हिन्दुत्वको उद्देश्य राष्ट्र वा हिन्दूसँग जोडिँदैन, बरु अल्पसंख्यकलाई कसरी तह लगाउने वा प्रताडित गर्ने भन्नेमा केन्द्रित हुन्छ
चारधाराले सामान्यतया राज्यको अन्त्यको कल्पना गर्छ वा एक इच्छित गन्तव्यको परिकल्पना गर्छ । माक्र्सवादीहरू राज्य समाप्त हुनेछ र यसलाई समुदायले प्रतिस्थापित गर्नेछ भन्नेमा विश्वास गर्छन् । दक्षिण एसियामा मानवतालाई राज्यका माध्यमबाट आध्यात्मिक ढंगले आधुनिकतासँग जोड्ने एक प्रयास गरिएको थियो । यसका सूत्रधार पाकिस्तानका प्रथम प्रधानमन्त्री लियाकत अलि खान थिए । उनको प्रयास संविधानमा धर्मको प्रवेश गराउनु थियो र संसद्को ठाउँमा ईश्वरलाई सार्वभौम बनाउनु थियो । यो प्रयोग सफल हुन सकेन, किनभने एकैपटक नागरिकलाई आध्यात्मिक रूपमा श्रेष्ठ र कानुनका माध्यमबाट वैज्ञानिक रूपमा आधुनिक बनाउने कुनै उपाय थिएन ।
युरोपेली मुलुकका सरकार कल्याणकारी राज्यमा केन्द्रित हुन्छन्, जहाँ सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा र सामाजिक सुरक्षाका उपायमा पहुँच दिइन्छ । त्यसैगरी, विपन्न एवं बेरोजगारको ख्याल राखिन्छ । युरोपेली राष्ट्रको गन्तव्य यही हो । युरोपका कैयौँ राष्ट्रले सैन्य महानताको अवधारणालाई नै त्यागिसकेका छन् र यिनले कुनै एक धर्मको वर्चस्व लाद्ने उद्देश्य बोक्दैनन् । मतदाताको ठूलो हिस्सा विविधतातर्फ आकर्षित छ । यसलाई आजका दिनमा बेलायतका प्रधानमन्त्री एक भारतीय मूलका हिन्दू हुनु, स्कटल्यान्डका फर्स्ट मिनिस्टर पाकिस्तानी मूलका मुसलमान हुनु, आयरल्यान्डका राष्ट्रपति भारतीय मूलका इसाई हुनु र पोर्चुगलका प्रधानमन्त्री पनि भारतीय मूलका इसाई हुनुले प्रतिबिम्बित गर्छ ।
हामी यी व्यक्ति तत्तत् राष्ट्रका नेता भएको भन्दै गर्व गर्छौं । तर, आफूलाई युरोपेली मतदाताको ठाउँमा राख्दा भने हामी स्तब्ध हुन्थ्यौँ होला । सन् २०२३ मा पनि भारतमा भारतकै अल्पसंख्यक समुदायका व्यक्तिलाई कार्यकारी प्रमुखका रूपमा बहुमतले चुन्नेछ भनेर सोच्न पनि सकिँदैन । तर, विश्वका कैयौँ हिस्सा यस मामिलामा आधुनिक छन्, अर्थात् यी मुलुकका मतदाता धार्मिक आस्था वा साम्प्रदायिक अपनत्व हेरेर मत दिँदैनन् । युरोपमा दक्षिण एसियाली मूलका नेताले उच्चस्तरको पद प्राप्त गर्नुमा यी नेताको लोकप्रियता पनि एक कारक हो । र, यसबाहेक पृथक् समुदाय वा नश्लको हुनाले पनि यी दक्षिण एसियाली नेता नेतृत्वका लागि चुनिएका हुन् । वास्तवमा धार्मिक एवं साम्प्रदायिक विविधतालाई युरोपेली जनताले आवश्यकता मात्रै नभई आकर्षक आकांक्षाका रूपमा लिन्छन् ।
अब लोकतन्त्रकी जननीतर्फ नियालौँ । बाहिरियाका लागि भारतको लोकतन्त्र जीवन्त तर ‘कबिलाई प्रवृत्ति’को छ । भारतमा शक्तिशाली सामूहकेन्द्रित बफादारी र इतर समुदायविरुद्ध सन्देह वा घृणा देखिन्छ । यो आदिम र आन्तरिकीकृत प्रवृत्ति सबै संस्कृति एवं मुलुकमा हुने गर्थ्यो तर आधुनिक मुलुक यो प्रवृत्तिबाट बाहिर निस्किने गरी परिपक्व भइसकेका छन् । आदिम समाजमा यो प्रवृत्ति अझै देख्न सकिन्छ ।
