सडक खाली गराएर हिँड्ने परम्परा सच्याउँदै राष्ट्रपति, नागरिकलाई सास्ती नदिईकनै सवारी

आइतबार, ५ चैत, २०७९
डिजिटल संस्करण
सडक खाली गराएर हिँड्ने परम्परा सच्याउँदै राष्ट्रपति, नागरिकलाई सास्ती नदिईकनै सवारी

कारकेडविना नै वसन्तपुरस्थित कुमारी घर पुगेको राष्ट्रपति रामचन्द्र पौडेलको सवारी

सडक खाली गरेर राष्ट्रप्रमुखको सवारी हुने परम्परालाई राष्ट्रपति रामचन्द्र पौडेलले सच्याएका छन् । राष्ट्रपतिमा निर्वाचित भएको भोलिपल्ट २६ फागुनमा पशुपति मन्दिर दर्शनमा निस्किँदा पुरानै शैली अपनाएका पौडेल शनिबार भने कारकेडविना नै वसन्तपुरस्थित कुमारी घरमा पुगेका हुन् । 

पशुपतिको दर्शनमा आलोचना खेपेका पौडेलले कुमारी घर पुग्दा संयमता अपनाए । राष्ट्रपतिको शनिबारको सवारीका कारण आमसर्वसाधारणले सास्ती खेप्नुपरेन । भ्रमणमा सुरक्षाकर्मीले कारकेड प्रयोग गरेन । नयाँ राष्ट्रपति चुनिएसँगै कुमारीको दर्शन गर्ने परम्परा छ । राष्ट्रपति पौडेले अपराह्न ४ बजे कुमारी घर पुगेर जीवित कुमारी देवीको दर्शन गरे । विगतमा राष्ट्रपतिहरू कतै निस्किँदा सडक खाली गर्ने शैलीको जनस्तरबाट व्यापक आलोचना हुने गरेको थियो । भिभिआइपी सवारीमा सर्वसाधारणलाई सास्ती दिन नहुने भन्दै राष्ट्रपति नहुँदै पनि पौडेलले अभिव्यक्ति दिएका थिए । 

जितेन्द्र बस्नेत प्रवक्ता, गृह मन्त्रालय
विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि परिवर्तनको चरणमा छ । यसमा केही नयाँ व्यवस्था थपिएका छन् । तर, यो कार्यान्वयनमा आइसकेको छैन । शनिवार राष्ट्रपतिको सवारीमा केही फरकपन देख्न पाइयो । उहाँकै आदेशअनुसार त्यस्तो गरिएको हो । परिमार्जन गर्न लागिएको कार्यविधि पनि करिब­करिब त्यस्तै किसिमको छ ।

विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार यस्ता भ्रमणमा राष्ट्रपति सवार सवारीसाधनको अघि र पछि दुवैतर्फ गाडी र मोटरसाइकलको लस्कर हुन्छ । भ्रमण अवधिभर सडकको दुवै किनारमा सुरक्षाकर्मी तैनाथ गरिन्छ । राष्ट्रपति सवार हुने रुटमा चल्ने सवारीसाधन खाली गरिन्छ । पैदलयात्रीलाई पनि सवारी अवधिभर सडकमा हिँडडुल गर्न दिइँदैन । तर, राष्ट्रपति पौडलको सवारीमा न सडक खाली गरियो, न त मोटरसाइकलको लस्कर नै लगाइयो । 

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले राष्ट्रपति पौडेलको आदेशअनुसार नै शनिबारको सवारीमा कारगेड हटाइएको बताए । उनले भने, ‘विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि परिवर्तनको चरणमा छ । यसमा केही नयाँ व्यवस्था थपिएका छन् । तर, यो कार्यान्वयनमा आइसकेको छैन । शनिवार राष्ट्रपतिको सवारीमा केही फरकपन देख्न पाइयो । उहाँकै आदेशअनुसार त्यस्तो गरिएको हो । परिमार्जन गर्न लागिएको कार्यविधि पनि करिब­करिब त्यस्तै किसिमको छ ।’

विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि ०७७ ले भिभिआइपी सवारीलाई पाँच ढंगले व्याख्या गरेको छ । पहिलो राजकीय सवारी हो । विशेष गरी, विदेशी राष्ट्राध्यक्ष भ्रमणमा आउँदा यस्तो सवारी चलाइन्छ । त्यस्तै, राष्ट्रपति राजकीय भ्रमणमा विदेश जाँदा पनि यस्तो सवारी चलाइन्छ । यस्तो सवारी चलाउँदा सडक पूर्ण रूपमा खाली गरिन्छ । सडकका दुवै किनारमा सुरक्षाकर्मी तैनाथ गरिन्छ । कारगेडमा पनि गाडी र मोटर साइकलको लावालस्कर नै लाग्ने हुन्छ । 

