आन्तरिक विद्युत् खपत क्षमता बढाउने काम गर्छु : ऊर्जामन्त्री बस्नेत

मंगलबार, २१ चैत, २०७९
डिजिटल संस्करण

नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उत्पादित विद्युत् देशभित्रै खपत गर्ने क्षमता बढाउने आफ्नो मुख्य प्राथमिकतामा रहेको बताएका छन् । 

नेपाल विद्युत् प्राधिकरणले सोमबार आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले विद्युत् नपुगेका ठाउँमा सेवा विस्तार गरी खपत क्षमता बढाउने बताएका हुन् । ‘विद्युत्को आन्तरिक खपत क्षमता वृद्धि गरी बढी भएको विद्युत्को व्यवस्थापन गर्नुपर्छ, देशभित्र खपत गरी बढी भएको विद्युत् खेर फाल्न मिलेन ? त्यसलाई निर्यात गर्नुपर्छ,’ उनले भने, ‘पूर्वाधार विस्तारका लागि आवश्यक पर्ने लगानी जुटाउन अर्थ मन्त्रालयलगायतका निकायहरूसँग आवश्यक समन्वय गरिनेछ ।’ 

जलविद्युत् तथा प्रसारण लाइन आयोजना निर्माणमा वन क्षेत्रको प्रयोग तथा रूख कटानमा देखिएको समस्याका विषयमा आफू जानकार रहेको उल्लेख गर्दै पूर्ववनमन्त्रीसमेत रहेका मन्त्री बस्नेतले वन र सुरक्षाका कारण हुने ढिलासुस्ती रोक्न आफू सक्रियतासाथ लाग्ने बताए । 

कार्यक्रममा ऊर्जासचिव दिनेशकुमार घिमिरेले आन्तरिक रूपमा विद्युत् खपत बढाउन प्रसारण तथा वितरण प्रणालीका संरचनाहरूको सुधार तथा विस्तार आवश्यक रहेको बताए । साथै, रणनीतिक रूपका ठूला जलाशययुक्त जलविद्युत् आयोजनाहरूको निर्माण र विद्युत् सेवा विस्तारमा जोड दिइनुपर्ने उनको भनाइ छ । 

यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संस्थाको विस्तृत विवरण प्रस्तुत गर्दै वर्षायामको विद्युत् व्यवस्थापन अहिलेको प्रमुख चुनौती रहेको बताए । उनले यस वर्षको वर्षायाममा आन्तरिक रूपमा खपत गरी बढी भएको एक हजारदेखि १२ सय मेगावाटसम्म विद्युत् निर्यात गर्नुपर्ने अवस्था रहेको बताए ।  

सुझावित समाचार