विवादमुक्त हुन सकेन एन्फा बैठक

आइतबार, १९ चैत, २०७९
डिजिटल संस्करण

अघिल्लोपटकको माग सुनवाइ नभएको जनाउँदै असन्तुष्ट पदाधिकारीले शनिबार एन्फा अध्यक्ष नेम्वाङले डाकेको आकस्मिक बैठकमा सहभागिता जनाएनन्

अखिल नेपाल फुटबल संघ (एन्फा)को शनिबार बसेको कार्यसमितिको आकस्मिक बैठक विवादित बनेको छ । एन्फा अध्यक्ष पंकज नेम्वाङले डाकेको बैठकलाई असन्तुष्ट समूहका १० सदस्यले बहिष्कार गरेसँगै विवादित बनेको हो । बहिष्कार गरेका सदस्यहरूले महासचिव किरण राई र कोषाध्यक्ष रवीन्द्र जोशीको नियुक्ति विधानविपरीत नभएको र आर्थिक पारदर्शिता हुन नसकेको आरोप लगाउँदै आएका छन् । यसै मुद्दा सुनवाइ नभएको जनाउँदै उनीहरूले १७ फागुनमा भएकोे बैठक बहिष्कार गरेका थिए । यद्यपि, संस्थापक पक्षले बहुमत पुगेको भन्दै विभिन्न पदपूर्ति र नियुक्ति गरेको थियो । 

एन्फा अध्यक्ष नेम्वाङले अघिल्लो बैठकलाई वैधानिकता दिनका लागि नै विनाएजेन्डा बैठक बोलाएका हुन् । अध्यक्ष नेम्वाङले यसपटक पनि विधिअनुसार बैठक नबोलाएको भनी ती सदस्यहरूले बहिष्कार गरेका हुन् । ‘यसअघिको बैठकलाई वैधानिक बनाउन उहाँहरूले कार्यसमितिको आकस्मिक बैठक बोलाउनुभयो । हामीले एजेन्डा माग्दा दिनुभएन,’ उपाध्यक्ष दीर्घबहादुर केसीले नयाँ पत्रिकासँग भने । 

बैठकले गर्यो चार निर्णय
कार्यसमितिको आकस्मिक बैठकले विभिन्न चार निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री थ्री नेसन्स कप विजेता नेपाली टोलीलाई नगद पुरस्कारका लागि सरकारसँग माग गर्ने, फिफासँग विभिन्न शीर्षकमा बजेट माग गर्ने, जसबाट आएको रकमले ए, बी र सी डिभिजन लिगमा आवश्यक खर्च गर्ने निर्णय गरेको छ । थ्री नेसन्सको पुरस्कार र खेलाडीको बसोवास खर्च राखेपसँग माग गर्ने, फिफाको सहयोगमा निर्माण गर्ने पूर्वाधारको सम्भावना र जग्गाप्राप्ति, मैदान निर्माणमा जिल्ला र क्लबसँग प्रस्ताव माग गर्ने निर्णय गरेको छ । ‘राखेपसँग बजेट माग्न आकस्मिक बैठक बस्नुपर्ने कारण के रहेछ ? यसरी राखेपसँग खर्च मागेर बैठकको नाममा यति ठूलो पैसा खर्च गर्नु कस्तो कार्य हो ?’ एक सदस्यले भने ।

See More On

सुझावित समाचार