन्डोना एसओएएसमा क्षेत्र अध्ययन विषयमा स्नातक गरिरहेकी छिन्) वुमन्स वेबबाट
 

सुझावित समाचार