काठमाडौं महानगरको कल सेन्टरमा ‘फेक कल’ले हैरानी

बुधबार, २९ चैत, २०७९
डिजिटल संस्करण

मंसिरसम्म दैनिक तीन सय फोन आउने गरेकामा अचेल ४० वटा मात्रै

आइतबार दिउँसो राष्ट्रिय सभागृहस्थित महानगरको कल सेन्टरमा रिसिभ कलको रिङटोन बजिरहेको छ । सेन्टरकी कल रिसिभर सरिता रिजालले एउटा फोन कल रेस्पोन्स गरिन्– हेलो महानगर कल सेन्टर । उनले फोन उठाएपछि उताबाट कल गर्नेको आवाज आएन । कसैले फोन गरेर होल्डमा राखिदिएको थियो । त्यसपछि रिजालले पनि फोन काटिन् । 

रिजालले फोन काट्नेबित्तिकै फेरि घन्टी बज्यो । एउटै नम्बरबाट फेरि फोन आयो । तर, यसपटक रिजालले त्यो कल काटिन् । फोन काट्नेबित्तिकै फेरि त्यही नम्बरबाट फोन आयो । काठमाडौं महानगरको कल सेन्टरमा अचेल चाहिनेभन्दा नचाहिने फोन कलले सताउँछ । ९७४९८१२९२२ नम्बरबाट त हैरानै पार्ने गरी फोन आउँछ । फोनमा न त कुनै गुनासो राख्छन्, न त समस्या नै । खालि फोन गरेर परिचय सोध्ने र होल्डमा राखिदिने गर्छन् ।

यो फोन कहाँबाट कसले गरेको हो भन्ने कल रिसिभर रिजाललाई थाहा छैन । कुनै–कुनै वेला फोन गरेर बोल्ने, तर कुनै वेला होल्डमा राखिदिँदा आफूहरूलाई फोन उठाउनको मात्रै सास्ती हुने गरेको उनको गुनासो छ । ‘एउटै नम्बरबाट बारम्बार फोन आएर हैरान हुन्छ, जिस्क्याउन र सताउन फोन गरिराख्छन्,’ रिजालले भनिन्, ‘अति सताएपछि नम्बर पत्ता लगाउन प्रहरीलाई जानकारी गराएका छौँ ।’ उनले चारवटा नम्बरबाट दैनिक २५ पटकभन्दा बढी फेक कल आउने गरेको सुनाइन् । 

काठमाडौं महानगरले गत असारदेखि सुरु गरेको कल सेन्टरमा अहिले फेक कलको बिगबिगी छ । कसैले अनावश्यक कुरा गर्न फोन गर्ने र कसैले अवरोध गर्न फोन गरेकाले कल रिसिभरहरूलाई समेत दिक्क लाग्न थालेको छ । महानगरको कल सेन्टरमा हाल तीनवटा ल्यान्डलाइन फोन छन् । हटलाइन नम्बर १६६००१०५५११ र ११८० महानगरले सेवाग्राहीको गुनासो र समस्या सुन्न २४ सै घन्टा खुला गर्छ । तर, सेवाग्राहीको गुनासो र समस्या सुन्न राखिएको फोनमा अचेल समस्या निकै कम आउने गरेका छन् । फाल्तु कलले हैरान पार्ने गरेको छ । 

कल सेन्टर शाखामा हाल दैनिक ४० वटासम्म कल आउँछन् । यो कल रिसिभ गर्न तीनजना कर्मचारीसमेत छन् । कल सेन्टर शाखाले अद्यावधिक गरेको तथ्यांकअनुसार हालसम्म दुई हजार २९ वटा फोन कल आएका छन् । यसमध्ये दुई हजार दुई सय २० वटाभन्दा बढी समस्या समाधान भएको कल सेन्टर शाखाको दाबी छ । कल सेन्टरले समस्या वा गुनासो लिइसकेपछि त्यसको रेस्पोन्स भए–नभएको समेत रेकर्ड राख्ने गरेको छ ।  

