प्रहरीको ३०औँ आइजिपीमा वसन्त कुँवर

सामूहिक नेतृत्वको अवधारणाअनुरूप एकढिक्का भई सबैले अपनत्व ग्रहण गर्न सक्ने संगठनको निर्माण मेरो पहिलो प्राथमिकतामा रहनेछ : कुँवर

शनिबार, ११ चैत, २०७९
डिजिटल संस्करण
प्रहरीको ३०औँ आइजिपीमा वसन्त कुँवर

३० वर्षे सेवाअवधि पूरा गरी सेवानिवृत्त भएका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई बिदाइ गर्दै नवनियुक्त महानिरीक्षक वसन्तबहादुर कुँवर

वरीयतामा पहिलो नम्बरमा रहेकाले प्रहरी नेतृत्व चयन विवादरहित 

नेपाल प्रहरीको ३०औँ प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षकको वरीयतामा पहिलो नम्बरमा रहेका उनलाई मन्त्रिपरिषद्को बैठकले शुक्रबार प्रहरी नेतृत्व सुम्पिएको हो । 

अहिलेकै प्रहरी नियमावलीअनुसार कुँवरले आगामी दुई वर्ष प्रहरी नेतृत्व सम्हाल्ने अवसर पाउनेछन् । उनी ५ चैत ०८१ सम्म महानिरीक्षक पदमा रहनेछन् । कुँवर ५ चैत ०५१ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । मेरिटमा अगाडि रहेकाले उनलाई आइजिपीमा नियुक्ति गरिएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बताए । 

डिएसपी हुँदा थुनुवालाई यातना दिएर मानव अधिकारको उल्लंघन गरेकोबाहेक २८ वर्ष लामो करिअरमा उनी विवादमा नपरेका अधिकृत हुन् । सो घटनाका कारण लाइबेरिया मिसनमा हुँदा उनी फर्काइएका थिए । पछिल्लो समय मधेस प्रदेशमा प्रहरी प्रमुखका रूपमा काम गरेका थिए, जहाँ उनले सुधारको काम गरेको प्रहरी अधिकारीहरू बताउँछन् । ‘बोलीमा नरम तथा व्यवहारमा कडा हुनुहुन्छ,’ एक प्रहरी अधिकारी भन्छन्, ‘त्यस आधारमा संगठनले असल नेतृत्व पाएको छ ।’ 

०४६ पछि नियुक्त भएका उनी १८औँ आइजिपी हुन् । त्यसयता एक आइजिपीले मात्र पूरा कार्यकाल काम गर्न पाएका छन् । ३० वर्षे सेवाहदका कारण उनले पनि पूरा कार्यकाल काम गर्न पाउनेछैनन् । 

नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले सामूहिक नेतृत्वको अवधारणाअनुरूप एकढिक्का भई सबैले अपनत्व ग्रहण गर्न सक्ने संगठनको निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए । शुक्रबार साँझ अवकाशप्राप्त महानिरीक्षक धिरजप्रताप सिंहलगायतको बिदाइ कार्यक्रममा बोल्दै संगठनको प्रणालीगत र पद्धतिगत विकासमार्फत सुदृढीकरण गर्ने बताएका छन् । प्रणालीले नै बाह्य हस्तक्षेप निरुत्साहित हुने बताउँदै उनले संगठनमा विगतमा प्रारम्भ भएका असल अभ्यासको निरन्तरता आफ्नो नेतृत्वकालको प्रस्थानविन्दु रहने बताए । 

शुक्रबारदेखि अवकाश पाएका महानिरीक्षक सिंहले नवनियुक्त प्रहरी महानिरीक्षक व्यावसायिक, कर्तव्यनिष्ठ र दूरदर्शी रहेको टिप्पणी गरे । उनले आफ्नो कार्यकालमा संगठनलाई थप नयाँ उचाइ दिने उनको भनाइ छ ।

संगठनमा देखिएका यावत् बाह्य तथा आन्तरिक चुनौतीलाई चिरेर जानुपर्ने सुझाव दिँदै संगठनको यश वृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई रचनात्मक सहयोग गर्न सबै प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । 

नौ महिनामा एसएसपीबाट आइजिपी 
नौ महिनाको अवधिमा एसएसपीबाट तीन तह बढुवा हुँदै कुँवर प्रहरी नेतृत्वमा पुगेका हुन् । गत १७ असारमा उनी एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए । गत ६ चैतमा मात्र एआइजी भएका थिए । एआइजी भए पनि पदस्थापन नभएका कारण उनले सो पदमा काम गर्न पाएनन् । एआइजी भएको चौथो दिनमै उनी आइजिपी भएका हुन् । शनिबारदेखि उनले प्रहरी नेतृत्व सम्हाल्नेछन् । 

एसएसपी हुँदा उनी वरीयतामा १३औँ स्थानमा थिए । डिआइजी हुँदा पहिलो नम्बरमा फड्को मार्नु नै आइजिपी नियुक्तिको आधार बन्यो । त्यतिवेलाको सरकार र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह उनको पक्षमा उभिएकाले डिआइजीमा फड्को मारेका थिए । एआइजी बढुवामा पनि वरीयताअनुसार नै पहिलो स्थानमा भएकाले सरकारले विवादरहित ढंगले प्रहरी नेतृत्व चयन गरेको हो । 

अर्घाखाँचीमा जन्मिएका कुँवर इन्स्पेक्टर भर्नामा भने आफ्नो ब्याचमा पहिलो नम्बरमै थिए । डिएसपीमा छैटौँ, एसपीमा पाँचौँ र एसएसपीमा १३औँ स्थानमा बढुवा भएका थिए । 

आइजिपीको प्रतिस्पर्धामा कुँवरसँगै टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य थिए । उनीहरूको सोमबार नै बढुवा भए पनि अझै पदस्थापन भने हुन सकेको छैन । 

शुक्रबारदेखि आइजिपी सिंहसहित नौ उच्च अधिकारीले अवकाश पाएका छन् । आइजिपीसहित एआइजीहरू सहकुलबहादुर थापा, उत्तमराम सुवेदी, दिवेश लोहनी, डिआइजीहरू नलप्रसाद उपाध्याय, मोहन आचार्य र मसाउद आलम खाँले पनि अवकाश पाएका छन् । त्यस्तै, एसएसपी उमाशंकर पञ्जियार र जनक पाण्डेले पनि ३० वर्षे सेवाहदका कारण अवकाश पाएका छन् । 
 

सुझावित समाचार