जोसेफ स्टालिनले आफ्नो अन्तिम सास ७० वर्षअगाडि लिएका थिए । उनको ७४ वर्षको उमेरमा ५ मार्च १९५३ मा मस्कोभन्दा केही टाढा आफ्नै निवासमा निधन भएको थियो । अहिले शीतयुद्ध समाप्त भएको ३० वर्षभन्दा बढी भइसकेपछिको अवस्थामा मस्को एक अधिनायकवादी नेता भ्लादिमिर पुटिनको हातमा जाँदा स्टालिन फेरि परिदृश्यमा छाएका छन् । रुसी राष्ट्रपतिले तथाकथित ‘लोकतान्त्रिक सरकार’को नेतृत्व लिए पनि उनको नेतृत्वले अधिनायकवादी छनक दिन्छ ।
के स्टालिनकालले त्यहाँका शासक र जनतालाई प्रेरित गरिरहन्छ ? युक्रेनमाथिको नृशंस युद्धका लागि स्टालिन जिम्मेवार छन् वा छैनन् ? रुसमा यी र यस्ता ऐतिहासिक निरन्तरता जनाउने प्रश्न बढ्दो रूपमा उठिरहेका छन् । यहाँ केही खिचडी पाकी नै रहेको हो ? के रुसलाई डरलाग्दो विगत र साम्राज्यवादी मानसिकता लिएर अहिलेकै अवस्थामा एक हत्यारा तानाशाहले शासन गर्न सक्छन् ? हरेक अधिनायकवाद एउटै स्रोत अर्थात् निरंकुश राज्य सत्ताबाट निःसृत हुन्छ, जहाँ विपक्षलाई हटाउने र अद्वितीय बल प्रयोगबाट बफादारी लागू गर्ने इच्छा एवं सामथ्र्य मौजुद हुन्छ । पुटिनको रुसले पुरानो सोभियत खाकालाई धेरै हदसम्म ब्युँताएको छ ।
अहिले रुसको फौजदारी न्याय प्रणालीलाई राज्यले नियन्त्रण गर्न सजिलो बनाइदिएको छ । अहिले सभ्यताको भाष्य प्रसार भइरहेको छ । कुनैवेला समाजवादविरुद्ध पुँजीवादको भाष्य प्रसारित हुन्थ्यो । अहिले ‘परम्परागत’ रुसी मूल्य–मान्यतालाई पश्चिमा उदार सिद्धान्तविरुद्ध प्रयोग गरिँदै छ । अहिले जेनोफोबिया (फरक क्षेत्र वा राष्ट्रप्रतिको घृणा) मूलतः अमेरिकालक्षित छ, तर अमेरिकामा मात्रै सीमित छैन । अहिले रुसमा तथाकथित विदेशी शक्तिबाट ‘प्रभावित’ मानिएको वा कुनै पनि किसिमको राजनीतिक गतिविधि सञ्चालन गर्न खोज्ने जोकोहीलाई ‘विदेशी एजेन्ट’को संज्ञा दिइन्छ ।
युक्रेनमाथिको नृशंस युद्धका लागि स्टालिन जिम्मेवार छन् वा छैनन् भनेर रुसमा ऐतिहासिक निरन्तरता जनाउने प्रश्न बढ्दो रूपमा उठिरहेका छन्
भाष्य र यथार्थबीच आकाश–जमिनको अन्तर छ । सन् १९३० को दशकमा समाजवादलाई जोडतोडसँग प्रचार गरिन्थ्यो, जबकि त्यसवेला करिब १० लाख मानिसको हत्या गरिएको थियो । अहिले आणविक हतियारले सुसज्जित रुस आफ्नो कमजोर छिमेकी मुलुकविरुद्ध त्यहाँका जनतालाई फासीवादबाट जोगाउन भन्दै युद्ध लडिरहेको छ । युक्रेन मस्कोकै कारण पहिलोपटक तहसनहस भएको भने होइन । सोभियतले कृषिमा आमूल परिवर्तन ल्याउन खोज्दा होलोदोमोर भोकमरीले युक्रेनका १०औँ लाख मानिसको ज्यान गएको थियो । त्यसैगरी, सो भोकमरीमा लाखौँ अन्य विशेषतः कजाख पनि मारिएका थिए ।
स्टालिनको पुनस्र्थापना भइरहेको हो ? : केही वर्षयता रुसमा स्पष्टतः स्टालिनको लोकप्रियता बढ्दो छ । सन् २०१९ को एक मत सर्वेक्षणमा ७० प्रतिशत रुसी जनता स्टालिनको नेतृत्वलाई सकारात्मक मान्छन् । यो लोकप्रियताको मूल कारण दोस्रो विश्वयुद्धमा (रुसको ‘महान् देशभक्तिपूर्ण युद्ध’) स्टालिनको सबैभन्दा ठूलो विजय हो । रुसमा स्टालिनको छवि पुनर्निर्माण भइरहेको अवस्थामा पनि पुटिनको रुसलाई स्टालिनकालीन रुससँग तुलना गर्नु विभिन्न कारणले त्रुटिपूर्ण हुन्छ । पहिलो, सोभियत संघ र हालको रुसमा महत्वपूर्ण भिन्नता छन् ।
