ललितपुरमा सम्पन्न छैटौँ समावेशी म्युजिक अवार्डमा ‘धोकेबाज’ बोलको गीतबाट शिव परियारले वर्षको चर्चित गायकको अवार्ड जितेका छन् । त्यसैगरी, ‘नछुटोस्’ बोलको गीतबाट बेनिशा पौडेलले आधुनिक गायिकाको अवार्ड जितेकी छिन् ।
उत्कृष्ट संगीतकारतर्फ ‘धर्ती आकाश’ बोलको गीतबाट अर्जुन पोखरेलले अवार्ड जितेका छन् । सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतमा ‘असारै लाग्यो’ बोलको गीतका लागि गीतकार प्रकाश सुवेदी पुरस्कृत भएका छन् ।
त्यसैगरी, पत्रकार विदुर गिरीलाई ‘पिम नेपाल पत्रकारिता अवार्ड’ प्रदान गरिएको छ । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङलाई पिम नेपाल रजत सम्मान प्रदान गरिएको छ ।
कार्यक्रममा विभिन्न ४२ विधामा अवार्ड प्रदान गरिएको थियो । पछिल्ला ६ वर्षदेखि लगातार सञ्चालन हुँदै आएको यस अवार्डको उद्देश्य नेपालका विभिन्न भाषा, कला र संस्कृतिलाई प्रवद्र्धन गर्नु रहेको आयोजक पिम नेपालका अध्यक्ष माधव खरेलले जानकारी दिए ।