अवकाशपछि कालिजपालन

सोमबार, १३ चैत, २०७९
डिजिटल संस्करण

तुलसीपुर उपमहानगरपालिका– १० नयाँ गाउँमा वडा नम्बर ६ निवासी विष्णुमणि आचार्यले  व्यावसायिक रूपले कालिजपालन गरेका छन् । उनको दिनचर्या कालिजलाई दानापानी खुवाउन र रेखदेखमा बित्ने गरेको छ ।

अवकाशप्राप्त राष्ट्रसेवक आचार्य भन्छन्, ‘अवकाश भएपछि चार महिनासम्म घरमै बसेँ । दिनभर घरपरिवार साथीभाइ तथा आफन्तसँग त्यत्तिकै बसेर समय बिताउँथेँ । ३० वर्षसम्म जागिरमा व्यस्त भएको मान्छे अब सधैँ यसरी कसरी बस्नुजस्तो लागेकाले यो व्यवसाय सुरु गरेको हुँ ।’

सुरुमा युटुबमा व्यावसायिक रूपमा पालन  गरिएका कालिजको भिडियो हेरेर दुई जिल्लामा अवलोकन नै गरेपछि व्यवसाय सुरु गरेको उनले बताए । ‘दाङ उपत्यका कालिज पाल्न उपयुक्त वातावरण भएको भन्ने थाहा पाएरै यो व्यवसाय सुरुवात गरेको हुँ । अहिलेसम्म तीन सयभन्दा बढी कालिज बिक्री गरिसकेँ । अझै पाँच सयवटा बिक्रीका लागि तयारी अवस्थामा छन्,’ आचार्यले भने ।

उनले ‘चाणक्य मल्टी प्रपोज एग्रो फार्म एन्ड रिसर्च सेन्टर प्रालि’ खोलेर रु. २५ लाखको लागतमा कालिजपालन सुरु गरेका हुन् । ह्याचिङ गरी उत्पादन गरिएका एक दिनका एक सय ८१ बचेरा रु. पाँच सय ५० दरले किनेर यो व्यवसाय सुरुवात गरेका आचार्यको व्यवसाय अहिले फस्टाउँदै गएको छ ।  उनले एकजनालाई रोजगारी दिएका छन् ।

आचार्यका अनुसार ३५ डिग्री सेल्सियसभन्दा कम तापक्रम हुने स्थान कालिज पाल्न राम्रो मानिन्छ । दाङको तापक्रम लगभग त्यस्तै छ । ‘अहिलेसम्म पाँच सय कालिज बिक्री गरिसकेँ । सुरुमा एउटा कालिजलाई दुई हजार पाँच सयमा बिक्री गरेँ । अहिले भने दुई हजारसम्ममा दिने गरेको छु । अन्डा पनि राम्रोसँग बिक्री भएको छ । एउटा  अन्डा बिक्रीबाट रु.  एक सय आम्दानी हुने गरेको छ । सुरुवातमै  धेरै आम्दानीको अपेक्षा लिन हुँदैन, बिस्तारै आम्दानी हुन्छ,’ उनी भन्छन् ।

६ महिना पुगेपछि कालिज वयस्क हुन्छ र मासुका लागि उपयुक्त मानिन्छ । भाले कालिज एकदेखि डेढ केजीसम्म र पोथी आठ सय ग्रामदेखि एक केजीसम्मको हुन्छ । कालिजले घाँस, मकै खान्छ । अन्डा दिने पोथीका लागि दाना पनि दिन उपयुक्त हुन्छ ।  कालिजलाई हालसम्म कुनै रोग नलागेकाले औषधि पनि दिनु नपरेको, तर अवलोकन तथा खरिद गर्न जानेलाई जुत्ता, चप्पल खोलेर खुट्टामा औषधि छर्केर मात्र नजिक जान दिने गरेको उनले बताए ।

‘कालिज फुर्तिलो र लडाकु स्वभावको हुन्छ । त्यसैले चुच्चो मुखमा क्याप लगाउनुपर्छ । विदेशमा त्यही गरिन्छ । यहाँ भने त्यसो गरिएको छैन, उनीहरू लड्न लागेपछि औजारको सहायताले छुट्याउने र केही समय छुट्टै ठाउँमा राख्ने गरेको छु,’ आचार्यले भने । भाले र पोथी कालिजलाई छुट्टाछुट्टै राखिएको र अहिले पोथी बिक्री नगरी अन्डालाई ह्याचिङ गरी बचेरा निकाल्नका लागि तयारी गरिएको उनको भनाइ छ । 

‘बजारमा माग त धेरै छ, तर यो वर्ष पोथी कालिज र बच्चा एउटा पनि नबेची  धेरै उत्पादन भएमा अर्को वर्षदेखि मात्रै बिक्री गर्छु,’ आचार्य भन्छन् । पढेलेखेकाले पैसा कमाउनकै लागि जागिर खानैपर्ने या विदेश नै जानुपर्छ भन्ने छैन, तर राज्यले पनि किसानलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउनुपर्नेमा उनी जोड दिन्छन् । रासस

सुझावित समाचार