हालको रुस, जहाँ धनाढ्य एवं सम्भ्रान्त समूह पुटिनका साझेदार छन्, तिनलाई सोभियत संघको समाजवाद कायम गर्न खोज्ने शासकसँग तुलना गर्नुको कुनै तुक हुँदैन । त्यसैगरी सोभियत संघका नेताले दोहोर्याइरहने साम्राज्यवादविरोधी नीति पनि अहिलेको रुससँग मिल्दैन (उसो त सोभियतले साम्राज्यवादको विरोध गरे पनि आफैँले नयाँ साम्राज्य खडा गरेको थियो) । अर्को प्रश्न, स्टालिनको युक्रेनप्रतिको दृष्टिकोण के थियो ? उनले युक्रेनी पहिचानलाई स्वीकार गरेका थिएनन्, तर उनको अस्वीकार्यता युक्रेन विशाल रुसको हिस्सा हो भन्ने थिएन । स्टालिन सबै राष्ट्रियता समाजवादी अन्तर्राष्ट्रियतावादमा विलुप्त हुनेमा विश्वास गर्थे ।
ऐतिहासिक संशोधनवाद : हालको रुसका सन्दर्भमा स्टालिनवादी विगत सीमित ठाउँमा मात्रै मिल्छ । रुसका शासक वर्गका लागि पुटिन शासनकालमा स्टालिनकालीन सोभियतले मूलतः दुई सबैभन्दा ठूला सन्देश प्रवाह गर्छ, जसमा बलियो राज्य र ऐतिहासिक पहिचान अर्थात् सन् १९४५ को ऐतिहासिक सोभियत विजय पर्छन् । तर, स्टालिनवादी विगतको यो बुझाइ सतही छ किनभने स्टालिनवादी इतिहासका रुसमै कैयौँ जटिलता एवं आलोचना छन् । केही वर्षअघिका रुसी शासकले स्टालिनकालीन सत्ताको जनताप्रतिको अत्याचारलाई स्विकार्दै त्यसको निन्दासमेत गरेको छ । पुटिनले स्टालिनवादी दमनपीडितका लागि स्मृति भवनसमेत निर्माण गरेका छन् ।
रुसी जनताले वास्तवमा के बुझाइ राख्छन् त ? सन् २०२२ अगाडि स्टालिनको समग्र छविमा सुधार आए पनि जनताले स्टालिनवादी दमनको आलोचना नै गरेका छन् । वास्तवमा सन् २०१८ मा धेरै रुसी जनताले स्टालिनलाई ‘अमानवीय अत्याचारी’का रूपमा पाएका छन् ।
यी प्रश्नबारे नृशंस युद्धका दौरान मूल्यांकन गर्न कठिन छ । तर, स्टालिनकालले अहिले युक्रेनमाथि रुसी हमलालाई प्रभावित गरेको मान्ने हो भने यो बुझाइ इतिहासको छनोटयुक्त बुझाइबाट निर्माण हुन्छ । केही नहुनुको अवस्थाले केही नहुनुकै अवस्था जन्माउने हो । शताब्दीयौँको साम्राज्यवादी शासन र दशकौँको अधिनायकवादका कारण निःसन्देह पुटिन सत्ताको जन्म भएको हो । पुटिनको अर्ध–तानाशाह छवि धेरै समय लागेर बनेको हो । सन् २०२० सम्म रुस लोकतान्त्रिक एवं उदार मूल्य–मान्यताबाट टाढिने–नटाढिने भन्नेमा निश्चिन्तता थिएन । युक्रेन युद्ध हुने–नहुने पनि टुंगो थिएन ।
समग्रमा भन्ने हो भने इतिहासलाई धेरै महत्व दिनुहुँदैन । हालसम्म कुनै पनि समुदायका मानिसले आफूलाई फुत्किन नमिल्ने ऐतिहासिक व्यवहारको कैदमा आफैँलाई थुनेको छैन । तर, सन् २०२२ यता कैयौँ रुसी जनताले मुलुक छोड्दा रुसमा उदार लोकतान्त्रिक विकल्पको समर्थन देखिने सम्भावना क्षय भएको छ ।
(रायन कार्डिफ विश्वविद्यालयका आधुनिक युरोपेली इतिहासका अध्यापक हुन्) द कन्भर्सेसनबाट