प्रधानमन्त्रीद्वारा विजेता खेलाडीलाई जनही तीन लाख पुरस्कारको घोषणा

शुक्रबार, ३ चैत, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकप क्रिकेटमा देशलाई क्वालिफायरमा छनोटमा पुर्‍याउने नेपाली खेलाडीलाई जनही तीन लाख राशिको पुरस्कार घोषणा गरेका छन् । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन् ।

खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई अत्यन्त खुसी लागेको छ। हिजो तपाईंहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईंहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ। देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ। आगामी दिनमा समेत तपाईंहरूको प्रदर्शन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु।’

‘विश्वकप छनोटका लागि तपाईंहरूलाई थप सफलता मिलोस्। म तपाईंहरूको सुखदु:खमा साथमै हुनेछ,’ प्रधानमन्त्रीले भने, ‘यसअघि पनि सरकारले तपाईंहरूलाई जनही दुई लाख राशिले पुरस्कृत गरिसकिएको छ। आज म तपाईंहरूलाई जनही  तीन लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु।’

‘कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशित गर्दछु,’ प्रधानमन्त्रीले भने, ‘यस सन्दर्भमा मूलपानी, चितवनलगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछु।’

सुझावित समाचार