बागमती प्रदेशको राजधानी रहेको मकवानपुर जिल्लामा पछिल्लो ३ वर्षमा तीनजना गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाएका छन्।
सरकारले मातृ मृत्युदरलाई शून्यमा झार्ने अभियानसहित विभिन्न कार्यक्रमहरू लागू गरे पनि मकवानपुरमा सोचेअनुरूप मातृ मृत्युदरमा कमी आउन सकेको छैन।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्यांकअनुसार मकवानपुर जिल्लामा गएको ३ वर्षमा ३ जना गर्भवती तथा सुत्केरीले ज्यान गुमाएका छन्।
कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले दिएको जानकारीअनुसार आर्थिक वर्ष ०७७/७८ मा एकजना गर्भवती महिलाले ज्यान गुमाएकी थिइन्। यस्तै, आर्थिक वर्ष ०७८/७९ मा मातृ मृत्युदर शुन्य रहे पनि चालू आर्थिक वर्ष ०७९/८० को छ महिनाको अवधिमै मकवानपुरमा दुईजना सुत्केरी महिलाले ज्यान गुमाइसकेका छन्।
यसरी ज्यान गुमाउनेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ३ की २४ वर्षीया देवीमाया प्रजा र बागमती गाउँपालिका वडा नम्बर ६ की ३१ वर्षकी विमला मोक्तान छन्।
कैलाश गाउँपालिका वडा नम्बर ३ की प्रजाको गएको मंसिर महिनामा गर्भवती अवस्थामै ज्यान गएको थियो। गाउँपालिकाकी स्टाफ नर्स गीता प्रजाका अनुसार प्रजा सुत्केरी हुने समयावधिभन्दा एक हप्ताअघि नै बिरामी भएर ढलेकी थिइन्।
उच्च रक्तचापको समस्या देखिएकी गर्भवती प्रजालाई उपचारको लागि हेल्थपोस्ट पुर्याउनुभन्दा गाउँघरमै झारफुक गरिएको कारण उनको स्वास्थ्य अवस्था बिग्रिएको स्टाफ नर्स प्रजाले बताइन्।
ढिलो गरी पालिकाको हेल्थपोस्ट हुँदै हेटौँडा अस्पताल ल्याइएकी प्रजाको अवस्था चिन्तजनक भएपछि थप उपचारको लागि भरतपुर पुर्याइएको थियो। उनको बेहोसी अवस्थामा अपरेसनबाट शिशुलाई जन्म दिए पनि उपचारकै क्रममा प्रजाको भने ज्यान गयो।
यस्तै, बागमती गाउँपालिकाकी बिमला मोक्तानको भने सुत्केरी भएकोे ४१ दिनपछि मृत्यु भएको थियो। गएको असोज ३ गते घरमै सुत्केरी गराइएकी मोक्तानको कात्तिक १३ गते मृत्यु भएको थियो।
घरमै बच्चा जन्माएको र राम्रो हेरचाह हुन नसक्दा मोक्तानको मृत्यु भएको गाउँपालिकाकी सिनियर अनमी सुजिता जिरेलले बताइन्। उनका अनुसार मोक्तानको कलेजोमा समस्या देखिएको थियो। पालिकाको दुर्गम क्षेत्रकी मोक्तान मात्र नभई जो कोहीलाई बिरामी हुँदा उपचारका लागि पालिकासम्म ल्याउन निकै समस्या रहेको उनको भनाइ छ।
सरकारले मातृ मृत्युदर घटाउन विभिन्न अभियान जारी राखेको बताउँदै आए पनि अभियानले समुदायस्तरमा छुन नसकेको यी तथ्यांकहरूले देखाउँछन्। समुदायस्तरमा अझै पनि जनचेतना र स्वास्थ्य उपचारको अभावमा गर्भवती र सुत्केरी महिलाले ज्यान गुमाइरहेका छन्।
स्थानीय तहका सदरमुकामहरूमा सरकारले बर्थिङ सेन्टर, प्रत्येक वडामा स्वास्थ्य चौकीको स्थापना गरेको भए पनि भौगोलिक विकटता, जनचेतनाको कमी, पोषणयुक्त खानपानको अभाव, बालविवाह, जस्ता समस्याले वर्षेनी गर्भवती र सुत्केरी महिलाले ज्यान गुमाउनु परेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी घिमिरे बताउँछन्।