वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको संस्था नेपाल बैंकर्स संघले वैशाखदेखि लागू हुने गरी निक्षेपमा ब्याजदर घटाउने सहमति गरेका छन् । बुधबार बसेको संघको बैठकले यस्तो निर्णय गरेको संघका कार्यकारी निर्देशक अनिल शर्माले बताए । सहमतिअनुसार व्यक्तिगत मुद्दतीको हकमा ९.९९ प्रतिशत र संस्थागत मुद्दतीमा ७.९९ प्रतिशत कायम भएको छ । हालसम्म मुद्दतीतर्फ ११ प्रतिशत ब्याजदर कायम छ । जसमा १.०१ प्रतिशत बिन्दुका दरले घटाउने निर्णय भएको हो ।
त्यस्तै, वचतको ब्याजदर समेत घटाइएको छ । बचतमा न्यूनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत कायम गर्ने निर्णय भएको शर्माले जानकारी दिए । कल निक्षेपमा बचतको तल्लो सीमाको ५० प्रतिशत हुने गरी ब्याजदर कायम गर्ने निर्णय भएको छ । अहिले बचतमा बैंकहरूले ६ देखि आठ प्रतिशत ब्याजदर दिँदै आएका छन् ।
राष्ट्र बैंकले अघिल्लो माहिनामा बैंकले बचत वा मुद्दती निक्षेपमा दिँदै आएको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशतले निक्षेपको ब्याजदर घटाउन वा बढाउन पाइने व्यवस्था गरेको छ । सोही सीमाभित्र रहेर निक्षेपको ब्याजदर घटाएको बैंकर्स संघले जनाएको छ ।
यस्तै, व्यक्तिगत मुद्दती निक्षेपमा भन्दा संस्थागत मुद्दती निक्षेपको ब्याजदर दुई प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा आए पनि राष्ट्र बैंकले साधारण बचत र मुद्दतीमा भन्दा रेमिट्यान्स खातामा न्यूनतम एक प्रतिशत ब्याजदर बढी दिनुपर्ने व्यवस्था छ । साहीअनुसार रेमिट्यान्स निक्षेपमा बैंकहरूले १०.९९ प्रतिशत र रेमिट्यान्स बचत खातामा ८.४ प्रतिशत ब्याजदर दिनुपर्नेछ ।
निक्षेप बढ्दा ब्याजदर सस्तियो : बैंकर
पछिल्लो समय बैंकहरू निक्षेप संकलनमा भएको वृद्धिका कारण ब्याजदर घटाउनुपरेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बताए । खासगरी रेमिट्यान्स आप्रवाहमा उच्च वृद्धि हुँदै गइरहेको र संस्थागत निक्षेपबाट उठ्ने ब्याज रकमसमेत थपिँदै जाँदा निक्षेप संकलनमा सुधार आएको उनको भनाइ छ ।
राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदरबीचको औसत अन्तर ४.४ प्रतिशतबाट चैतमा ४.२ प्रतिशत हुँदै असारमा चार प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेकाले यसलाई समायोजन गर्न पनि बैंकहरूले कर्जाको ब्याजदर घटाउँदै लैजानुपर्ने हुन्छ ।
नेपाल बैंकर्स संघका अनुसार गत असारसम्म ४५ खर्ब ४१ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरूले चैत २४ सम्ममा ४७ खर्ब ९४ अर्ब निक्षेप संकलन गरेको थियो । राष्ट्र बैंकका अनुसार मंगलबारसम्ममा निक्षेप ४८ खर्ब पुगेको छ । तर, कर्जा लगानीमा भने उल्लेख्य वृद्धि छैन । गत असारसम्म ४१ खर्ब ७५ अर्ब कर्जा लगानी गरेका बैंकहरूले मंगलबारसम्म आइपुग्दा ४२ खर्ब ८१ अर्ब मात्रै लगानी गरेका छन् ।
