सेयर बजार निरन्तर घटेपछि नियामक निकाय गुहार्दै लगानीकर्ता

मंगलबार, २८ चैत, २०७९
डिजिटल संस्करण

सेयर बजार न्यूनतम विन्दुमा आइपुगेपछि लगानीकर्ता नियामक निकायसमक्ष गुहार माग्न थालेका छन् । गत २० चैतमा अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष सेयर बजार सुधारका ८९ वटा बुँदा माग राखे पनि बजारमा उल्लेख्य सुधारको छनक नदेखिएपछि सोमबार लगानीकर्ताले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई भेटेका छन् । कार्यालयमै पुगेर लगानीकर्ताले १० वटा बुँदासहित आफ्ना माग राखेका छन् ।

गत साता अर्थमन्त्रीले बजार बढाउनका लागि पहल गर्ने र राष्ट्र बैंक, धितोपत्रसमक्ष समन्वय गर्ने बताएका थिए । तर, बजार झनै घट्दोक्रममा रहेकाले लगानीकर्ता नियामक निकायसमक्ष धाइरहेका छन् ।लामो समयदेखि बजार निरन्तर घटिरहेको भन्दै लगानीकर्तालाई मनोवैज्ञानिक र आर्थिक दबाब परेको लगानीकर्ताको भनाइ छ ।

पुँजी बजारकै इतिहासमा सबैभन्दा बढी पुँजीकृत रकम १५ खर्ब रुपैयाँ हाराहारीभन्दा बढी गुमाइसक्दा पनि सम्बन्धित निकाय मौन रहँदा ५५ लाखभन्दा बढी लगानीकर्ता समस्यामा परेको लगानीकर्ताको दाबी छ । लगानीकर्ताले हालै मात्र सर्वोच्च अदालतले रिट खारेज गरेको ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जलाई तत्काल अघि बढाउनुपर्ने, ब्रोकर कमिसन घटाउनुपर्ने र बढीमा शून्य दशमलव १५ प्रतिशतबाट नबढ्ने बनाउन माग गरेका छन् । त्यस्तै, दीर्घकालीन र अल्पकालीन लगानीकर्ताको वर्गीकरण गरी ३ प्रतिशत र ५ प्रतिशत पुँजीगत लाभकर कायम गर्नुपर्ने लगानीकर्ताको भनाइ छ ।

ब्रोकर कम्पनीमार्फत सुरु गर्ने भनिएको मार्जिन ल्यान्डिङ व्यवस्थालाई अविलम्ब सुचारु गर्नुपर्ने, नेपाल राष्ट्र बंैंकले ल्याएको सेयर कर्जाको सीमा १२ करोड लागू गरिएकोमा उक्त १२ करोडको नीतिलाई तत्काल खारेजी गर्न विशेष पहल गर्नुपर्नेलगायत माग राखेका छन् । 

सोमबार नेप्से सूचक सामान्य अंकले बढेर १८ सय ४४ दशमलव शून्य २ विन्दुमा आइपुगेको छ । ९१ करोड रुपैयाँको सेयर कारोबार हुँदा सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सानिमा मिडिल तमोर हाइड्रोपावर रहेकोे छ । उक्त कम्पनीको तीन सय २४ रुपैयाँ ५० पैसामा ६ करोड ६५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

सुझावित समाचार