अटोमोबाइलका समस्या सम्बोधन गर्ने अर्थमन्त्रीको आश्वासन

मंगलबार, २८ चैत, २०७९
डिजिटल संस्करण

अटोमोबाइल व्यवसायीहरूका समस्या सम्बोधनका लागि नेपाल राष्ट्र बैंकसँग छलफल गर्ने अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । अटोमोबाइल व्यवसायमा परेका समस्याहरू आगामी आर्थिक वर्षको बजेट सुझावमा समावेश गरी पठाए समाधानका लागि प्रयास गरिने उनको आश्वासन थियो । 

नाडा अटोमोबाइल एसोसिएसनको प्रतिनिधिमण्डलले आइतबार अर्थमन्त्री महतलाई भेटेर अटोमोबाइल क्षेत्रका समस्याबारे जानकारी गराएको थियो । अटोमोबाइल व्यवसायीले विद्युतीय सवारीसाधनको उत्पादन र बिक्रीमा यथोचित ध्यान दिनका लागि अर्थमन्त्री महतले आग्रह गरेका थिए । नाडाका अध्यक्ष ध्रुव थापाले विद्युतिय सवारीसाधनको प्रयोगलाई प्रोत्साहित गर्न त्यसमा लाग्ने भन्सार तथा अन्तःशुल्क महसुलमा थप छुट दिन अनुरोध गरे । 

छलफलका क्रममा अध्यक्ष थापाले सवारीसाधनलाई विलासिताको वस्तुको सूचीबाट हटाउन अर्थमन्त्रीसँग आग्रह गरे । अटो लोन–हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा अर्थात् ७५ प्रतिशत नै कायम गरिनुपर्नेमा उनको जोड थियो ।

‘भाडामा चल्ने सार्वजनिक महत्वका सवारीसाधन आमसर्वसाधारण जनताले प्रयोग गर्ने र त्यसले उनीहरूको दैनिक जीवनमा समेत प्रभाव पार्ने भएकाले त्यस किसिमका भाडामा चल्ने सार्वजनिक महत्वका सवारीसाधनमा लाग्ने भन्सार तथा अन्तःशुल्क महसुल घटाउनुपर्छ,’ उनको सुझाव थियो ।

अहिले अटोमोबाइल स्पेयर पार्टसको चोरी–पैठारी निकै बढेको जानकारी गराउँदै अध्यक्ष थापाले त्यसको रोकथाम गर्न सकिए राजस्व पनि बढ्ने सुझाव दिए ।  सार्वजनिक महत्वका सवारी तथा ढुवानीका साधनहरू डिजेलबाट चल्ने र हाल डिजेलको भाउ उच्च विन्दुमा पुगेका कारण त्यसको प्रत्यक्ष नकारात्मक प्रभाव बजारमा परेकाले डिजेलबाट चल्ने सवारी तथा ढुवानीका साधनहरूमा लाग्ने महसुल घटाउन नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले अर्थमन्त्रीसँग आग्रह गरे ।

सुझावित समाचार