महासंघमा तीन समूहको प्रतिस्पर्धा

बुधबार, २२ चैत, २०७९
डिजिटल संस्करण

वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठको प्यानलसहित उम्मेदवारी दर्ता

नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यसमितिका लागि तीनवटा समूहबीच प्रतिस्पर्धा हुने भएको छ । वरिष्ठ उपाध्यक्षका प्रत्याशीत्रय अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठले प्यानलसहित उम्मेदवारी दर्ता गरेका हुन् । रामचन्द्रले आइतबार उम्मेदवारी दर्ता गरेका थिए भने उमेशलाल र अञ्जनले मंगलबार उम्मेदवारी दर्ता गरे । 

महासंघको चैत २८ र २९ मा हुने ५७औँ वार्षिक साधारणसभाले तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । महासंघको विधानत वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने हुँदा चन्द्र ढकाल अध्यक्ष बन्नेछन् । तीन वर्षपछि नेतृत्वमा पुग्नका लागि अञ्जन, रामचन्द्र र संघाई अहिले वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका हुन् । महासंघमा वरिष्ठ उपाध्यक्षसहित तलका पदमा निर्वाचन हुने गर्छ ।

उम्मेदवारी दर्ताका लागि मंगलबार साँझसम्मको समय दिइएकोमा तीनवटा समूहबाट छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएको छ । वरिष्ठ उपाध्यक्षसहित चारजना उपाध्यक्ष पदमा ११ जनाको उम्मेदवारी परेको छ ।  

अञ्जनको समूहबाट जिल्ला–नगरतर्फको उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगत उपाध्यक्षमा मनीषलाल प्रधान र एसोसिएट उपाध्यक्षमा भरत आचार्यले उम्मेदवारी दर्ता गरेका छन् । रामचन्द्रको समूहबाट जिल्ला–नगर उपाध्यक्षमा सुरकृष्ण वैध, वस्तुगत उपाध्यक्षमा महासंघका वर्तमान कोषाध्यक्ष सुकन्तलाल हिराचन र एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । यस्तै, उमेशलालको समूहबाट जिल्ला–नगरतर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठ, एसोसिएटतर्फ उपाध्यक्षमा भरतराज आचार्य र वस्तुगततर्फ उपाध्यक्षमा हेमराज ढकाल रहेका छन् ।

एसोसिएट उपाध्यक्षका उम्मेदवार भरतराजले अञ्जन र उमेशलाल दुवै समूहको समर्थन पाएका छन् । अरू उपाध्यक्षमा त्रिपक्षीय भिडन्त हुने भए पनि एसोसिएट उपाध्यक्षमा भरतराज र ज्योत्स्नाबीच भिडन्त हुने भएको छ । करिब दुई दशकदेखिका सहयात्री भरतराज र प्रबलजंग पाण्डे आपसमा नभिड्ने भन्दै सहमति गरेका हुन् । ज्योत्स्नाले रामचन्द्र प्यानलबाट उम्मेदवारी घोषणा गरेपछि अञ्जनको प्यानलबाट एसोसिएट उपाध्यक्षमा प्रबलजंग उठ्ने तय भएको थियो ।

रामचन्द्रले आइतबार प्यानल घोषणा गरेका थिए भने उमेशलालले सोमबार प्यानल घोषणा गरे । यस्तै, अर्का उम्मेदवार अञ्जनले मंगलबार प्यानल घोषणा गरे । वरिष्ठ उपाध्यक्षका प्रत्याशीमध्ये अञ्जन वर्तमान कार्यसमितिमा वस्तुगत उपाध्यक्ष रहेका छन् भने राचमन्द्र एसोसिएट उपाध्यक्ष हुन् । अर्का पत्याशी उमेशलाल वस्तुगत उपाध्यक्षमा अञ्जनसँग चुनाव हारेका थिए ।

यस्तो हुनेछ कार्यकारिणी समिति
महासंघको पदाधिकारीमा एक अध्यक्ष, निवर्तमान अध्यक्ष, विशिष्ट सदस्य, एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष रहने व्यवस्था छ । यस्तै, केन्द्रीय कार्यकारिणी सदस्यमा एसोसिएटबाट १९, जिल्ला–नगरबाट १८ र वस्तुगतबाट १२ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ । यस्तै, प्रत्येक प्रदेशबाट दुई–दुई जनाका दरले १४ जना केन्द्रीय सदस्य रहनेछन् । तीनवटै प्यानलबाट उठ्ने जिल्ला–नगर, एसोसिएट, वस्तुगततर्फका केन्द्रीय सदस्यका आकांक्षी उम्मेदवारहरू भने अझै घोषणा गरिएको छैन । वरिष्ठ उपाध्यक्षका प्रत्याशीत्रय आफ्नो प्यानलबाट उठ्ने सदस्यका उम्मेदवारहरू छाँटकाँटमै व्यस्त छन् । महासंघको केन्द्रीय सदस्यमा उठ्न चाहने व्यवसायीहरूले उम्मेदवारी भने दर्ता गरिसकेका छन् । 

भरतराज दुई टिमको उम्मेदवार
एसोसिएट उपाध्यक्षतर्फ भरतराज आचार्य अञ्जन र उमेशलालको समूहबाट सर्वसम्मत उम्मेदवार बनेका छन् । यसअघि एसोसिएट उपाध्यक्षमा भरतराज, ज्योत्स्ना र प्रबलजंगबीच प्रतिस्पर्धा हुने चर्चा थियो । ज्योत्स्नाले अञ्जनको प्यानल छाडेर रामचन्द्रको प्यानलबाट उम्मेदवारी घोषणा गरेपछि अञ्जनको टिमबाट प्रबलजंग उठ्ने घोषणा गरेका थिए । 

वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनका लागि खसेको कुल मतमध्ये ५० प्रतिशत र थप एक मत आवश्यक पर्छ । यदि कुनै उम्मेदवारले पनि पहिलो चरणमा ५० प्रतिशत मत कटाउन नसकेमा पहिलो र दोस्रो हुनेबीच पुनः निर्वाचन हुन्छ । यसपटक वरिष्ठ उपाध्यक्षमा तीनजना बलिया उम्मेदवारबीच प्रतिस्पर्धा हुन लागेको हुँदा दोस्रो चरणको निर्वाचन गर्नुपर्ने अनुमान लगाउन सकिन्छ । महासंघको निर्वाचनमा जिल्ला–नगरको मतभार ५० प्रतिशत, एसोसिएट सदस्यको ३० र वस्तुगत सदस्यको २० प्रतिशत मतभार हुने गर्छ । महासंघका सदस्यहरूमा जिल्ला–नगर उवासंघ एक सय १२१, वस्तुगत सदस्य १२३, एसोसिएट १७ सय ६२ र द्विराष्ट्रिय सदस्य २० रहेका छन् । 

सुझावित समाचार