चीनको हाङझावमा सेप्टेम्बर २३ देखि ८ अक्टोबरसम्म १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड) आयोजना हुँदै छ । समयमै बजेट निकासा नहुँदा नेपाली खेलाडीहरूको एसियाडको प्रशिक्षण प्रभावित बनेको छ । अर्थ मन्त्रालयले मंगलबार एसियाडका लागि दुई करोड उपलब्ध गराएको छ । अर्थ मन्त्रालयबाट बजेट आएसँगै नेपाली खेलाडीको तयारी सुरु हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नयाँ पत्रिकालाई जानकारी दिएका छन् । यसअघि, परिषद्ले एसियाडको तयारीका निमित्त बजेट निकासा गर्न अर्थ मन्त्रालयलाई बारम्बार ताकेता गरेको थियो ।
‘अर्थ मन्त्रालयबाट हामीलाई दुई करोड रुपैयाँ प्राप्त भएको छ, अब एसियाडको तयारीका लागि घडीको सुइ घुमेको भन्नुपर्छ,’ सदस्यसचिव घिसिङले भने, ‘अब हामी विभिन्न योजना बनाएर प्रशिक्षणको खाका बनाउँछौँ ।’ पूर्वनिर्धारित कार्यक्रमअनुसार एसियाड गत वर्ष हुनुपर्ने थियो । चीनमा कोभिड–१९ को लहर चलिरहँदा आयोजकले २४ वैशाख ०७९ मा १९औँ एसियाड एक वर्षपछि गर्ने घोषणा ग¥यो । घोषित समयभन्दा १९औँ एसियाड एक वर्षपछि हुन लागेको हो । परिषद्ले गत वर्ष एसियाडमा सहभागिता जनाउन छनोटदेखि तयारीसमेत गरेको थियो । खेलाडीलाई विभिन्न चरणमा प्रशिक्षणमा सहभागी गराइएको थियो ।
चीनले एक वर्षपछि एसियाड आयोजना गर्ने घोषणा गर्दा नेपालको सबै तयारी व्यर्थ भयो । थप एक वर्ष एसियाडको तयारी समय पाउँदा प्रभावकारी रूपमा खेलाडीले प्रशिक्षण गर्न पाएनन् । यसको मुख्य कारण नै बजेट मानिएको छ । ‘बजेटकै कारण एसियाडको तयारी राम्रोसँग नभएको हो, अब दुई करोड उपलब्ध भएपछि त्यसैबाट एसियाडको तयारी सुरु गर्छौं,’ सदस्यसचिव घिसिङले भने, ‘अर्थ मन्त्रालयबाट बाँकी रहेको रकम निकासा हुने विश्वास छ ।’ यसअघि अर्थ मन्त्रालयले एसियाडको तयारी शीर्षकमा १० करोड रुपैयाँ विनियोजन गरेको थियो ।
गत माघमा अर्थ मन्त्रालयले विभिन्न शीर्षकमा छुट्याइएको बजेट कटौती गरेको थियो । यसको असर सीधै एसियाडको तयारीमा पर्यो । परिषद् र नेपाल ओलम्पिक कमिटी (एनओसी)ले १९औँ एसियाडको तयारी गत माघदेखि नै हुनुपर्ने जोड नगरेको होइन । परिषद्को हाई प्रोफाइल कमिटीले पनि गत माघदेखि नै एसियाडको तयारी हुनुपर्ने सुझाव दिएको थियो ।
१८औँ एसियाडमा नेपाल २९ खेलमा सहभागी
सन् २०१८ मा इन्डोनेसियाको जकार्तामा भएको १८औँ एसियाडमा नेपालले २९ खेलमा भाग लियो । नेपालले एसियाडमा सबैभन्दा धेरै २९ खेलमा सहभागिता जनाएको नै जकार्ता एसियाड थियो । नेपालबाट १८७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालले प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्रीमा ऐतिहासिक रूपमा रजत पदक जित्यो । एसियाडमा डेब्यु खेलमै नेपालले ऐतिहासिक रजत जित्दा विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा नायक रहे । यसअघि सन् १९९८ को बैंकक एसियाडमा नेपालले तेक्वान्दोमा सविता राजभण्डारीले रजत पदक दिलाएकी थिइन् ।
