प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकारको नेतृत्व गरेको सय दिनमा अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७२औँ वार्षिक साधारणसभा एवं चेम्बर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
विदेशी मुद्राको सञ्चिति १० महिनालाई पुग्ने रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले देशको अर्थतन्त्रमा धेरै संकट नदेखिएको जिकिर गरे । बैंकको ब्याजदर घटाउन पनि आफूले प्रयास गरिरहेको उनको भनाइ छ ।
‘गएको सय दिनमा कम्तीमा पनि अर्थतन्त्रमा केही सकारात्मक संकेतहरू छन् । जसरी भन्ने गरिएको छ, संकट छ भनेर अलि बढी नै भन्ने गरिएको छ । त्यस्तो स्थिति देशको अर्थतन्त्रको होइन । विदेशी मुद्राको सञ्चितिको हिसाबले १० महिनाभन्दा बढीलाई पुग्ने सञ्चिति हामीसँग छ । यो सकारात्मक र उत्साहप्रद स्थिति नै हो,’ उनले भने, ‘राजस्व संकलनमा चुनौती छन् । तर, गएको तीन महिनाको रेकर्ड हेर्ने हो भने हामी बिस्तारै प्रगतितिर अगाडि बढिरहेका छौँ ।’