पोखराको हेम्जामा २६ चैतदेखि आलु महोत्सव

बिहिबार, २३ चैत, २०७९
डिजिटल संस्करण

पोखरा महानगरको हेम्जामा ‘सुन्दर ठाउँ हेम्जा जाऔँ आलुका स्वादिष्ट परिकार खाऔँ , आलु एक परिकार अनेक’ भन्ने नाराका साथ ११औँ संरकरणको राष्ट्रिय हेम्जा आलु महोत्सव आयोजना हुने भएको छ । विष्णुपादुका क्लब हेम्जाको आयोजनामा २६ चैतदेखि ३ वैशाखसम्म चल्ने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएका हुन् । 

०६६ सालदेखि हुँदै आएको महोत्सव कोभिड महामारीका कारण विगत तीन वर्ष हुन नसकेकोमा यस वर्षदेखि पुनः निरन्तरता दिन लागेको आयोजक क्लबका अध्यक्ष सुबिन श्रेष्ठले जानकारी दिए । समुद्री सतहदेखि एक हजार ८८ मिटरको उचाइमा रहेको हेम्जाको कुल क्षेत्रफल १२ हजार पाँच सय हेक्टरमध्ये पाँच सय ५० हेक्टरमा आलुखेती हुँदै आएको छ भने एक हजार २२ घरपरिवार कृषिमा आधारित रहेका छन् ।

त्यस्तै, पाँच सय ४० कृषकले व्यावसायिक जालुखेती गर्दै आएको श्रेष्ठले बताए । हेम्जामा उत्पादन भएका आलु तथा अन्य ताजा तरकारीको बृहत् प्रदर्शन तथा प्रचारप्रसार गर्ने, व्यावसायिक कृषि पर्यटनका रूपमा देश–विदेशमा चिनाउने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत विभिन्न समूहमा व्यावसायिक कृषिखेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरित गर्ने र क्लब भवन निर्माणका साथै तरकारी सङ्कलन तथा बिक्री–वितरण केन्द्र निर्माण गर्ने उद्देश्य महोत्सवको रहेको उनको भनाइ छ ।  

महोत्सवमा आलुबाट बनेका विभिन्न परिकारहरू कबाब, रोस्ट, रोस्टी, स्टार्ट पोट्याटो, साँधेको आलु, आलुको पकौडा, सेकेको आलु, आलुको बर्गर, अचारलगायतका २० परिकारका साथै सेलरोटी प्रदर्शन एवं बिक्री गरिने जनाइएको छ । 

सुझावित समाचार