अझै पनि थपिँदै कोभिडको नयाँ भाइरस

आइतबार, १९ चैत, २०७९
डिजिटल संस्करण

ओमिक्रोनमा मात्रै १७६ पटक म्युटेसन, डेल्टा, अल्फा, बेटा, गामा भेरियन्टमा पनि सयौँ परिवर्तन

२०१९ डिसेम्बरदेखि सुरु भएको कोभिड भाइरसको जोखिम अझै अन्त्य भएको छैन । कोभिड भेरियन्टमा भइरहेको तीव्र जिन परिवर्तनका कारण हालसम्म हजारौँको संख्यामा सबभेरियन्ट पत्ता लागिसकेका छन् भने नयाँ भेरियन्टले लगातार संक्रमण फैलाइरहेका छन् ।

कोभिड संक्रमण फेरि उकालोतर्फ

नेपालमा कोभिड संक्रमण फेरि उकालो लाग्न थालेको छ । तर, कुन भेरियन्ट फैलिएको छ भन्ने पुष्टि भएको छैन । स्वास्थ्य मन्त्रालयले पछिल्लो साता मात्रै २४ नमुनामा भाइरसको जिन परीक्षणका लागि ल्याबमा पठाएको जनाएको छ । भारतमा संक्रमण उकालो लागेसँगै नेपालमा पनि दैनिक संक्रमणदर बढ्न थालेको हो । चैतको सुरुवातदेखि संक्रमण बढ्न थालेकोमा शनिबार ३८ र शुक्रबार १४२ जनामा पुष्टि भयो । भारत, अमेरिका, युरोपको केही देश र दक्षिण अफ्रिकी देशमा मार्चयता संक्रमण फेरि बढ्न थालेको छ । 

पछिल्लो समय म्युटेड भएर ओमिक्रोनको सबभेरियन्ट ‘एक्सबिबी’ फैलिरहेको छ । ओमिक्रोनको बिए २ भेरियन्टअन्तर्गतको यो नयाँ म्युटेड भाइरस गत अक्टोबरमा पहिलोपटक अमेरिकाको न्युुयोर्कमा पुष्टि भएको थियो । तर, डब्लुएचओले भने हाल विश्वका विभिन्न भागमा ओमिक्रोनका फरक–फरक सबभेरियन्ट देखिएको बताउँदै आएको छ ।

कोभिड भेरियन्ट र सबभेरियन्टको जिनमा लगातार आइरहेको परिवर्तनले महामारीको जोखिम घट्न नसकेको अध्ययनले देखाएका छन् । अनुसन्धानकर्ताले जिनमाथि गरिरहेको अध्ययनले बढी संक्रामक मानिएका भेरियन्टलाई मात्रै नामकरण गरे पनि हजारौँको संख्यामा म्युटेसन भइसकेको छ । 

अध्ययनअनुसार पछिल्लो समय संसारभर फैलिरहेको ओमिक्रोन भेरियन्ट मात्रै एक सय ७८ पटक म्युटेसन भएको छ । बिए १ मा ३९, बिए १.१ मा ४०, बिए २ मा ३१ र बिए ३ मा ३४ म्युटेसन भएको छ ।

त्यस्तै, बिए १, बिए २ र बिए ३ का सबभेरियन्टबीच थप २१ र ओमिक्रोनका पाँचै भेरियन्टको रिसेप्टर बाइन्डिङ डोमेन गर्दा थप ११ वटा म्युटेसन भेटिएको छ । अनुसन्धानकर्ताले लक्षणका आधारमा परीक्षण गर्दा यी मुख्य म्युटेसन भेटिए पनि थप सयौँको संख्यामा म्युटेसन भइरहेको दाबी गरेका छन् । 

डब्लुएचओले हालसम्म ओमिक्रोनलाई बिए १, बिए २, बिए ३, बिए ४ र बिए ५ सबभेरियन्टमा वर्गीकरण गरेर अनुसन्धान गरिरहेको छ । अझैसम्म विश्वभर महामारीको रूप लिइरहेको ओमिक्रोनका भेरियन्टमा भइरहेको १८ म्युटेसन हाल फैलिइरहेको बताइएको छ ।

जसमध्ये हालसम्मकै बढी संक्रामक देखिएका बिए १ र बिए २ ले अस्पताल भर्ना भने बढाएका छैनन् । बिए ३, बिए ४ र बिए ५ भने तुलनात्मक रूपमा कम संक्रामक देखिएका छन् । तर, पछिल्ला केही महिनायता युरोप र अफ्रिकाका केही देशमा बिए ४ र बिए ५ फैलिइरहेको डब्लुएचओले जनाएको छ । 

See More On

सुझावित समाचार