लघुवित्तको खराब कर्जा १८ अर्ब ३४ करोड पुग्यो

असार मसान्तमा २.५६ प्रतिशत रहेको खराब कर्जा पुस मसान्तमा ४.६८ प्रतिशत

बुधबार, १ चैत, २०७९
डिजिटल संस्करण

लघुवित्त वित्तीय सस्थाहरूको निष्क्रिय कर्जाको अनुपात बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तमा लघुवित्तको निष्क्रिय कर्जा ४.६८ प्रतिशत १८ अर्ब ३४ करोड पुगेको छ । गत असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात २.५६ प्रतिशत रहेको थियो । ऋणीहरूको तिर्ने क्षमतामा ह्रास आएसँगै निष्क्रिय कर्जाको अनुपात बढ्न थालेको लघुवित्त क्षेत्रका जानकारहरू बताउँछन् ।

पूर्वसचिव डा. मान विकले कोभिडको असर उद्योग–व्यवसायमा परेकाले लघुवित्त वित्तीय क्षेत्रमा खराब कर्जाको अनुपात बढेको बताए । उनले भने, ‘यसवेलामा खराब कर्जा बढ्नु स्वाभाविक हो । यसको सुरुवात कोरोना महामारीबाट भयो । कोभिडकालमा व्यवसाय, उत्पादन बन्द भयो । साथै, रोजगार पनि बढ्न सकेन । ऋणीहरको ऋण तिर्ने क्षमता पनि घट्यो ।’ लघु क्षेत्रमा गएको कर्जाले घर खर्चलगायतका अनुत्पादक प्रयोजनमा खर्च हुने प्रवृत्तिले पनि खराब कर्जा बढेको उनले बताए । 

कर्जाको सदुपयोग हुन नसक्दा यसको असर वित्तीय क्षेत्रमा परेको उनको भनाइ छ । खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम गत असारको तुलनामा ०.०८ प्रतिशतले घटेको छ । पुस मसान्तमा कर्जा प्रवाह तीन खर्ब ९१ अर्ब ४४ करोड पुगेको देखिन्छ । समीक्षा अवधिमा निष्क्रिय कर्जाको वृद्धिदर ८२.६२ प्रतिशत छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा १७.०३ प्रतिशतले बढेकोे थियो ।

गत पुस मसान्तसम्ममा थोक कर्जाप्रदायक लघुवित्त वित्तीय संस्थाहरूको पनि निष्क्रिय कर्जाको अनुपातमा वृद्वि भएको छ । थोक कर्जाप्रदायक लघुवित्त वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम गत असारको तुलनामा ३.१७ प्रतिशतले वृद्वि भएको छ । 

पुस मसान्तमा ५९ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा उक्त लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा तथा सापटीमध्ये निष्क्रिय कर्जा ५२ करोड अर्थात् ०.८७ प्रतिशत मात्र छ । गत असार मसान्तमा निष्क्रय कर्जाको अनुपात ०.४१ प्रतिशत थियो । गत वर्ष पुस मसान्तमा यस्तो अनुपात ०.३४ प्रतिशत मात्र थियो । समीक्षा अवधिमा निष्क्रिय कर्जा १२१.०२ प्रतिशतले बढेको छ भने सक्रिय कर्जा २.६९ प्रतिशतले बढेकोे छ । गत आर्थिक वर्षको सोही अवधिमा निष्क्रिय कर्जा १२.०३ प्रतिशतले घटेकोे थियो भने सक्रिय कर्जा १३.९० प्रतिशतले बढेको थियो ।

गत पुस मसान्तसम्ममा थोक कर्जाप्रदायक लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जामा नोक्सानी व्यवस्था पनि बढेको छ । पुस मसान्तमा यस्ता लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था गत असार मसान्तको तुलनामा १६.८७ प्रतिशतले बढेको छ । यस अवधिमा एक अर्ब २७ करोड पुगेको छ । जसमध्ये निष्क्रिय कर्जा नोक्सानी व्यवस्था ०७९ असार मसान्तको तुलनामा ४४.७७ प्रतिशतले वृद्वि भएको छ ।  

पुस मसान्तसम्ममा खुद्रा कर्जाप्रदायक लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जामा नोक्सानी व्यवस्थामा उल्लेख्य वृद्धि भएको छ । पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था गत असार मसान्तको तुलनामा ३५.६२ प्रतिशतले बढेर १४ अर्ब ४० करोड पुगेको छ । जसमध्ये निष्क्रिय कर्जा नोक्सानी व्यवस्था ०७९ असार मसान्तको तुलनामा ७०.२२ प्रतिशतले वृद्वि भई आठ अर्ब ८७ करोड पुगेको छ ।

सुझावित समाचार