पुँजी बजारमा सुधार ल्याउन अर्थमन्त्री डा. प्रकाशशरण महतले चासो दिएका छन् । सोमबार सेयर लगानीकर्तासँगको भेटमा मन्त्री महतले पुँजी बजारलाई सुधार्न नीतिगत सुधार ल्याउने बताएका हुन् ।
साथै, नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार फोरमका सभापति अम्बिका पौडेलसहितको प्रतिनिधिमण्डलले ६ पृष्ठ लामो सुझावपत्र बुझाएका छन् । पत्रमा ब्रोकर कमिसन घटाउनुपर्ने, ब्याजदर, सेयर धितोकर्जा १२ करोडलाई हटाउनुपर्ने, अहिलेको पुँजी बजारलाई अध्ययन गर्न नयाँ कार्यदल गठन गर्नुपर्ने, विगतमा भएका अध्ययन सहमतिलाई कार्यान्वयनमा ल्याउनुपर्ने उल्लेख छ ।
लगानीकर्ताबाट नीतिगत सुधारको सुझावपत्र पाएलगत्तै अर्थमन्त्री डा. महतले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालसँग भेट गरेका छन् । हमालले यस विषयमा मंगलबार अर्थमन्त्रीलाई विस्तृत बुँदागत जानकारी दिने बताएका छन् ।
अध्यक्ष हमालले भने, ‘नीतिगत सुधार ल्याउन र लगानीकर्ताको मनोबल बढाउन के गर्न सकिन्छ भनेर सोध्नुभयो, यस विषयमा हामीले मंगलबार विस्तृत जानकारी गराउँछौँ ।’ त्यस्तै, सोमबार नै अर्थमन्त्री महतले बैंकर एसोसिएसनसँग पनि बैंकको ब्याजदर घटाउने विषयमा छलफल गरेका छन् ।
अर्थमन्त्रीलाई पुँजी बजार घट्दा दबाब महसुस
आइतबार नेप्से परिसूचक एक हजार नौ सयको विन्दुबाट थप ओरालो लागेपछि सेयर बजारका लगानीकर्ता झस्किएका थिए । नयाँ अर्थमन्त्री पाएसँगै बजार बढ्ने अपेक्षा राखेका लगानीकर्ता नेप्से ओरालो लागेपछि झस्किएका हुन् ।
नयाँ अर्थमन्त्री नियुक्त भएयता बजारमा करिब ४० अंकको गिरावट छ । सोमबार पनि नेप्से सूचक २० अंकले घटेर ९२ करोड रुपैयाँको मात्र कारोबार भएको छ । बजार सूचक घटेर एक हजार आठ सय ७१ विन्दुमा ओर्लिएको छ ।