केडिया अर्गनाइजेसनका अध्यक्ष ताराचन्द केडियालाई ‘ईश्वरलाल लाइफ टाइम अचिभमेन्ट’ अवार्डद्वारा सम्मानित गरिएको छ । केडियालाई नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७२औँ वार्षिक साधारणसभाको अवसरमा सम्मानित गरेको हो ।केडियाले देशको उद्योग र व्यापार क्षेत्रको विकास तथा विस्तारमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउन गरेको योगदानको कदर गर्दै पुरस्कृत गरिएको चेम्बरले जनाएको छ । केडियालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मानित गरेको जनाइएको छ ।
केडियाले अनर्सका साथ स्नातक उत्तीर्ण गरेको अर्गनाइजेसनले जनाएको छ । उनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, प्रुडेन्सियल इन्भेस्टमेन्ट प्रालि, प्रुडेन्सियल डेभलपर्स प्रालि र वृज सिमेन्ट प्रालिका पनि अध्यक्ष रहेको उल्लेख छ । त्यस्तै, गुराँस सिमेन्ट, म्याग्ना कर्पोरेसन सेक्युरिटिज र श्री स्टिल इन्डस्ट्रिज प्रालिका साथै अन्य व्यवसायहरूमा पनि संलग्न रहेको उल्लेख छ ।
यसअघि उनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष रहिसकेको अर्गनाइजेसनले जनाएको छ । केडिया शंकरलाल केडिया सेवा फाउन्डेसन, डिएभी केडिया स्कुल, एसयलके डेन्टल केयर सेन्टर तथा विभिन्न सामाजिक संस्थाका अध्यक्ष र आरएम केडिया आँखा अस्पताल, सुशील केडिया सेवा फाउन्डेसन र एमबी केडिया सेवा ट्रस्टका संरक्षक पनि रहेका छन् । यस संस्थाले सामाजिक क्षेत्रमा समेत उत्तरदायित्व बहन कार्यक्रमअन्तर्गत महत्वपूर्ण सहयोग गरी राष्ट्र निर्माणमा योगदान गर्दै आएको उल्लेख गरेको छ ।