भारतीय लोकतन्त्रलाई जात आधारित कबिलावादले परिभाषित गरेको छ । भारतमा अहिले पनि जातका आधारमा चुनावी टिकट दिइन्छ । भाषिक विविधताका सन्दर्भमा भारतमा भाषिक पहिचानका आधारमा राज्य निर्माण गर्नु एक विवेकपूर्ण कदम थियो, अर्थात् भाषिक समुदायको सामूहिक बफादारीलाई राजनीतिक संयन्त्रका रूपमा प्रयोग गर्नबाट रोक्न सकिन्थ्यो । यद्यपि भाषिक समुदायबीच जबर्जस्ती भाषा लादिने प्रयासले अझै पनि द्वन्द्व सिर्जना गर्छ ।
हालको हिन्दुत्वको उदय एवं वर्चस्वले भारतीय लोकतन्त्रमा धार्मिक कबिलावादलाई पुनस्र्थापित गरिदिएको छ । पुनस्र्थापित, किनभने धार्मिक कबिलावाद भारत विभाजनअगाडि अस्तित्वमा थियो र यही कबिलावादले भारतको विभाजन गराएको थियो । जिन्नाले गान्धीका मतका तुलनामा आफूसँग एक मत मात्रै रहेको गुनासो गर्थे । जिन्नाको गान्धीप्रतिको धारणालाई भारत विभाजनले पुष्टि गरिदियो । यति लेख्दै गर्दा विभाजनपछाडिको भारतमा साम्प्रदायिकता, अल्पसंख्यकको सीमान्तीकरण र बहिष्करण नभएका होइनन्, तर राज्यको भाषा अर्थात् कंग्रेस नेतृत्वका सरकारको भाषा समावेशी हुने गर्थ्यो । यसकारण अहिलेको जस्तो सामाजिक विभाजन अस्तित्वमा थिएन ।
हिन्दुत्वको उदयका कारण भारतीय राज्य र यसका नीतिले जनतालाई धार्मिक रूपमा विभाजित गरिदिएको छ । हाम्रो हिन्दुत्ववादी राज्यको अन्तिम गन्तव्य आधुनिक कालमा समेत हिन्दूराष्ट्र रहेको नेपालकोजस्तो पनि होइन । नेपाल पहिले मनुस्मृतिबाट निर्देशित क्षेत्रीय राजाले शासन गरेको मुलुक थियो, तर यसका बाबजुद नेपाल र विभाजनपश्चात्को भारतको चरित्र मिल्थ्यो । हालको नयाँ भारतले झैँ तत्कालीन हिन्दूराष्ट्र नेपालले अल्पसंख्यकलाई तारो बनाएन वा अल्पसंख्यकलाई प्रताडित गरेन ।
भारतीय हिन्दुत्व राज्यले नागरिकता, खाना, पारपाचुके, विवाह, पृथकीकरण, प्रार्थना र पहिरनलाई लिएर विभेदकारी र बहिष्करणकारी कानुन एवं नीति ल्याएको छ । अल्पसंख्यकलाई तारो बनाउने विद्यमान कानुनलाई थप कडाइसाथ लागू गरिँदै छ । भारतीय मूलका नेतालाई चुन्ने युरोपेली मतदाताको व्यवहारको ठिक विपरीत व्यवहार भारतीयले प्रदर्शन गरिरहेका छन्, अर्थात् एकथरी भारतीयलाई अन्य भारतीयले प्रताडित गरिरहेका छन् । यो प्रताडनाको उपयोगिता देखिन्छ, अर्थात् प्रताडनामा अरूलाई पीडा दिएर सन्तुष्टि एवं आनन्द लिने प्रवृत्ति देखिन्छ । यो प्रवृत्तिले मुलुकलाई कसरी फाइदा पु¥याउँछ वा कसरी मुलुकको भविष्य सुधार्छ भनेर बुझ्न बडो कठिन छ । हिन्दुत्वका समर्थकले यो चासो प्रधानमन्त्रीसामु व्यक्त गर्नुपर्ने हो ।
सम्भवतः अन्य भारतीयलाई पीडा दिएर मजा नै आउँछ होला, तर एकपटक मजा लिइसकेपछि चाहिँ के गर्ने ? यसको उत्तर भारतीयबाट अन्य भारतीयमाथि हुने उत्पीडनको विरोध गर्नेसँग छ, अर्थात् विरोध गर्नेलाई यस्तो उत्पीडन चलि नै रहनेछ भन्ने थाहा छ । तर, यसको उत्तर नयाँ भारतलाई अमृतकालतर्फ लैजान्छौँ भन्नेले दिन आवश्यक छ ।
(पटेल भारतीय पत्रकार, लेखक एवं मानव अधिकार अभियन्ता हुन्) द वायरबाट