अर्को हो, औपचारिक सवारी । यस्तो सवारीमा पनि भिभिआइपी सवार सवारीसाधनको अघि र पछि गाडी र मोटरसाइकलको बाक्लो कारगेड हुन्छ । रुटमा पर्ने सडकको लेन खाली गरिन्छ । सडकमा सुरक्षाकर्मी खटाइन्छ । सर्वसाधारणलाई सडकमा आउजाउ गर्न रोक लगाइन्छ । भिभिआइपीको अनौपचारिक र निजी सवारी पनि हुन्छन् । यस्तो सवारीमा भने अत्यावश्यकबाहेक कारगेड सुरक्षाकर्मी परिचालन गरिँदैन । 

त्यसबाहेक कार्यालयीय सवारी भिभिआइपीको अर्को महत्वपूर्ण सवारी हो । यस्तो सावरीमा भिभिआइपी सवार सावरीसाधनको अघि र पछि कारगेडमा गाडी हुन्छ । तर, मोटरसाकइल हुँदैन । सडक पनि खाली गरिँदैन । न, सर्वसाधारणको आउजाउमा नै रोक लगाइन्छ । विशेष गरी, प्रधानमन्त्रीको कार्यालयीय भ्रमणमा यस्तो सवारी चलाइन्छ । शनिबार राष्ट्रपति पौडेलको सवारीमा यही सावारी सञ्चालन गरिएको हो । 

गृह प्रवक्ता बस्नेतले भने, ‘विशिष्ट व्यक्तिको सवारीका लागि पाँच किसिमको सवारी सञ्चालनको परिकल्ना कार्यविधिले गरेको छ । सोहीमध्येको एउटा हो कार्यालयीय सवारी । शनिबार राष्ट्रपति पौडेलका लागि सोही सवारी सञ्चालन गरिएको हो । यस्तो सवारी विशेष गरी प्रधानमन्त्रीका लागि प्रयोग हुने गर्छ । अब राष्ट्रपतिका लागि पनि यस्तै सवारीको व्यवस्था कार्यविधिमा गरिएको छ ।’ विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि परिमार्जनको चरणमा रहेको उनले बताए । 

परम्पराबमोजिम राष्ट्रपति पौडेलले कुमारी घरमा पुगेर कुमारीको दर्शन गरेको इन्द्रजात्रा व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले बताए । उनका अनुसार कुमारीको दर्शनपछि राष्ट्रपतिले देशमा शान्ति र अमनचयनको कामना गर्दै कुमारीको बाहुलीबाट टीका र प्रसाद ग्रहण गरेका थिए । उनले कुमारी घरको अवलोकनसमेत गरे । पौडेलले जीवित कुमारी राख्ने परम्पराको संरक्षण गर्नुपर्ने र यस्ता परम्परा जोगाउनुपर्ने बताए । ‘हामीले कुमारीको संरक्षण गर्नुपर्छ, यस्ता परम्परालाई जोगाइराख्नुपर्छ, यस्ता परम्परा देशका अमूल्य सम्पत्ति हुन्,’ राष्ट्रपति पौडेलले भने । करिब २० मिटेनपछि उनी त्यहाँबाट फर्किएको राष्ट्रपति सचिवालयले जनाएको छ ।

कुमारीको तलब ५१ हजार 
हाल कुमारीको तलब ५३ हजार पाँच सय छ । त्यसमध्ये काठमाडौं महानगरले ५० हजार र नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन हजार पाँच सय रुपैयाँ दिने गरेको छ । कुमारीको पठनपाठनका लागि छुट्टै शिक्षकको व्यवस्था गरिएको छ । काठमाडौंमा शाक्य समुदायबाट कुमारी बस्न पाउने परम्परा छ । शाक्य समुदायलाई भगवान् बुद्धको वंशका रूपमा पनि लिने गरिन्छ । 

जनताले अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति सजग छु : राष्ट्रपति

प्रदेश र संघका सांसदहरूलाई धन्यवाद दिन शीतलनिवासमा शनिबार आयोजित चियापन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले भने, ‘संविधानको पालना र संरक्षण गर्ने विषय मेरो अबको प्रमुख दायित्व र कर्तव्य हुनेछ भन्ने प्रस्ट पार्न चाहन्छु । गणतान्त्रिक नेपालको राष्ट्रपतिबाट नेपाली जनताले अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति सदैव सचेत छु र भविष्यमा पनि रहनेछु । संविधान निर्माण गर्ने प्रक्रियामा समेत सहभागी रहेर काम गर्ने अवसर प्राप्त गरेका कारण पनि संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति सचेत रहने विश्वास दिलाउन चाहन्छु । वर्तमान संविधानले नेपाल राष्ट्रलाई मार्गदर्शन गर्ने कुराप्रति सदैव सजग रहने प्रण गर्दछु ।’

सुझावित समाचार