एसियाडको तयारी ढिला
एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले एसियाडको तयारी ढिलो भइसकेको बताएका छन् । ‘हामीले दश महिनाको लक्ष्य राखी गत माघदेखि नै तयारी हुनुपर्छ भनी सम्बन्धित निकायलाई सुझाव दिएका थियौँ,’ एनओसीका महासचिव श्रेष्ठले भने, ‘अहिले हामीसँग एसियाडको तयारीका निमित्त मुस्किलले पाँच महिना समय छ ।’ अर्थ मन्त्रालयले उपलब्ध गराएको दुई करोड रुपैयाँ पर्याप्त नभएको श्रेष्ठको भनाइ रहेको छ । ‘हाम्रो माग दश करोड हो, अहिले दुई करोड आएको छ, यसले फुल फेजमा तयारी गर्न सकिँदैन,’ श्रेष्ठले भने, ‘एकैपटक आउँदा सबै खाका बनाउन सकिन्छ ।’ परिषद्का सदस्यसचिव घिसिङले बजेट निकासा भएसँगै तयारीमा फोकस हुने जनाए । ‘हामी अब फोकस भएर अगाडि बढ्छौँ,’ उनले भने ।
खेलाडी संख्या अझै अनिश्चित
नेपालले सहभागी खेलाडी संख्यालाई अन्तिम रूप दिएको छैन । परिषद्ले अहिले २३ खेलमा नेपालले सहभागिता जनाउने भनिएको छ । तर, कुन–कुन खेलमा कति संख्यामा खेलाडी हुने निर्णय भइसकेको छैन । नेपालको १९औँ एसियाडमा खेलाडी संख्या निश्चित नभएको पक्षमा एनओसीका महासचिव श्रेष्ठले चिन्ता देखाएका छन् । ‘अहिलेसम्म खेलाडी संख्या निश्चित भइसक्नुपर्ने थियो, तर कतिजना खेलाडी एसियाडमा जाने भन्ने फाइनल भएको छैन,’ श्रेष्ठले भने ।
एसियाडमा खेलाडी संख्या धेरै हुने भएकाले हाल प्राप्त बजेट पर्याप्त नभएको उनले गुनासो गरेका छन् । ‘खेल र खेलाडी संख्या धेरै हुने भएकाले दुई करोडले कसरी व्यवस्थापन गर्ने भन्ने छ,’ उनले भने, ‘हामीले हाम्रो टार्गेट मिट गर्न गाह्रो छ ।’ परिषद् भने बजेटअनुसार खेल र खेलाडी टुंगो लगाउने तयारीमा छ । परिषद्ले पदक जित्न सक्ने खेललाई प्राथमिकतामा राखी एसियाडमा प्रशिक्षण गराउने लक्ष्य राखेको छ ।
गत वर्ष एसियाडका लागि पहिलो चरणमा २३ खेलबाट पाँच सय १४ खेलाडी छनोट गरिएको थियो । यसमा दुई सय ३० पुरुष र दुई सय ८४ महिला छनोट भएका थिए । राखेपले ६६ प्रशिक्षक चयन गरेको थियो । गत वर्ष तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल (थ्री बाई थ्री), फेन्सिङ, ह्यान्डबल, कबड्डी, टेबलटेनिस, क्रिकेट, भलिबल, ब्याडमिन्टन र सुटिङका खेलाडीले एसियाडको तयारी गरेका थिए । गत वर्ष अर्थ मन्त्रालयले एसियाडको प्रारम्भिक प्रशिक्षणका लागि भनी पाँच करोड रुपैयाँ विनियोजन गरेको थियो ।