नेपाल–चीन परराष्ट्रसचिवस्तरीय बैठक

शनिबार, २५ चैत, २०७९
डिजिटल संस्करण

चिनियाँ अनुदानका परियोजना समयमै कार्यान्वयनमा जोड, बिआरआईबारे मौन, जिडिआईबारे छलफल

नेपाल र चीनबीच परराष्ट्रसचिवस्तरीय द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठकमा राजनीतिक, आर्थिक, जनस्तरको सम्बन्धलगायत सबै क्षेत्रमा विस्तृतमा छलफल भएको छ । शुक्रबार बेइजिङस्थित चिनियाँ परराष्ट्र मन्त्रालयमा भएको बैठकमा नेपालले चीनलाई नेपालमा उत्पादित वस्तुको निर्यात सहज बनाइदिन चीनसँग आग्रह गरेको छ । चिनियाँ पक्षले नेपालको विकास तथा समृद्धिका लागि सक्दो सहयोग गर्ने आश्वासन दिएको छ ।

बैठकपछि शुक्रबार साँझ नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा बिआरआईका विषयमा छलफल भए–नभएको उल्लेख छैन । तर, नेपालमा चिनियाँ अनुदानका परियोजनाको समयबद्ध कार्यान्वयन गर्न दुवै पक्ष सहमत भएको उल्लेख छ । बिआरआई उल्लेख नभए पनि चिनियाँ राष्ट्रपति सी जिनपिङले अघि सारेको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (वैश्विक विकासका लागि प्रयास, जिडिआई) बारे छलफल भएको छ । 

दिवाभोजसहित करिब पाँच घन्टा चलेको बैठकमा दुई देशबीच आर्थिक साझेदारी, व्यापार प्रवद्र्धन, लगानी र पर्यटन, कनेक्टिभिटी निर्माण, कृषि, शिक्षा, सांस्कृतिक तथा जनस्तरको सम्बन्धबारे छलफल भएको चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले जानकारी दिए । ‘दुई देशबीच सम्बन्धका सबै पक्षमा सविस्तार छलफल भएको छ । बैठक सौहार्दपूर्ण र उपलब्धिमूलक रह्यो,’ राजदूत श्रेष्ठले बेइजिङबाट टेलिफोनमा नयाँ पत्रिकासँग भने । 

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रसचिव भरतराज पौड्याल र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको परराष्ट्र मन्त्रालयका उपमन्त्री सुन वेइदोङले गरेका थिए । बैठकमा राजदूत श्रेष्ठ, परराष्ट्रको चीन हेर्ने उत्तरपूर्वी महाशाखाका सहसचिव लोकबहादुर थापालगायत सहभागी थिए ।

बैठकमा चिनियाँ उपमन्त्रीले एक चीन नीतिप्रति नेपालको निरन्तर अडान र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको सम्मान गर्दै आएको भन्दै खुसी व्यक्त गरे । परराष्ट्रसचिव पौड्यालले एक चीन नीतिप्रति नेपालको अडान दोहोर्याएका थिए । 

परराष्ट्रसचिव पौड्यालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताप्रति सधैँ अहस्तक्षेप र सम्मान गर्ने चिनियाँ नीतिको सराहना गरे । दुवै पक्षबीच बैठकमा नेपाल–चीन सम्बन्धका सबै पक्ष र सहयोगका विषयमा समीक्षा गरेको नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा छ । दुई देशबीच भ्रमणको आदानप्रदानलाई निरन्तरता दिनुपर्ने विषयमा पनि छलफल भएको छ ।

‘बैठकमा चिनियाँ अनुदान सहयोगमा निर्माण भइरहेका विभिन्न पूर्वाधार विकास आयोजना र चिनियाँले ठेक्का लिएका आयोजना समयमै सम्पन्न गर्न कार्यान्वयनलाई तीव्रता दिनुपर्नेमा सहमति भएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा छ । 

परराष्ट्रसचिव पौड्यालले चीनसँग नेपालको व्यापार घाटा कम गर्न नेपालका प्राथमिक उत्पादनलाई चीनमा निर्वाध रूपमा निर्यातका लागि सहयोग गर्न प्रस्ताव गरेका थिए । चिया, कफी, जडीबुटी, राँगा÷भैँसीको मासु तथा कृषिजन्य वस्तुलाई चीनमा निर्यातका लागि वातावरण बनाइदिन उनको आग्रह थियो । चिनियाँ पक्षले यसलाई सकारात्मक रूपमा लिएको जवाफ दिएको छ । 

नेपालमा चिनियाँ लगानीकर्तालाई पारस्परिक हितका क्षेत्रमा लगानीका लागि प्रोत्साहित गर्ने पनि चिनियाँ उपमन्त्रीले वचन दिएका थिए । परराष्ट्रसचिव पौड्यालले नेपाललाई सामूहिक पर्यटनका लागि बाहिरी गन्तव्य मुलुकको सूचीमा राखेकोमा चीनको प्रशंसा गरेका थिए । ‘दुई पक्षबीच जनसम्पर्क तथा सांस्कृतिक सहयोग प्रवद्र्धन, नेपाली विद्यार्थी तथा पेसाकर्मीलाई चीनमा छात्रवृत्तिको संख्या बढाउने, नेपालका प्राविधिक विज्ञहरूको क्षमता बढाउनेलगायत विषयमा पनि छलफल भएको छ,’ नेपाली दूतावासको विज्ञप्तिमा छ ।

बैठकमा संयुक्त राष्ट्रसंघ एवं बहुपक्षीय फोरममा दुई देशबीच सहकार्य तथा एक–अर्काको उम्मेदवारीमा पारस्परिक सहयोग गर्ने सहमति पनि भएको छ । उनीहरूबीच दिगो विकास लक्ष्यहरूको कार्यान्वयनमा सहयोगलगायत विषयमा पनि छलफल भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले अघि सारेको जिडिआईको महŒवबारे चिनियाँ पक्षले नेपाली पक्षलाई जानकारी गराएको छ । 
 

सुझावित समाचार