हिन्दू राष्ट्रवादको रणमैदान बन्दै विद्यालयका पाठ्यपुस्तक

सोमबार, २७ चैत, २०७९
डिजिटल संस्करण

भारतको राष्ट्रिय शैक्षिक अनुसन्धान एवं प्रशिक्षण परिषद् (एनसिइआरटी)ले यही अप्रिलमा विद्यालयको पाठ्यपुस्तकबाट मुगल साम्राज्यकालको (यो समयमा भारतमा मुसलमानको शासन थियो) इतिहाससँग सम्बन्धित महत्वपूर्ण पाठ हटाएसँगै पाठ्यपुस्तक हिन्दू राष्ट्रवादको सबैभन्दा पछिल्लो चरणको रणमैदान बनेको छ । 

पाठ्यक्रममा गरिएको परिवर्तनलाई लिएर हालैका दिनमा सामाजिक सञ्जालमा तीव्र आलोचनात्मक प्रतिक्रिया आएका छन् । एनसिइआरटीका पाठ्यपुस्तक पढ्ने भारतका कक्षा १२ का विद्यार्थीले अब सन् १५०० देखि सन् १७०० को मध्यसम्म शासन गरेका मुगल साम्राज्यमा आधारित पाठ पढ्न पाउनेछैनन् । यी पाठ्यपुस्तकलाई मुलुकका हजारौँ विद्यालयले प्रयोग गर्छन् । मुलुककै सबैभन्दा बढी जनसंख्या भएको उत्तर प्रदेश राज्यले यही सातादेखि पाठ्यपुस्तकलाई विद्यालयमा पढाउन सुरु गर्ने घोषणा गरेको छ ।

एनसिइआरटीका निर्देशक दिनेशप्रसाद सक्लानीले कोभिड–१९ का कारण विद्यार्थीको पाठ्यबोझ घटाउन उल्लिखित पाठ हटाइएको बताएका छन् । तर, कैयौँ विज्ञका अनुसार पुस्तकमा यी पाठ हटाउनुका पछाडि भारतीय राजनीतिमा भारत एक धर्म मात्रको मुलुक हो भनेर जोड दिने भाजपा जिम्मेवार रहेको छ ।

जवाहरलाल नेहरू विश्वविद्यालयमा चार दशकभन्दा बढी समय प्राध्यापन गरेका भारतीय इतिहासकार आदित्य मुखर्जी ‘उनीहरूले पाठ्यक्रममा हेरफेर ल्याउनुमा राजनीति जिम्मेवार नभएको दाबी गरेका छन् । तर, यी पाठ हटाउनुका पछाडि कोभिडसँग कुनै सम्बन्ध छैन । वास्तवमा सम्बन्ध राजनीतिसँगै जोडिएको’ बताउँछन् । भारतीय दैनिक इन्डियन एक्सप्रेसले पाठ्यक्रममा हेरफेरबारे एनसिइआरटीको बयानलाई ‘कमजोर’ बताएको छ । एक्सप्रेसले कडा शब्दमा लेखेको सम्पादकीयमा सरकार ‘आफूलाई नरुच्ने तथ्य’बाट भाग्न खोजेको उल्लेख गरेको छ ।            

 मध्ययुगीन भारतको इतिहासकार हरवंश मुखिया सन् २०१४ मा सत्तामा आएको मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) अर्को वर्ष सन् २०२४ मा हुने आमनिर्वाचनमा हिन्दूलाई मुसलमानबाट खतरा छ भन्ने भाष्यलाई बलियो बनाएर चुनाव जित्ने रणनीति लागू गरिरहेको बताउँछन् । जब कि भारतमा करिब ८० प्रतिशत जनता हिन्दू छन् भने मुसलमान १४ प्रतिशत छन् ।

विभिन्न इतिहासकार पाठ्यपुस्तकमा गरिएको हेरफेर भारतमा मुसलमानका योगदानलाई मेटाउने वा कम आँक्ने र सँगसँगै हिन्दूको गुणगान गाउने नीतिको निरन्तरता भएको तर्क गर्छन् । केही भाजपा नेताले हेरफेरको बचाउसमेत गरेका छन् । एक नेता कपिल मिश्राले ३ अप्रिलमा मुगल सम्राटको स्थान ‘इतिहासको किताबमा नभई रद्दीको टोकरीमा’ भएको भन्दै ट्विट् गरेका छन् । मोदीले पनि गत वर्ष मोटामोटी भाषामा भारतीय इतिहासमा ‘कपोलकल्पित भाष्य’ रहेको र यसलाई बदल्नुपर्ने बताएका थिए ।

