सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले मर्जर प्रक्रिया पूरा गरेर एकीकृत कारोबार सुरु गरेका छन्। सोमबारदेखि उनीहरूले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड नामबाट कारोबार सुरु गरेका हुन्।
मर्जरपछि बनेको कम्पनीको ब्रान्ड नाम भने ‘सलिको’ राखिएको छ। साथै, स्लोगन भने ‘विश्वासको सम्बन्ध र एकताको प्रतीक’ राखिएको छ।
सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरमा जाने गरी गत ३० असारमा प्रारम्भिक सहमति भएको थियो। त्यसपछि गत १७ माघमा दुई कम्पनीबीच मर्जरको अन्तिम सम्झौता पनि भएको थियो। त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर दुवै कम्पनीले एकीकृत कारोबार सुरु गरेका हन्।
सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स क्रशः १००ः८० सेयर आदान–प्रदान अनुपात (स्वाप रेसियो) मा मर्जर भएका हुन्। मर्जरपछि बनेको कम्पनीको चुक्तापुँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ कायम भएको छ, जुन नियामक निकाय नेपाल बिमा प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजीभन्दा बढी हो।
यसअघि निर्जीवन बिमा कम्पनीको न्यूनतम चुक्तापुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने थियो। नियामक निकाय बिमा प्राधिकरण (तत्कालीन बिमा समिति) ले गत चैतमा एक वर्षभित्र (आगामी चैत मसान्तभित्र) निर्जीवन बिमा कम्पनीहरूलाई दुई अर्ब ५० करोड रुपैयाँ र जीवन बिमा कम्पनीलाई पाँच अर्ब रुपैयाँ न्यूनतम चुक्तापुँजी कायम निर्देशन दिएको थियो। त्यसपछि बिमा कम्पनीहरूले मर्जरमार्फत चुक्तापुँजी बढाउने काम गरिरहेका छन् ।
मर्जरपछि बनेको कम्पनीको सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्सतर्फबाट मनोहर दास मूल र प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फका चंकी क्षेत्री रहेका छन्।
मर्जर समारोहलाई सम्बोधन गर्दै नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मर्जरले बिमा क्षेत्रमा सिनर्जी ल्याइरहेको बताए। मर्जरमार्फत चुक्तापुँजी बढ्दा इनोभेटिभ बिमा योजना ल्याउन, सेवालाई गुणस्तरीय बनाउने र दुर्गम ठाउँमा सेवा विस्तार गर्न सहयोग पुग्ने उनको भनाइ छ।
‘हामीले गरेको चुक्तापुँजी बढाउने निर्णय समय सापेक्ष रूपमा एकदमै ठीक थियो, यो समयको आवश्यकता पनि थियो। त्यसमा कम्पनीहरूले मर्जरमार्फत चुुक्तापुँजी बढाउने गरी झन् राम्रो निर्णय गरिरहनुभएको छ, जुन एकदमै राम्रो हो,’ उनले भने, ‘यसले बिमा क्षेत्रमा सिनर्जी ल्याएको छ। साथै, जोखिम धारण गर्ने क्षमता पनि बढेको छ। साथै, अब नयाँ-नयाँ प्रडक्ट ल्याउन, प्रविधिको प्रयोग गर्न, गाउँ-गाउँमा बिमा सेवा विस्तार गर्न सहयोग पुग्ने विश्वास लिएको छु।’ समग्रमा बिमा कम्पनीहरूको क्षमता पनि बढ्ने उनको भनाइ छ।
यस्तै, उनले मर्जरले दिएको अवसरलाई राम्रोसँग सदुपयोग गर्नुपर्ने उनले बताए। ‘दुई कम्पनीको कर्मचारीहरू एकै ठाउँमा आउँदा नयाँ-नयाँ अवधारणामा काम गर्न सकिन्छ। लुकेर बसेको प्रतिभाहरू बाहिर आउन सक्छन्। साथै, अब कम्पनीहरूसँग पुँजी पनि पर्याप्त हुन्छ। त्यसअनुसार अब कम्पनीहरूले ठूला-ठूला विकास आयोजनामा समेत लगानी गर्न सक्नेछन्,’ उनले भने, ‘यस्ता अवसरलाई राम्रोसँग सदुपयोग गर्न कम्पनीहरूलाई अनुरोध गर्दछु।’
यस्तै, उनले अब दाबी भुक्तानीलाई पनि चुस्त बनाउनुपर्ने बताए। ‘बिमा कम्पनीले दाबी भुक्तानी दिएपछि मात्रै ग्राहकको विश्वसनीयता बढ्ने हो। तसर्थ, दाबी भुक्तानीलाई चुस्त बनाउन कम्पनीहरूलाई निर्देशन दिन चाहन्छु,’ उनले भने, ‘यद्यपि, पछिल्लो समय दाबी भुक्तानीको दर बढेको छ, जुन सकरात्मक छ।’ यदि, कम्पनीहरूले दाबी भुक्तानीमा ढिलासुस्ती गरे आवश्यक कारबाही गरिने उनले बताए।
यस्तै, कम्पनीका अध्यक्ष मनोहर दास मूलले कम्पनीलाई बिमा क्षेत्रकै उत्कृष्ट कम्पनी बनाउने गरी काम गर्ने बताए। ‘मर्जरपछि हामी पुँजीगत आधारमा बलियो कम्पनी बनेका छौँ। अब जनतामाँझ बिमा पहुँच विस्तार गर्न, ग्राहकको सेवालाई गुणस्तरीय बनाउने लक्ष्यसहित काम गर्नेछौँ,’ उनले भने, ‘साथै, लगानीको प्रतिफल पनि उच्च मात्रामा दिने गरी काम गर्नेछौँ।’ यस्तै, ग्रामीण क्षेत्रमा बिमा पहुँच विस्तार गर्न, नयाँ-नयाँ बिमा प्रडक्ट ल्याउने गरी काम गर्ने उनले बताए। साथै, सामाजिक उत्तरदायित्वसम्बन्धी कामलाई पनि प्रभावकारी रूपमा अघि बढाउने उनको भनाइ छ।
मर्जर समारोहलाई सम्बोधन गर्दै कम्पनीका सिइओ चंकी क्षेत्रीले अब नयाँ-नयाँ प्रडक्ट ग्रामीण क्षेत्रमा बिमा सेवा विस्तार गर्ने बताए। साथै, अबका दिनमा लघु र कृषि बिमालाई प्राथमिकतामा राखेर व्यवसाय अगाडि बढाउने उनको भनाइ छ।
यस्तै, साबिक सगरमाथा इन्स्योरेन्सका अध्यक्ष रामकृष्ण मानन्धरले मर्जरपछि बनेको कम्पनीलाई बिमा क्षेत्रकै उत्कृष्ट निर्जीवन बिमा कम्पनी बनाउने बताए। यसका लागि आफूले लगानीकर्ताको हैसियतबाट सक्दो सहयोग गर्ने बताए।