निक्षेप वृद्धिदरको तुलनामा कर्जा लगानी कमजोर भएपछि निक्षेपको ब्याजदर घटाउनुपर्ने अवस्था आएको हो । खालिङले भने, ‘संस्थागत निक्षेपको ब्याजबापतको रकम बढ्दा निक्षेप बढ्न थालेको छ । संस्थाहरूले ब्याजबापत आम्दानी गर्ने रकम निक्षेपमै राख्ने गर्छन्, जसले गर्दा निक्षेप बढ्दै गएको छ । तर, त्यसअनुसार कर्जाको माग छैन । त्यसो हुँदा बैंकहरूको खर्च बढेको छ । तर, कर्जा प्रवाह नहुँदा समस्या भएको छ । यो वेला निक्षेपमा बढी ब्याज दिन चुनौती हुन्छ । त्यसैले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका हौँ ।’
लगानीयोग्य तरलता बढ्दै गए पनि कर्जाको माग सोहीअनुसार नहुँदा निक्षेपको ब्याजदर घटाउनुपरेको उनको भनाइ छ । कर्जाको ब्याजदर महँगिँदै जाँदा बजारमा आर्थिक गतिविधि सुस्त छ । खालिङका अनुसार भइरहेकै उत्पादन बिक्री हुन नसक्दा कर्जाको माग बढ्न सकेको छैन । तर, उनले ब्याजदर बढेकै कारण यस्तो समस्या नआएको जिकिर गरे । उनले अहिले समस्यामा परेका व्यवसायीलाई राहत दिने उद्देश्यले पनि ब्याजदर घटाएको बताए ।
अब कर्जाको ब्याजदर पनि केही सस्तिने अवस्थामा छ । माघदेखि चैतसम्म घटेको निक्षेपको ब्याजदरका आधारमा बेस रेट जति घट्छ सोही अनुपातमा १ वैशाखदेखि कर्जाको ब्याजदर घट्नेछ । तर, आगामी १ वैशाखदेखि निक्षेपको ब्याजदर घटे पनि यसको प्रभावअनुसार कर्जाको ब्याजदर घट्न भने साउनसम्म कुर्नुपर्नेछ ।
राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदरबीचको औसत अन्तर ४.४ प्रतिशतबाट चैतमा ४.२ प्रतिशत हुँदै असारमा चार प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेकाले यसलाई समायोजन गर्न पनि बैंकहरूले कर्जाको ब्याजदर घटाउँदै लैजानुपर्ने हुन्छ ।
कर्जाकै ब्याजदर एकल अंकमा आउनुपर्यो
राजेन्द्र मल्ल, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
बैंकहरूले बजारको अवस्था हेरेर जसरी ब्याजदर घटाउने क्रम सुरु भएको छ, यसले केही हदसम्म निजी क्षेत्रको आत्मशक्ति वृद्धि गर्छ । तर, बैंकहरूले सुका–मोहरमा मात्रै ब्याजदर घटाउँदै लगिरहेका छन्, हामीलाई नगदमा चाहिएको छ । एकल अंकको ब्याजदर निक्षेपमा मात्र होइन, अब लगानीमै आउनुपर्छ । उबेलामा ५–६ प्रतिशतमा लिएको ब्याजदर १५–१६ प्रतिशत नाघेको अवस्था छ । अहिले ब्याजदर घटाउने विषयमा सरकार जसरी सकारात्मक देखिएको छ, त्यसरी वित्तीय संस्थाहरू पनि लाग्नुपर्छ ।
कर्जा प्रवाह नहुँदा समस्या भएको छ
सुदेश खालिङ, प्रमुख कार्यकारी अधिकृत, एभरेष्ट बैंक
बजारको मागअनुसार ब्याजदर नै घटाइएको हो । अहिले बैंकहरूमा निक्षेप आउन थालेको छ । विशेषगरी, रेमिट्यान्स बढ्दा र संस्थागत निक्षेपको ब्याजबापतको रकम बढ्दा निक्षेप बढ्न थालेको छ । संस्थाहरूले ब्याजबापत आम्दानी गर्ने रकम निक्षेपमै राख्ने गर्छन्, जसले गर्दा निक्षेप बढ्दै गएको छ । तर, त्योअनुसार कर्जाको माग छैन । त्यसो हुँदा बैंकहरूको खर्च बढेको छ । तर, कर्जा प्रवाह नहुँदा समस्या भएको छ । यो वेला निक्षेपमा बढी ब्याज दिन चुनौती हुन्छ । त्यसैले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका हौँ ।