राजनीतिक विवादका कारण इतिहासकारहरू परिवर्तित पाठ्यक्रम पढ्ने विद्यार्थीमा प्रभाव पर्ने भन्दै चिन्तित भएका छन् । ‘तपाईं मुगल साम्राज्यलाई नबुझीकन आधुनिक भारतलाई बुझ्नै सक्नुहुन्न, तसर्थ यो कदम मूर्खतापूर्ण र आफैँलाई क्षति पु¥याउने गरी आफ्नो उत्पत्तिप्रतिको अनभिज्ञता स्विकारेको देखिन्छ,’ रुट्जर्स विश्वविद्यालयको दक्षिण एसियाली इतिहासकी सहप्राध्यापक अड्रे ट्रुस्के बताउँछिन् । ‘पाठ्यपुस्तकबाट हटाउँदैमा भारतीय इतिहासबाट मुगल साम्राज्य नहट्ने उनले दाबी गरिन् ।

मुगल प्रभाव अझै पनि भारतीय संस्कृतिमा देख्न सकिन्छ । भारत स्वतन्त्र भएपछि तत्कालीन प्रधानमन्त्री नेहरूले मुगल सम्राट शाहजहाँले निर्माण गरेको लाल किल्लाबाट जनतालाई सम्बोधन गरेका थिए । वास्तवमा मुगल सम्राटले ताजमहलजस्ता भारतका चर्चित स्मारक निर्माण गराएका थिए । बिरयानीलगायत स्वादिष्ट पकवानको विकास मुगलकालमै भएको थियो । त्यसैगरी, पुरुषले पहिरिने कुर्ता–पाइजामा र महिलाको सलवार–कमिज पनि मुगलकालमै बनेको हो । मुगल साम्राज्यमै कत्थक नृत्य र भारतीय शास्त्रीय संगीत फलेफुलेको थियो । त्यतिमात्रै नभई हिन्दी, उर्दुजस्ता भारतीय भाषाको विकास पनि मुगलकालमै भएको हो । 

भारतमा पाठ्यपुस्तकमा गरिएको हेरफेरलाई मुसलमानका योगदानलाई मेटाउने वा कम आँक्ने र हिन्दूको गुणगान गाउने नीतिको निरन्तरता मानिँदै छ

पाठ्यसामाग्रीबारे भएको यो विवाद पहिलो होइन । एनसिइआरटी भारतले स्वतन्त्रता हासिल गरेपछि सन् १९६१ मा स्थापना भएको हो । मुलुकको इतिहासलाई पाठ्यक्रममा समावेश गराउन इतिहासकार एवं प्राज्ञको समिति गठन गरिएको थियो । त्यसपछि भाजपा र अन्य दक्षिणपन्थी दलले सन् १९७० र सन् २००० का सुरुवाती वर्षमा परिवर्तन गर्ने प्रयास गरेका थिए, तर यी प्रयास विभिन्न इतिहासकारको प्रतिरोधका कारण सम्भव हुन सकेन ।

सन् २००० को सुरुवातमा प्रधानमन्त्री मोदीसमेत सदस्य रहेका चरमपन्थी हिन्दू समूह राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)ले तल्लो जातका भारतीयमाथिको उत्पीडन र नाथुराम गोड्सेले गान्धी हत्या गरेको घटनालाई हटाउन एनसिइआरटीलाई दबाब दिएको थियो (केही इतिहासकारका अनुसार गोड्से आरएसएसका सदस्य थिए) ।  

मुसलमान वा मुगल साम्राज्यसँग जोडिने सहरको नाम फेरेर, बढ्दो उग्रराष्ट्रवादी बलिवुड चलचित्रको निर्माण, नेताले हिन्दू किंवदन्तीलाई इतिहासका रूपमा देखाउने घटना, खुल्लमखुल्ला मुसलमान नरसंहारको आह्वान गर्नेलाई कारबाही नगर्नेलगायत मुसलमान प्रभावलाई घटाउन खोज्ने प्रयासकै पछिल्लो कडी पाठ्यक्रम परिवर्तन हो । विद्यालयमा वास्तविक इतिहास मेटिँदा केही संस्थाले वास्तविक इतिहासलाई जनतासमक्ष प्रस्तुत गर्ने प्रयास गरिरहेका छन् ।

प्रतिष्ठित इतिहासकारसँगको संवादलाई निःशुल्क अनलाइन प्रसारण गर्ने कारवान समूहका संस्थापक इशान शर्मा ‘इन्टरनेट एक उदार माध्यम हो यसले हामीपछिका पुस्ताका लागि सूचना भण्डार निर्माण गर्ने सुविधा उपलब्ध’ गराउने बताउँछन् । तर, इशान शर्माहरूको प्रयास एनसिइआरटीको पाठ्यपुस्तकमा भएको परिवर्तनको प्रभाव सामना पर्याप्त नहुन सक्छ । ‘राजनीतिक परिवर्तन नभईकन हामी यसको सामना गर्न सक्दैनौँ,’ इतिहासकार मुखर्जी बताउँछन् ।  
(मन्सुर टाइमकी पत्रकार हुन्) टाइमबाट
 

सुझावित समाचार