शिवप्रसाद घिमिरेद्वारा महासंघको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

मंगलबार, २८ चैत, २०७९
डिजिटल संस्करण

बुधबार हुने उद्योग वाणिज्य महासंघको निर्वाचनमा उद्योगी शिवप्रसाद घिमिरेले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । यसअघि एक कार्यकाल केन्द्रीय सदस्य भइसकेका घिमिरेले महासंघको वस्तुगत समितिमार्फत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् । यो समूहबाट एक उपाध्यक्षसहित १४ जना केन्द्रीय सदस्य निर्वाचित हुने प्रावधान छ । घिमिरेलाई ग्यास उद्योग संघका तर्फबाट मनोनयन गरिएको छ । उनी संंघको पूर्वअध्यक्ष हुन् । 

घिमिरेले वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठको प्यानलबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको जानकारी दिए ।

पेट्रोलियम तथा ग्यास उद्योगमा घिमिरेको मुख्य लगानी छ । उनी सबैभन्दा धेरै ग्यास उद्योगका सञ्चालकसमेत हुन् । उनको स्वामित्वमा एभरेष्ट, त्रिशूल, प्रिमा, सैपाल, सहारा, सुगम र कामख्या गरी सात ग्यास उद्योग छन् । त्यस्तै सुनसरी, बारा र काठमाडौंमा गरी पाँचवटा पेट्रोल पम्प सञ्चालन गरिरहेका छन् ।

उनी निर्यातमूलक कत्था उत्पादक संघको अध्यक्षसमेत हुन् । उनले सिन्धुलीमा चुनढुंगा खानी रहने गरी गरुड सिमेन्ट उद्योग सञ्चालनको प्रक्रिया सुरु गरेका छन् । उनको लगानीमा बझाङ, संखुवासभा र भोजपुरमा पाँचवटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् ।

उनले नेपालमै विद्युतीय सवारीसाधनको उत्पादन गर्ने उद्देश्यले बारामा प्लान्ट निर्माण प्रक्रियासमेत अघि बढाइसकेका छन्। उनको व्यापार, उत्पादन–निर्माण, जलविद्युत्, पेट्रोलियम, सेवा, कृषि र बैंकिङ क्षेत्रमा गरी कुल ३९ वटा उद्योग, व्यवसाय छन् । घिमिरेले महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै देशको अर्थतन्त्र सबलीकरणमा योगदान गर्ने र निजी क्षेत्रको मनोबल वृद्धि गर्ने उद्देश्य राखेको बताए ।

सुझावित समाचार