महानगरको कल सेन्टरमा झुक्याउने फोन कलको पनि बिगबिगी छ । कतिपयले सामान्य समस्याका लागि कल गर्ने गरे पनि कतिपयले भने गलत सूचना दिएर झुक्याउँछन् । शुक्रबार त्यस्तै भयो । चाबहिलका एक स्थानीयले फोन गरेर मेलम्चीको पाइप फुटेर सडक जलमग्न भएको जानकारी गराए । कललगत्तै महानगरको कल सेन्टर रेस्पोन्स टोली त्यहाँ पुग्यो । तर, त्यहाँ पुग्दा सडकमा पाइप नै फुटेको थिएन । यसरी नै कर्मचारीलाई दुःख दिने नियतले कल सेन्टरमा दिनहुँ फोन आउँछन् । यस्ता प्रकारका झुक्याउने फोन आउँदा कतिपय सत्य घटना र समस्यालाई पनि रेस्पोन्स गर्न चुनौती भइरहेको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । उनका अनुसार कतिपयले मेयरलाई भेट्न समय मिलाइदिन, कतिपयले मेयरलाई गाली गर्न, झुक्याउन पनि फोन गर्छन् भने कतिपयले वास्तविक समस्या राख्न फोन गर्छन् । 

कल सेन्टरमा मेलम्चीको पानी फुटेको, सडक धुलाम्य भएको, ठेलागाडा र पेटीमा व्यापार थापेर अवरोध गरेको, खानेपानीमा फोहोर आएकोलगायत समस्यासँग सम्बन्धित फोन आउने गर्छन् । आइतबार शंखमूलका शम्भु ढुंगानाले ढल फुटेर सडकमा फोहोर भएको भन्दै कल सेन्टरमा जानकारी गराएका थिए । त्यसलगत्तै महानगरको टोली त्यहाँ पुगेको थियो ।

त्यस्तै, गोंगबु क्षेत्रमा अलकत्रा पकाउन आगो बाल्दा त्यसको धुवाँ र गन्धले सास फेर्न गाह्रो भएको भन्दै गोंगबुका उमेशराज लवटले फोन गरेका थिए । उनको फोनका आधारमा महानगरको वातावरण विभागको टोली त्यहाँ पुगेको थियो । महानगरले कल सेन्टरमा आएको फोनको समस्या समाधान गर्न सफ्टवेयर सिस्टम नै बनाएको छ । त्यसमा आएको कलको आफैं रेकर्ड हुन्छ । रेकर्ड भएको अडियो र फोन गर्ने व्यक्तिको विवरण समस्यासँग सम्बन्धित शाखाको सफ्टवेयर सिस्टममा पठाइन्छ । सोही आधारमा समस्या समाधान हुने गर्छ । महानगरले समस्याका आधारमा सम्बन्धित विभागलाई समस्या समाधान गर्न तोकेको छ ।

फुटपाथ भए नगर प्रहरी, सडक पूर्वाधार भए पूर्वाधार विभाग, फोहोरसँग सम्बन्धित समस्या भए वातावरण विभाग, घर नक्सासँग सम्बन्धित समस्या भए नक्सा तथा सहरी विकास विभाग, शिक्षा र स्वास्थ्यसँग सम्बन्धित समस्या भए सोही विभागलाई समस्या समाधान गर्न जिम्मेवारी तोकिएको छ । यदि वास्तविक समस्या छ भने कल गर्ने व्यक्तिको विवरण मागेर उसलाई फोन गरेर महानगरको टोली समस्या भएको ठाउँमा पुग्ने गरेको प्रवक्ता मानन्धरको भनाइ छ । ‘कल सेन्टरमा थरीथरीका फोन आउँछन्, कतिपयले वास्तविक समस्या राख्न फोन गर्छन् भने कतिपयले दुःख दिन र झुटो सूचना दिन पनि फोन गर्ने गरेका छन्,’ उनले भने, ‘सूचनाको गम्भीरताका आधारमा हामी रेस्पोन्स गर्छौँ ।’ उनका अनुसार आइतबार ४० जनाले फोन गरेर समस्या र गुनासो राखेका थिए । 

मेयरमा निर्वाचित भएलगत्तै बालेन्द्र साहले सुरु गरेको कल सेन्टर अचेल प्रभावविहीन बन्दै गइरहेको छ । थोरै फोन आउने र दिउँसोको समयमा मात्रै गुनासो र समस्या सुनुवाइ हुने हुँदा कल सेन्टर प्रभावकारी हुन सकेको छैन । हाल महानगरको कल सेन्टरमा कार्यालय समयमा मात्रै फोन उठ्ने गर्छ । यसअघि असोजसम्म चौबिसै घन्टा फोन उठाउने भए पनि त्यसयता भने कार्यालय समयमा मात्रै कल रिसिभ हुने गरेको छ । यसअघि रातिको समयमा स्वास्थ्यका कर्मचारी बस्ने भएकाले त्यतिवेला कल रेस्पोन्स भएको थियो । तर, त्यसयता भने महानगरले कल उठाउन छुट्टै कर्मचारी राखेको छैन । जसकारण कार्यालय समयबाहेक अन्य समयमा कल सेन्टरमा आएको फोन उठ्दैन । 

सुझावित समाचार