सिन्धुलीमा भारतीय कार दुर्घटना : मृतक चारैजनाको सनाखत

बुधबार, २९ चैत, २०७९
डिजिटल संस्करण

सिन्धुलीमा गएराति भएको भारतीय कार दुर्घटनामा मृतक चारैजनाको परिचय खुलेको छ। 

मृत्यु हुनेमा भगवती स्थान ९, मन्दिपुरसारी मस्तिपुर वारिसनगर भारत बिहारका नागरिक रहेका छन्। कारमा सवार पाँचमध्ये एकजना घाइते भएका छन्।

दुर्घटनामा घाइते ४७ वर्षीय धर्मेन्द्रकुमार सोनीलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएको र प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए। 
 
दुर्घटनामा घाइते भएका ३२ वर्षीय अभिषेक ठाकुरको सिन्धुली अस्पतालमा मृत्यु भएको छ। राति १२ः३० बजेको समयमा भएको दुर्घटनामा घाइते दुईजनालाई उद्धार गरी आज बिहान उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएकोमा ठाकुरको सोही अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए। 

उक्त दुर्घटनामा अरू तीनजनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी उपरीक्षक सिलवालको भनाइ थियो। मृत्यु हुनेमा ४२ वर्षीय राकेशकुमार सिं, ३६ वर्षीय मनु सिं र ३२ गवर सिं छन्।

सिन्धुली हुँदै काठमाडौंतर्फ जाँदै गरेको बिआर ०६ डिडी ०६८७ नम्बरको भारतीय कार अनियन्त्रित भएर बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका– ३ सिन्धुलीगढीनजिकै दुर्घटना भएको थियो। कार सडकबाट पाँच सय फिट तल खसेको थियो। 

अहिले शव घटनास्थलबाट सडकमा निकालेर शववाहनबाट सिन्धुली अस्पताल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले शव घटनास्थलबाट निकालेको थियो। दुर्घटना भिरमा भएका कारण उद्धार टोलीले कठिन तरिकाले शव निकालेको प्रहरी उपरीक्षक सिलवालले बताए। 

भिरमा भएको दुर्घटनामा उद्धार गर्न गएका केही प्रहरीसमेत भिरबाट खसेको ढुंगाले लाग्दा सामान्य घाइते भएका थिए। कारमा सवार व्यक्ति धार्मिक यात्राका लागि नेपाल आएको बताइएको छ। रासस 

सुझावित समाचार