फुकोट–कर्णालीको एमओयू मस्यौदामा संशोधन : भारतीय कम्पनी एनएचपिसीले सेवा शुल्क नपाउने

बुधबार, १५ चैत, २०७९
डिजिटल संस्करण

चार सय ८० मेगावाटको फुकोट–कर्णाली अर्धजलाशययुक्त विद्युत् आयोजनामा भारतीय कम्पनी एनएचपिसीलाई साझेदार बनाउन तयार गरिएको समझदारीपत्र (एमओयू)को मस्यौदा संशोधन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनबमोजिम विद्युत् उत्पादन कम्पनी लिमिटेडले मस्यौदा संशोधन गरेको हो । 

सोमबार सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले उक्त मस्यौदा संशोधन गर्दै स्वीकृतिका लागि मन्त्रालय पठाएको छ । अब मन्त्रालयले अर्थ र कानुन मन्त्रालयबाट सहमति लिएपछि उक्त मस्यौदा मन्त्रिपरिषद्मा पेस गर्नेछ । मन्त्रिपरिषद्ले मस्यौदा स्वीकृत गरेपछि एनएचपिसीसँग एमओयू गर्न बाटो खुला हुनेछ ।

मन्त्रालयका सचिव तथा कम्पनीका अध्यक्ष दिनेशकुमार घिमिरेले एमओयू मस्यौदालाई आवश्यकताअनुसार संशोधन गरिएको जानकारी दिए । ‘हामीले संशोधित मस्यौदा सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइसकेका छौँ । त्यहाँबाट सहमति आएपछि कानुन मन्त्रालयमा पठाउनेछौँ । कानुन मन्त्रालयबाट सहमति आएपछि स्वीकृतिका लागि क्याबिनेटमा पेस गर्नेछौँ,’ उनले भने, ‘समग्रमा अब छिट्टै नै एनएचपिसीसँग औपचारिक रूपमै एमओयू हुन्छ ।’ अधिंकाश विषयमा सहमति भइसकेको र प्रक्रिया मात्रै पूरा गर्न बाँकी रहेको उनको भनाइ छ । 

निःशुल्क विद्युत् दिन एनएचपिसी तयार

आयोजनाबाट नेपाललाई निःशुल्क विद्युत् दिनुपर्ने सर्त मान्न एनएचपिसी तयार भएको छ । यसअघि नेपालले राखेको उक्त प्रस्ताव मान्न एनएचपिसीले आनाकानी गर्दै आएको थियो । तर, अहिले त्यो सर्त मान्न एनएचपिसी तयार भएको कम्पनीका प्रबन्ध निर्देशक सूर्यप्रसाद रिजालले बताए । उनका अनुसार उक्त आयोजनाबाट २१.९ प्रतिशत विद्युत् नेपालले निःशुल्क पाउनेछ । 

विद्युत् उत्पादन कम्पनीले २०१७ मै आयोजनाको अनुमतिपत्र ल्याइसकेको छ । अब विद्युत् उत्पादन कम्पनी र एनएचपिसीले संयुक्त सेयर स्वामित्वमा छुट्टै कम्पनी स्थापना गरेर आयोजना अघि बढाउने योजना छ । संयुक्त कम्पनीमा एनएचपिसीको ५१ प्रतिशत र विद्युत् उत्पादन कम्पनीको ४९ प्रतिशत सेयर कायम गर्ने सहमति भइसकेको छ । यसका अलाबा नेपालको कानुनअनुसार स्थानीय तथा सर्वसाधारणलाई सेयर दिनुपर्ने सर्तमा सहमति भइसकेको छ । विद्युत् उत्पादन कम्पनीअन्तर्गतको सेयरमार्फत स्थानीय तथा सर्वसाधारणलाई सेयर दिइनेछ । 

यस्तै, आयोजनालाई आवश्यक पर्ने लगानी (स्वपुँजीबाहेक) र विद्युत्को बजार खोज्ने काम पनि एनएचपिसीले नै गर्ने सहमति भइसकेको छ । साथै, लाइसेन्स, अध्ययन तथा सडक निर्माणलागयत शीर्षकमा हालसम्म भएको खर्चलाई संयुक्त कम्पनीमा विद्युत् उत्पादन कम्पनीको सेयरमा पुँजीकरण गर्ने सहमति भएको छ । गत फागुन पहिलो साता भारतमा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा पनि यसबारे मौखिक सहमति भएको थियो । 

के भयो संशोधन ? 
विद्युत् उत्पादन कम्पनी र एनएचपिसीको संयुक्त स्वामित्वमा छुट्टै कम्पनी स्थापना गरेर आयोजना अघि बढाउने समझदारी हुँदै छ । यसअघिको मस्यौदामा आयोजनाबाट उत्पादन हुने बिजुलीको बजार एनएचपिसीले खोज्नुपर्ने सर्त थियो । त्यसबापत एनएचपिसीले छुट्टै सेवा शुल्क (कमिसन) पाउने व्यवस्था पनि थियो । यस्तो सर्त मान्न ऊर्जा मन्त्रालय तयार नभएपछि मस्यौदा संशोधन गर्दै उक्त बुँदा नै हटाइएको छ । योसँगै आयोजनाको विद्युत् बिक्री गर्दा एनएचपिसीले सेवा शुल्क नपाउने पक्का भएको छ ।

विद्युत् उत्पादन कम्पनीले नै उक्त मस्यौदा मन्त्रालयमा पेस गरेको थियो । तर, मन्त्रालयले सोही बुँदामा असहमति जनाएर संशोधन गर्न कम्पनीमै फिर्ता पठाएको थियो । त्यसपछि कम्पनीले एनएचपिसीसँग छलफल गरेर उक्त बुँदा हटाएको हो ।  

यस्तै, मस्यौदामा संयुक्त कम्पनीले नै प्रचलित कानुनबमोजीम आयोजनाको बिजुली बिक्री गर्नुपर्ने सर्त पनि राखिएको छ । पहिला आयोजनाको विद्युत् एनएचपिसीले नै भारत र बंगलादेशमा बिक्री गर्नुपर्ने व्यवस्था थियो । अब विद्युत् नेपालमा पनि बिक्री गर्न सकिनेछ । यद्यपि, त्यसमा विद्युत् निर्यातलाई नै प्राथमिकतामा राख्नुपर्ने प्रस्ताव गरिएको छ । 

सुझावित समाचार